औषधिको अभाव हुन नदिइने, उपल्लो डोल्पामा खाद्य डिपो आवश्यक

काठमाडौं । शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीबाट सहयोग गर्ने समय भएको भन्दै उनले जिम्मेवारीबाट पन्छिने काम कसैबाट नहोस् भने । सङ्घीय र प्रदेश सरकारले सोचे जति सहयोग नगरेको गुनासो गदै अध्यक्ष शाहीले भने, “स्रोत र सामग्रीविना कसरी स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्छ । दुई सेट पिपीई पठाएर हुन्छ ?” गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने १५० घरधुरी स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले तथ्याङ्क संकलन गरी अति विपन्न तथा गरीब स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । राहतमा २ केजी दाल, १ लिटर तेल र १ केजी नुन चामलसँगै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । प्रत्येक व्यक्तिलाई २५ देखि ३० केजी सम्मको चामल उपलव्ध गराएको छ । प्रतिघरमा १ वटा दरले साबुन वितरण गरिसकेको छ । कूल २ हजार ५०० घरधुरी रहेको गाउँपालिकामा १८ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिका सवै स्थानीयवासीलाई मास्कको व्यवस्था मिलाएको छ । पहिलो चरणमा २ हजार ५०० सावुन वितरण भइसकेको छ भने थप वितरणको तयारी भएको छ । राहत सामग्री पाएसँगै गरीव तथा विपन्न समुदायका सर्वसाधारण खुशी भएका छन् । कोरोना भाईसर ‘कोभिड–१९० कारण सरकारले जारी गरेको ‘लकडाउन’को पालन गदै बसेका गरीब तथा विपन्न परिवारका सर्वसाधारणहरु राहत पाएसँगै सरकार आफूसँग रहेको अनुभूति गरेका छन् । गाउँपालिका –५ का हस्त बुढाले घरमा आवश्यक खाद्यान्न पाएपछि खुशी लागेको भन्दै भने, “घरदेखि बाहिर निस्किन नपाउने अवस्था थियो, घरमा अन्नको गेडा थिएन, गाउँपालिकाका अध्यक्ष शाही आएर चामल दिए । जे होस् खानेकुराको जोहो भयो । धन्यवाद छ ।” गाउँपालिकाले कोरोनाविरुद्ध जनचेतना फैलाउन रेडियोमार्फत् सार्वजानिक सन्देश प्रशारण गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी, प्रहरी र कर्मचारीको सहयोगमा गाउँ गाउँमा माइकिङ समेत जारी राखेको छ । सडक सञ्जालले सबै गाउँपालिका भरी छोएका कारण राहत वितरणमा सजिलो भएको छ । गाउँपालिका भित्र आउने मुख्य नाका वडा १ स्थित छेडाचौरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी जाँचलाई कडाइ गरिएको छ । महिना दिन नपुग्ने खाद्यान्न नयाँ बाली नपाकेको र पुरानो रित्तिएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोहरुमा एक महिना नपुग्ने खाद्यान्न रहेको जनाइको छ । कम्पनीका जिल्ला शाखा प्रमुख धर्मबहादुर बस्नेतले बारेकोट गाउँपालिकाको घाटमा १३० क्विटल, नलगाड नगरपालिकाको चौखामा १ हजार २७१, घोगी ३३३ क्वीन्टल, दशेरामा ५० क्वीटल, सदरमुकाममा १ हजार ९ सय २१ क्विटल चामल मौज्दात चामल रहेको जानकारी दिए । जुनिचाँदे गाउँपालिका– ११ ताँगामा भने एक गोडा चामल छैन । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीको लागि बोलपत्र आह्वान भएपनि अहिलेसम्म ठेक्का सदर भएको छैन । अहिले जिल्ला भरी जम्मा भएको ३ हजार ६३५ क्विन्टल चामल मात्र मौज्दात रहेको छ । डोल्पामा सञ्चित तर वितरण प्रबन्ध हुन कठिनाई छिमेकी जिल्ला डोल्पामा पनि पर्याप्त चामल छ तर जनताको पहुँच पुग्ने ठाउँमा वितरणको प्रबन्ध हुन सकेको छैन । जिल्लाको जुफालमा २२ सय, दुनैमा ३ हजार १४, काईगाउँमा ६००, सर्मीमा १०० क्विन्टल चामल रहेको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डोमा नयाँ डिपोको लागि प्रस्ताव पठाइएपनि अहिलेसम्म प्रस्ताव स्वीकृति गरिएको छैन । उपल्लो डोल्पाको बिक्री केन्द्रमा कत्तिपनि चामल नभएको बताइएको छ । हाल त्यहाँ हवाइ मार्गबाट सामान लाने गरिएको छ । कर्णाली प्रदेश सरकारले उपभोक्ताको पहुँचमा पुग्ने गरी खाद्यान्न ढुवालीको प्रबन्ध गर्ने जनाउँदै आएको छ । रासस

कामना सेवाले धनगढी उप-महानगरपालिकालाई दियो १ लाख बराबरको खाद्यान्न सामग्री

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप-महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप-महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप-महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप-प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरेका हुन् । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप-महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप-महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फत वितरण गरिने बताए । हाल नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

लकडाउनमा के गर्दै छन् नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोर ?

काठमाडौं । विश्वव्यापी महामारीकाे रूप लिइरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु लकडाउनको समयमा के गर्दैछन् ? कसरी दिन कटाउँदैछन् ? नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरकाे दिनचर्या लकडाउनले बदलिएको छ । लकडाउनभन्दा अगाडि दिनमा १०/१२ घन्टा व्यस्त हुने अध्यक्ष माेर आजभोलि घरपरिवारसँग नै दिन विताइरहेका छन् । उनलाई लकडाउनको समयमा उपभोक्तालाई अतिआवश्यक वस्तु कसरी पुर्याउने भन्ने चिन्ता छ । ‘परिसंघ आवश्यक वस्तुको कसरी व्यवस्थापन गर्ने भनेर लागिरहेको छ । परिसंघका सबैसगँ फोनमा नै सम्पर्कमा रहेर छलफल गरिरहने गरेका छन् । सबै साथीहरुलाई निजी क्षेत्रले सरकारलाई सक्ने सयोग गर्न भरिहेका छन्,’ अध्यक्ष माेरले विकासन्युजसँग भने । याे समयमा उनले उद्योगीहरुको गुनासा सुन्ने र उनीहरूका समस्याका विषयमा छलफल गर्ने गरेका छन् । बहिर हिड्न नमिले पनि उद्योगीहरुको समस्या बुझेर काम गरिहरका छन् । पहिले प्रत्यक्ष यस्ता कुराकानी हुन्थे भने अहिले फोनबाट हुने गरेको छ । मोर अत्यावश्यक अवस्थामा भने बाहिर पनि निस्कने गरेको बताउँछन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि सरकारले उद्योगीहरुसगँ बोलाएको छलफलमा भने जाने गरेका छन् । ‘फाेन आएको आएइ गर्छ । दिनमा नै ३/४ पटक फोन चार्ज गर्नु पर्छ । लकडाउनको समयमा सबैभन्दा धेरै फोन नै प्रयोग भइरहेकोले नै फोनको चार्ज चाडै सकिने गरेकाे छ,’ उनी भन्छन् । विश्वमा के भइरहेको छ भनेर बेलाबेलामा टिभी हेर्ने, अनलाइन पढ्ने पनि गर्ने गरेका छन् । यो बेला सेल्फ क्वारेन्टाइनमा बस्नु को विकल्प हुदैन । अहिले आत्मबल बढाउने बेला हो । कमजोर नबनौं । तर सरकारले यो बिपदका बेला गरेको आग्रहलाई पालना गरौं भन्ने उनकाे भनाइ छ ।