‘लकडाउन’ काे अवधिमा घरमा कसरी समय बिताउने ? ‘बोर’ नलाग्ने यस्ता छन् उपायहरू
काठमाडाैं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने ? बालबालिकालाई ‘बोर’ र अभिभावकलाई झर्को लाग्न नदिने उपायहरु के-के हुन सक्छन् ? बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन सिकाइका वैकल्पिक अवसरहरुको खोजी भइरहेको छ भने विकल्प खोज्न अन्यत्र भौतारिनुभन्दा घरपरिवारमै उपयुक्त काम र सिकाइ गरेर सहजरुपमा समय बिताउन पनि सकिन्छ । यस्ता संवेदनशील घडीमा शिक्षासम्बन्धी विभिन्न संस्था, मनोपरामर्शकर्ता र अनलाइन प्रविधिमा सिकाइ सामग्री उत्पादन गर्ने संस्था र व्यक्तिले स्वयंसेवीरुपमा गरेका प्रयासलाई पनि पछ्याउन सकिनेछ । सामान्य अवस्थामा शैक्षिकसत्रको अन्त्यमा वार्षिक परीक्षापछि बिदा हुने यस अवधिमा बालबालिकालाई छुट्टी हुने भए पनि अभिभावक आफ्ना काम र रोजगारीमा व्यस्त हुने गरेकामा अहिले कोरोना भाइरसबाट बच्न सबै जना घरमा बस्नुपर्ने भएकाले आपसी सिकाइको अवसरका रुपमा यसलाई लिन सकिन्छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी बालबालिकाले अभिभावकसँग घुलमिल हुने यो उनीहरुको राम्रो अवसर भएको जनाउँदै अभिभावकले पनि उनीहरुको समस्या जिज्ञासाबारे जानकारी लिन सक्ने बताए । डा अधिकारीले भने, ‘यो बेला कुनै घोक्ने खालको पाठ्य सामग्रीभन्दा समसामयिक कुराबारे पढ्न र रचनात्मक कुरा खुला किसिमले सिक्न प्रेरित गर्नुपर्छ । घरमा बसेर गर्न मिल्ने खालका बालबालिकाको रुचिअनुसारको काम गर्न दिनुपर्छ ।’ उनका विचारमा बालबालिकालाई गीतसङ्गीत, खेल, साहित्य र राम्रा चलचित्र हेर्न दिन सकिन्छ भने खाना बनाउन र घर सफा गर्नेजस्ता उनीहरुले सक्ने काममा पनि अभ्यस्त बनाएर उनीहरुलाई बाहिरका कुरामा मानसिक तनाब हटाउन सकिन्छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका महासचिव गुणराज मोक्तानले बिदाको यस अवधि बुबाआमाले छोराछोरीलाई सिकाउन पाउने सुनौलो अवसर भएकाले जीवनोपयोगी सीप, व्यवहारिक सिकाइ, घरायसी काम र मिदास संस्थाको पाठ्यक्रमअनुसारको शिक्षा लिन सकिने बताए । मोक्तानले भने, ‘छोराछोरीले बुबाआमालाई प्रविधि सिकाउने र बुबाआमाले छोराछोरीलाई व्यवहारिक एवं परम्परागत सीप सिकाएर दुई पुस्ता जोड्न यो एक मौका पनि हो । यसको सदुपयोग गरौँ ।’ विश्व शान्तिका लागि प्रशिक्षणका क्षेत्रमा कार्यरत ‘क्रोधरहित संसार’ संस्थाका अध्यक्ष देशमर्दन बस्नेतका विचारमा बालबालिकालाई उनीहरुको रुचिअनुसार चित्र बनाउन दिएर र उनीहरुले कार्टुनमा देख्ने चित्रसँग आफूले बनाएका चित्रको तुलना गर्न लगाउन सकिने बताउँछन् । बस्नेत भन्छन्, ‘बालबालिकाले कापीमा राम्रो अक्षर लेख्ने आदत बसाउन पनि यो बिदालाई उपयोग गर्न सक्नेछन् । यसका लागि बालबालिकालाई नै अभिभावकसमेतको दिनभरको योजना बनाउन दिन सकिन्छ ।’ लकडाउनका समयमा शिक्षक र बालबालिकाको रुचि र उनीहरुको सहभागितामा सिकाइका अवसरमा जोडिइरहन इ-लर्निङका सामग्री सङ्कलन, उत्पादन र निःशुल्क प्रसारण गर्न अन्य संस्थागत पहल पनि शुरु भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र शैक्षिक सामग्री उत्पादक संस्था ‘कारखाना’बीच सहमति भएको छ । प्याब्सनका महासचिव कुमार घिमिरे र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमबीच सो सहमतित्रमा हस्ताक्षर भएको हो । कारखानाका स्वयंसेवीले यसको उत्पादन गर्नेछन् । यसबाट अभिभावकले पनि लाभ लिन सक्नेछन् । कारखानाडट एशियाबाट पाउन सकिने यी सामग्रीमा ‘स्कूल सपोर्ट रिसोर्स’, ‘वेल बिइङ: क्यारिङ फर द होल ह्युमन बिइङ, ‘किप लर्निङ’ खण्ड राखिएको छ । प्याब्सन र मिदास एजुकेशन प्रालिबीच मिदास इ क्लास एप बालबालिकाका लागि एक महिनासम्म निःशुल्क रूपमा प्रदान गर्ने सहमति पनि भएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यालयका लागि उक्त एप निःशुल्क प्रदान गरिनेछ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी र मिदासका प्रबन्ध निर्देशक छत्रहरि कार्कीबीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । यो सुविधा सामुदायिक र निजी सबै विद्यालयका विद्यार्थीले प्रयोग गर्न सक्नेछन् । बालबालिकाले मिदास इक्लास एपको प्रयोग गरेर बालबालिका घरभित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुनसक्ने र विभिन्न कक्षाअनुसारको सिकाइ क्रियाकलापमा भाग लिइ सिकाइ उपलब्धि हासिल गर्न सक्ने जनाइएको छ । बालबालिकाले प्लेस्टोरबाट मिदास इक्लास एप डाउनलोड गरेर इन्स्टल गरी एप खोली एपको मेनुमा रहेको अर्डर थिचेपश्चात् सब्क्रिस्पसन कार्ड लिन सक्ने र भौचर कोडमा प्याब्सन कोड लेखेर आफूले चाहेको कक्षाको मिदास इ क्लास एप प्रयोग सक्नेछन् । कास्कीमा कार्यरत कोपिला नेपालले यस अवधिमा बालबालिकालाई अनलाइन र फोनबाट आवश्यक मनोपरामर्श दिने जनाएको छ । रासस
के हात धुन सबैले एउटै साबुन प्रयोग गर्दा किटाणु सर्छ ?
काठमाडौं । हातको फोहोर, किटाणुलाई सफा गर्नको लागि साबुन पानीलाई सबैभन्दा उपयुक्त सामाग्री मानिन्छ । खाना खानुअघि, खाईसकेपछि, चर्पी गईसकेकपछि जहिले पनि नियमित रुपमा साबुन पानीको प्रयोग गर्न विशेषज्ञहरु सल्लाह दिन्छन् । तर हामी सबैले एउटै साबुन प्रयोग गर्दा रोग त सर्दैन भन्ने हामी मध्ये धेरैको चाँसोको विषय हो । यस प्रश्नको उत्तर सन् १९६५ मा सार्वजनिक भएको थियो । उक्त अध्यन अनुसार एउटै साबुन प्रयोग गर्दा रोग नसर्न बताएको छ । वैज्ञानिकहरुले श्रखलावद्ध रुपमा ५ बिलियन ब्याक्टेरियाले हात फोहोर गरेका थिए । त्यो रोग लाग्ने ब्याक्टेरिया थियो । उनीहरुले एउटा साबुन प्रयोग गरेर हात धुए र सोही साबुन दोस्रो व्यक्तिलाई प्रयोग गर्नदिए । यसरी एउटै साबुन प्रयोग गर्दा उक्त ब्याक्टेरिया दोस्रो व्यक्तिमा सरेको पाईएन र उनीहरुले एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्ने पुष्टि गरे । यस्तै सन् १९८८ मा साबुन उत्पादनकर्ताले राखेका वैज्ञानिकहरुले https://www.ncbi.nlm.nih.gov/pubmed/?term=3402545 एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्न पुष्टि गरेको थियो । स्वास्थ्य विशेषज्ञहरु साबुन पानीले हात धुनु किटाणुको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भएको बताउँछन् । त्यसैले मानिसहरुले किटाणुबाट बच्नलाई नगर्ने एक मात्र गल्ती भनेको साबुन पानीले हात नधुनु हो ।
जिल्लाका अस्पतालमा मास्क र ग्लोभ्स छैन, डाक्टर भन्छन्: कसरी गर्ने उपचार ?
काठमाडाैं । सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसारको सुरक्षाको व्यवस्था नभए अस्पतालले आइसोलेशन वार्ड तयार पारे उपचारमा स्वास्थ्यकर्मी नखटिने चिकित्सकहरुले बताएका छन् । पहिला सुरक्षा गर्न सके मात्रै सङ्क्रमित बिरामीको उपचार गर्न सकिने बताउँदै चिकित्सकहरुले सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुरक्षाका लागि सबै व्यवस्था गर्नुपर्ने बताएका हुन् । मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पतालकी प्रसूति रोग विशेषज्ञ एवं चिकित्सक डा रबिना प्रधानाङ्गले अस्पतालमा कोरोना सङ्क्रमितको आशङ्काका बिरामी आएमा मेडिकल टोली नै भाग्नुपर्ने अवस्थाको सृजना हुन नहुने बताए। मध्यपुर अस्पतालले चार श्ययाको आइसोलेशन वार्ड तयार पारेर राखे पनि मेडिकल टोलीसँग आफू सुरक्षित छु भन्ने विश्वस्त पार्नेगरी व्यवस्था हुन नसके बिरामीको उपचारमा समस्या आउने उनले बताए । उनले भने, ‘उपचारमा खटिने स्वास्थ्यकर्मीको टिम पहिला सुरक्षित महशुस हुनु पर्यो, आफ्नै ज्यान जोखिममा छ भन्ने जान्दाजान्दै बिरामीको नजीक जाने आँट कसैले गर्दैन, आवश्यक सुरक्षाका सबै पूर्वाधार एवं सामग्री तयारी अवस्थामा हुनुपर्यो ।’ आफ्नो अस्पतालमा सामान्य मास्क र ग्लोभ्ससमेत सकिएर किन्न खोज्दा बजारमा कहीँ नपाएको बताउँदै उनले अस्पतालका सबै स्वास्थ्यकर्मीले कपडाको मास्क लगाएर सेवामा खटिनु परेको बताए । अस्पतालमा आइसोलेशन वार्ड मात्रै भएर के गर्नु, डाक्टर छिरेर काम गर्ने अवस्था आएन भने के मोबाइल र अनलाइनबाट उपचार गर्ने ? भन्दै डा प्रधानाङ्गले भने, ‘कोरोनाको बिरामी आए उपचार गर्ने सरकारको पूर्ण तयारी खै, साधारण मास्क छैन, सङ्क्रमितको उपचार गर्दा लगाउने एन नाइन्टी मास्क खै ?, पिपिई सेट खै ? मेडिकल टोलीको सुरक्षाका लागि खै व्यवस्था ?, मेडिकल टोलीको सुरक्षाको जिम्मा कसले लिन्छ ?’ कोरोना सङ्क्रमितको उपचार गर्दा लगाइने पोसाक (पिपिई-पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट) बजारमा कतै नभएको र सरकारले समेत उपलब्ध गराउन नसकेको अवस्थामा सुरक्षित भएर काम गर्न नसकिने चिकित्सकको भनाइ छ । धेरै पाठ सिक्नुपर्ने औँल्याउँदै उनले कोरोना सङ्क्रमितको उपचार अरू बिरामीको उपचार नहुने निश्चित तोकिएको अस्पतालमा मात्रै गर्नुपर्ने र मेडिकल टोलीको पूर्णसुरक्षाको अनुभूति गराउँदै निश्चित समयका लागि उपचार केन्द्रमै बस्ने गरी व्यवस्थापन हुनुपर्ने भनाइ राखे । नागरिक अस्पतालकी नर्सिङ इन्चार्ज सुन्दरी जोशीले अस्पतालमा ज्वरो नाप्ने थर्मल गनदेखि मास्कसमेत नभएको बताए । उनले चार हजार रूपैयाँ पर्ने एउटा थर्मल गनको बजारमा नौ हजार भनेको बताउँदै पिपिईसमेत नभई आइसोलेशनमा बिरामी उपचार गर्न नसकिने बताए । सङ्क्रमित बिरामीको उपचारमा खटिएका व्यक्तिलाई घर जान दिइने हो भने घरपरिवार र अन्य व्यक्तिलाई पनि सङ्क्रमण हुने जोखिम उच्च रहने भएकाले यसबारेमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको माग छ । यता धुलिखेल अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल बनाउने सरकारले तयार गरेपछि यहाँ स्वास्थ्यकर्मीदेखि कर्मचारीसमेत त्रसित भएका छन् । आज कोरोना आशङ्काका एक बङ्गलादेशी आएको र उसलाई ज्वरो देखिएपछि टेकु अस्पताल पठाइएको अस्पतालको आकस्मिक शाखाले जानकारी दिएको छ । अस्पताललाई कोरोना सङ्क्रमित बिरामीको उपचार केन्द्र बनाउने भनिए पनि अस्पतालमै सिलाएको कपडाको मास्क र कपडाकै गाउन लाएर स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता भएपछि यहाँका कर्मचारीसमेत त्रसित भएको आशिश थापाले बताउनुभयो । ज्वरो नाप्न ढोकादेखि नै कर्मचारी खटाए पनि अस्पताल प्रशासन र शाखाप्रमुखले सम्भावित जोखिमलाई गम्भीर रुपमा नलिँदा कर्मचारीमै जटिल समस्या आउन सक्ने र ढुक्क भएर साँझ घर जान सक्ने अवस्था नभएको उनको गुनासो छ । कोरोना सङ्क्रमितको उपचार गर्ने भए निश्चित टोली बनाएर २४ घण्टा त्यही बस्ने र उपचार गर्ने गरी चीनले गरेको व्यवस्थाअनुसार गर्नुपर्ने यहाँका कर्मचारी र स्वास्थ्यकर्मीको भनाइ छ । अस्पताल प्रशासनले कर्मचारीको बेवास्ता गरेको गुनासो गरेका छन् । रासस