टमाटर नबिकेर कुहिएपछि किसानलाई भोक न निद्रा
भद्रपुर । लगानीको दोब्बर मुनाफा हुने आशाले १५ कठ्ठा जमीनमा टमाटरको व्यावसायिक खेती गर्नुभएका मेचीनगर–२ का रमेश दङ्गाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राख्छन् । कोभिड–१९ को सङ्क्रमण रोक्न लगाइएको बन्दाबन्दीका कारण व्यापारीहरु आउन छाडेपछि टमाटर बारीमै खेर गएको छ । “बारीभरि टमाटर पाकेर राताम्य छन्, बिक्री छैन”, बन्दाबन्दीको मार खेपिरहनुभएका दङ्गाल भने, “सबै लगानी डुब्यो, भोक न निद्राको स्थिति सिर्जना भयो ।” उनले ४ लाख रुपैयाँ खर्चेर हुर्काएका ११ हजार बोटमा यतिबेला लटरम्म टमाटर पाकेका छन् । कोराना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको प्रत्यक्ष मार किसानमा परेको छ । लाखौं खर्च गरेर लगाएको बाली पाके पनि बजारसम्म लगेर बिक्री वितरण गर्न नसक्दा उनीहरु ऋणमा डुबेका हुन् । “यस्तो अवस्था आउँछ भन्ने सोचिएको थिएन”, उनले भने, “टमाटर राम्रो फलेको थियो दोब्बर आम्दानी हुने भयो भनेको त लगानी नै पो डुब्यो ।” उनका बारीमा यतिबेला १ हजार क्विन्टलभन्दा बढी टमाटर पाकेका छन् । भतिजा दिपेश दङ्गालले बर्सेनि टमाटरबाट राम्रो आम्दानी गरेको देखेर उनले पनि यस वर्षदेखि टमाटर खेती शुरु गरेको बताए । टमाटर खेतीमा होमिनुभएका मेचीनगर–१४ का राजु राईको अवस्था पनि उस्तै दर्दनाक छ । उनले दुई वर्षअघिदेखि दुई बिघा जग्गा लिजमा लिएर टमाटर, बन्दाकोभी र मकैलगायतको खेती गरिरहेका छन् । महेन्द्र राजमार्गको धाइजनमोडबाट एक किलोमिटर दक्षिणमा एक बिघा जमीनमा रोप्नुभएको १८ हजार टमाटरको बिरुवाबाट ५० क्विन्टल टमाटर फलेको अनुमान छ । बन्दाबन्दीका कारण उनले उत्पादन गरेका सबै टमाटर बारीमै कुहिएको छ । अरु बेला व्यापारी तथा बिचौलिया बारीमा नै तरकारी लिन आउने गरेका भए पनि यसपालि कोही नआएको उनको भनाइ छ । “वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन्थ्यो”, उनले भने, “यसपटक ५० केजी बिक्यो होला, अरु सबै बारीमै कुहिएर गयो ।” उत्पादन गर्न हौसला दिने सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्न भने कुनै चासो नदिएको किसानहरुको आरोप छ । “हामी दुःख गरेर उत्पादन गछौँ”, राईले भने, “गाउँ डुलाएर बेच्ने आफूसँग कुनै साधन थिएन, यत्रो उत्पादन खेर जाँदा स्थानीय सरकारले चासो नदिएकामा दुःख लागेको छ ।” मेचीनगर नगरपालिकाको १, २ र ३ नं वडाका किसानले २० बिघाभन्दा बढी जमीनमा व्यावसायिकरूपमा टमाटर खेती गर्दै आएको मेची मूल कृषक समूह मेचीनगरका अध्यक्ष पूर्णबहादुर कटुवाल बताए । उनका अनुसार अधिकांश किसानले जग्गा लिजमा लिएर टमाटर खेती गर्दै आएका छन् । प्रत्येक किसानले पाँच कठ्ठादेखि दुई बिघासम्ममा टमाटर लगाएका छन् । उनीहरु सबैको लगानी यसपालि बन्दाबन्दीले गर्दा डुबेको छ । “वर्षौदेखि व्यावसायिक खेती गर्दै आएका किसान बन्दाबन्दीको मारमा परे”, उनले थपे, “शुरुमा भारततिरबाट खुला र लुकीछिपी भित्रिने टमाटरले स्थानीय उत्पादनलाई बजार पुग्नै दिएन, नाका बन्द भएपछि बोलाउँदा बजार सबै बन्द छ भन्दै खरिदेहरु आउन मानेनन् ।” टमाटर बिक्री नहुँदा किसानलाई ऋणको चिन्तामाथि बिहान बेलुकाको छाक टार्नसमेत समस्या हुन थालेको बताए । हिउँदमा पाकेको टमाटर लामो समयसम्म बोटमा टिक्दैन । गर्मीमा दुई–तीन दिनपछि बोटमै कुहिने उनले बताए । गत वर्ष प्रतिकेजी ४० मा बिक्री हुँदै आएको टमाटर यस वर्ष भने प्रतिकिलो रु सात दिँदासमेत बिक्री नभएको किसान बताउँछन् । विगतमा विर्तामोड, धरान, विराटनगरका व्यापारी आफैं आएर राम्रै दाम दिएर लैजाने गरेको टमाटर यस वर्ष किसानले कयौँपटक बोलाउँदासमेत कोही नआएको गुनासो छ । “विर्तामोडको कृषि थोकसम्म पुर्याउँदा प्रतिक्यारेट २ सय ५० देखि ३ सयसम्म दिन्छन्”, उनले भने, “त्यसमा पनि व्यापारीलाई १० प्रतिशत कमिसन दिँदा प्रतिकेजी ७ रुपैयाँ पनि किसानको भागमा पर्दैन ।” यसपालि कृषि थोक बजारसम्म उत्पादनलाई पुर्याउन नपाउँदै नोक्सानी भएको किसानहरुको गुनासो छ । एक क्यारेटमा २३ केजी हुने किसानको भनाइ छ । बजारमा यतिबेला व्यापारीले मूल्य ३५ देखि ४० रुपैयाँ सम्ममा टमाटर बिक्री गर्दैै आएका छन् । दुःख गरेर किसानले गरेको खेतीको फाइदा बिचौलियाले लिने गरेको उनीहरुको आरोप छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्र झापालाई समेत किसानहरुले टमाटर बिक्रीका लागि पहल गरिदिन आग्रह गरेका छन् । रासस
बजारमा लकडाउननै छैन !
काठमाडाै । आज लकडाउनको ४८ औं दिन । कोरोना भाइरसको कारण भएको लकडाउनले आगावमन ठप्प भइरहेको बेला आज भने बजारमा लकडाउनको महसुस हुँदैन । बजारमा हिडडुल गर्ने र सडकमा सवारी साधन गुडाउनेको संख्या आज ह्वात्तै बढेको छ । सरकारले केही सिमीत सेवाहरु खोल्न निर्देशन दिएपनि धेरै व्यापार व्यवसायका पसलहरु खुला भएका छन् । लकडाउनको सुरुवाती चरणमा लकडाउन केही कडाई भएपनि आजभोलि भने लकडाउनको कुनै महसुस बजारमा हुँदैन । काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा सरकारले लकडाउन खुकुलो गरेको होकि पनि बुझ्न सकिन्छ । तर, यसले अझै जोखिम निम्तिने होकि भन्ने पनि खतरा छ । सडकमा गाडी र मोटर साइकलको संख्या पहिलेको भन्दा निकै बढेको छ । विहान १० बजेभित्रमा बन्द गर्नुपर्र्ने खाद्यान्न पसल दिउँसो पनि खुल्न थालेका छन् । प्रहरी प्रशासनको आखा छलेर बाहिर निस्कने, पसल खोल्ने तथा हिडडुल गर्नेहरुको संख्या निकै बढेको हो । सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी नै राख्ने निर्णय गरेको छ। तर काठमाडौं उपत्यकामा भने लकडाउनको महसुस हुन छोडिसकेको छ । सरकारले २६ वैशाख गतेदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गरेको थियो । तर, यस्तो वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतको लागि के कस्तो व्यवस्था गर्ने भन्ने अन्योल नै छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गर्ने बताउँछन् । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको हो । ‘उद्योग प्रतिष्ठान र निर्माणजन्य व्यवसायमा कामदार तथा कर्मचारीलाई कार्यस्थलमै राखेर काममा लगाउनु भनिएको छ, त्यस्ता क्षेत्रमा काम गर्नेहरुका लागि निवासबाट एकपटक कार्यस्थलमा ल्याउनको लागि मात्रै समस्या हो, कार्यस्थलमै राखेर काम गराउन नसक्ने बस्तु तथा सेवा उत्पादक र विक्री वितरण गर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर पासको व्यवस्था गर्छन्, पास चाहिनेहरुले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्छ,’ प्रवक्ता शर्माले भने । तर पास नभएका र अत्यावश्यक सेवा र कामका लागि नभएर पनि मानिसहरु आवतजावत गर्न थालेका छन् ।
बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र
काठमाडौं । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति ( ३ हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए । “गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ”, उनले भने, “खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ ।” पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरु आजससम्म पनि भोकै रहेका छन् । कमाएको पैसा सबै सकिएपछि भोकै रातदिन काट्नुपरेको सागरको भनाइ छ । उद्धारका लागि प्रशासन र सम्बन्धित पालिकालाई गुहार्दासमेत केही पहल नभएको उनीहरुको गुनासो छ । स्थानीय प्रशासनसँग घरसम्म पुर्याउन भनेको भए पनि आफ्नै पैसाले जाने भएपछि मात्रै पु¥याउन सकिने नत्र जहाँ हुनु त्यही बस्न भनेको दैलेखका जनक देवकोटाले बताए । तीन महिनाअघि रोजगारीका लागि पिथौरागढ पुगेका उनीहरु डेढ महिनादेखि लकडाउन हुँदा समस्या भएपछि नेपाल फर्किएका हुन् । “कमाएको सबै पैसा सकिएको छ, आफ्नै पैसाले जान सकिने अवस्था छैन”, दैलेखका रत्न रिजालले दुःखेसो पोखे, “कमाएको ४ हजार रहेकामा २ हजार भारु ट्युब तर्दा सकियो, अब ८ सय मात्रै बाँकी छ कसरी घर पुग्नु ।” यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अलपत्र मजदुरको कसरी उद्धार गर्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, “अलपत्रको उद्धारका लागि सम्बन्धित पालिकाले पहल गर्नुपर्छ ।” यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो । रासस