बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित
काठमाडाैं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण सबै राजनीतिक दलका प्रतिनिधि, बौद्धनाथ क्षेत्र विकास समिति, महानगरीय प्रहरी वृत्त बौद्धलगायत सरोकार भएका निकायका अधिकारीको बैठकले जात्रा स्थगित गरिएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि नै बौद्ध चैत्यमा आई दीयो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा वर्षेनी लाखौँ भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बाल्ने गर्थे । पूर्णिमाका दिन बिहानसम्म बौद्धमा बत्ती बाली बालाजु २२ धारा स्नान गरेर जामाचो, स्वयम्भूलगायत तीर्थस्थलमा दर्शन गर्ने विधि छ । यो विधि पनि यसपटक प्रभावित भएको छ । बौद्ध चैत्यमा लामा गुरुले गर्ने पूजा पाठलगायत नित्य कर्म भने विधिपूर्वक सम्पन्न गरिएको वडाध्यक्ष लामाले भने । बालाजु २२ धारामा स्नान गरेरमा पाप पखालिई पूण्य कमाइने धार्मिक विश्वाससमेत छ । जामाचो उपत्यका नजिकको पदमार्गका रुपमा समेत स्थापित भएको छ । जहाँ चैत्र शुक्ल पूर्णिमाकै अवसरमा धेरै धार्मिक पर्यटक पुग्ने गर्थे । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलले विसं १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई जात्रा मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएको इतिहास छ । कार्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्ध, मार्गशीर्ष शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोककै धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा लाग्ने तेमाल जात्राका बीचमा सम्बन्ध रहने गरेको समितिका कार्यकारी निर्देशक वसन्त लामा बताए । जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ । जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । जामाचो जान हाल जीपलगायत सवारी जानसक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेरसमेत जानसकिने समितिका कार्यकारी निर्देशक लामाले बताए । सत्ययुगमा विपश्वी बुद्धले जामाचोबाट उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ । त्यही बेलादेखि चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने परम्परा शुरु भएको हो ।
सुदूरपश्चिममा उच्च सर्तकता, डोटीमा छैन उलङ्घन
काठमाडौं । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो । मानिसको बढी भीडभाड हुने यहाँका विभिन्न चोक तथा प्रमुख व्यापारिक केन्द्रमा व्यापकरूपमा प्रहरी परिचालनसहित जागरुकताका लागि माइकबाट सूचनासमेत प्रवाह गरिएको छ । अन्य जिल्लामा लकडाउन उल्लङ्घनको आरोपमा सयौँ सवारी साधन पक्राउ र दजनौं स्थानीयवासी कारवाहीमा परे पनि डोटीमा भने अहिलेसम्म कुनै पनि व्यक्ति तथा सवारी साधन कारवाहीमा नपरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “नागरिकले लकडाउनको पूर्ण पालना गरेका छन्, उल्लङ्घन गरेको घटना कहीँकतै पाइएको छैन ।” जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले अहिलेसम्म जिल्लामा कोरोनाको सङ्केत नदेखिएको जनाउनुभयो भने जिप्रका डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जोखिम नेपालमा नभित्रियोस् भन्दै लकडाउनमा कडाइ गरिएको बताए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लकडाउनको निर्देशनलाई पूर्णरूपमा पालना गराउन जिल्लाका सुरक्षा निकाय कडाइका साथ लागेको जनाएको छ । यहाँका उद्योग, व्यवसाय, पसलहरु पूर्णरुपमा बन्द भएका छन् । अत्यावश्यक दैनिक उपभोग्य गर्ने वस्तु अस्पताल सेवा, स्वास्थ संस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोलपम्प, फलफूल तथा तरकारी पसल भने निश्चित समय तोकिएर सञ्चालन गर्ने अनुमति दिइएको छ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेका लागि स्थानीय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरिरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारका लागि प्रेस पास उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएकालाई रिर्पोटिङ गर्न पाउने व्यवस्था मिलाइएको छ । सरकारले गरेको निर्णयको उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा कारवाही गर्ने स्थानीय प्रशासनले योजना बनाएपछि बजारमा आवतजावत गर्ने तथा बिनाकाम घर बाहिर निस्किनेहरु बन्द भएका हुन् । प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सङ्क्रमण फैलन नदिन र नागरिक बचाउन सबैले नियमको पालना गर्न जरुरी रहेको बताए । कोरोना नियन्त्रणका लागि यहाँको प्रदेश तथा स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एक मात्रै कैलालीमा कोरोना रोगको सङ्क्रमित फेला परे पनि अन्य ठाउँमा फेला परेका छैनन् । यहाँको प्रदेशबाट ४० जनाको स्वाब परीक्षण गरिए पनि चार जनामा कोरोना पोजेटिभ देखिएको छ । अन्य ३६ जनामा नेगेटिभ देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाइएको छ । निर्देशनालयका अनुसार कोरोनाको सङ्क्रमण देखिएका निज बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । शव परीक्षण हुन सकेन गोली हानी हत्या गरिएकी जिल्लाको जोरायल गाउँपालिका–४ देउथलाको नङ्नीटोलकी २० वर्षीया अनिता वनको शवको दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन । जिल्ला अस्पताल डोटीको शवघरमा राखिएको शव दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन । जिल्ला अस्पतालमा पाँज चिकित्सक कार्यरत रहे पनि गोलीकाण्डको परीक्षण गर्ने अधिकारप्राप्त चिकित्सक कोही नभएका कारण उनको शव परीक्षण हुन नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ज्योति पाण्डेले बताए । उनले भने, “अस्पतालमा हामी पाँच चिकित्सक कार्यरत छौँ, गोलीकाण्डको परीक्षण गर्ने अधिकार र तालिम हामीसँग नहुँदा नगरिएको हो ।” गएको आइतबार राति निज महिलाको छातीमा भरुवा बन्दुकले गोली हानिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले बताए । रासस
लकडाउनले समस्यामा परेकालाई पिएलओ लुव्रिकेन्टसले वितरण गर्याे राहत
काठमाडाैं । पिएलओ लुव्रिकेन्टसले लकडाउनले समस्यामा परेकालाई राहत वितरण गरेकाे छ । लुव्रिकेन्टसले कोरोना भाइरस (कोभिड-१९) अहिलेको विषम परिस्थितिमा मोरङको सुन्दरहरैचामा समस्यामा परेका विपन्न परिवालाई राहत हस्तान्तरण गरेको हाे । राहत स्वरुप १० हजार के.जी चामल, २ हजार के.जी दाल र २ हजार के.जी. प्याकेड नुन नगरपालिका एकद्वार प्रणालीबाट वितरण गर्ने नगरको निर्णय अनुसार नगरपालिकाका मेयर शिव प्रसाद ढकाल , उपमेयर घनमाया तामाङ र यश बिपत व्यवस्थापनका संयाेजक केदारप्रसाद गुरागाइलाई हस्तान्तरण गरिएको हो । उक्त राहत पुर्वान्चल ल्युब आयल प्रालिको तर्फबाट सुन्दरर्हरैचा नगरपालिका भरी बसोबास गर्ने गरिब तथा विपन्न परिवारलाई खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले वितरण गरिएकाे हाे ।