राहतले छाएकाे खुसी, ‘धन्य सरकार ! यति भए बाँचिन्छ’

काठमाडौं । ‘धन्य हो सरकार ! अब यति भए बाँचिन्छ ।’ एक अधवैंशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन् । उनी तीन चारपटक उक्त शब्द दोहोर्याउँदै गन्तव्यतिर लागिन् । ‘हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु ।’ सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया झिन्कू हरिजनको खुशी हो यो । उनको भान्सामा तेल र नुन सकिएको थियो । एक छोरा र तीन छोरीसँगै बस्दै आएकी हरिजन हप्ता दिनदेखि काममा जान पनि पाएनन् । उनी भैरहवा क्षेत्रमा दैनिकरूपमा घरघरमा पुगेर कपडा धुने, भाडा माँझ्ने काम गरेर गुजारा चलाउँदै आएकी थिईन । दैनिक घरेलु काम गरेर जीविकोपार्जन गर्दै आएकी हरिजनसँग यतिबेला पैसा पनि छैन र नजिकमा कुनै किराना पसल पनि नहुनाले दुई दिनदेखि भोकै विताइरहेकी छन् । कोरोना भाइरसको सङ्क्रमणले महामारी फैलिँदै जाँदा नेपालमा पनि सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उनको दैनिक काममा जान पाएकी छैन । काममा जान नपाउँदा सोमबार साँझदेखि भुजा र चना खाएर बिताएको र मङ्गलबार बिहानै वडाका कर्मचारीको खबरले राहत वितरण लिन पुगेकी हरिजन राहत पाएपछि निकै खुशी थिईन । राहत थाप्न मङ्गलबार दिउँसो १२ बजेदेखि राहत लिन डेढ घण्टासम्म कुर्दा वडाध्यक्ष रमेश मल्ल वडासचिवसहित आए । उनीहरुले नआत्तिएर बस्न र केहीबेरमा राहत सामग्री लिएर नगरप्रमुख आउने जानकारी दिएपछि सबैजना ढुक्क भए । राहत सामग्रीसहित केहीबेरमा नगरप्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले आएर वडा कार्यालयले तयार गरेको सूचिअनुसार उपस्थित सबैलाई खाद्यान्न वितरण गरे । खाद्यान्न पाएपछि झिन्कु मात्रै होइन, सोही ठाउँकी बहुरी अहिर पनि गद्गद् परे । परिवारमा पाँच छोरा र एक छोरीसहित भाडाको घरमा बस्दै आएकी बहुरी अहिर घर बनाउने श्रमिकको काम गर्छन। लकडाउनका कारण आठ दिनदेखि उनको पनि काम ठप्प छ । “काम नगरे खान पाइन्नँ, जसोतसो हप्ता दिन त चल्यो । यस्तै रहिरह्यो भने कसरी चल्छ र ?”, अहिरले निरास हुँदै भने, “सरकारले यस्तै दाल चामल दिए त बाचिएला नत्र …..” छेउमै रहेकाले सम्झाउँदै भने सरकार छँदै छ किन आतिएको ।” झिन्कु र बहुरीजस्तै १ सय ३९ जनाको घरधुरीलाई सिद्धार्थनगर नगरपालिकाले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको छ । परिवार सङ्ख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाई पाँच केजी, १० जनासम्म परिवार हुने घरधुरीलाई १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताए । काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खानेतेल, एक केजी नुन, एक केजी दाल पनि प्रदान गरिएको छ । उनले भने, “शुरुमा केही कम वितरण गरेका छौँ, लकडाउन लम्बिँदै गयो भने फेरि दिन्छौं । सरकार छ, कोही भोकै बस्न पर्दैन ।” लकडाउनका कारण कोही पनि भोकै हुन नपरोस् भनेर नै सिद्धार्थनगर नगरपालिकाले नगरमा भएका मजदुरहरुको लगत सङ्कलन गरेको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीका अनुसार नगरको १३ वटै वडामा एक हजार ८ सय ७२ ज्याला मजदुरी गरेर खाने परिवार रहेका छन् । “दैनिक काम गरेर बिहान बेलुकाको जोहो गर्नेहरु कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनमा परी घरभित्र बस्न बाध्य छन् । उनीहरुले काम गर्न पाएका छैनन् । उनीहरुको जीवनयापनलाई सहज बनाउन हामीले राहत वितरण शुरु गरेका हौँ”, नगरप्रमुख अधिकारीले भने । सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडि बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुको लगत सङ्कलन गर्ने निर्णय गरेको थियो । नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ । उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ हजार रुपैयाँ जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिले पनि सहयोग गरिरहेका छन् । राहत कोषमा नगरका प्रमुखले २१ हजार रुपैयाँ, उपप्रमुखले १५ हजार रुपैयाँ र वडाध्यक्षले १० हजार रुपैयाँका दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । सिद्धार्थनगरमा १३ वडा छन् । लकडाउनका कारण खाद्यान्न, तरकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यालयको समन्वयमा टोलस्तरमा अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउने तयारी गरिरहेको मरासिनीले बताए । नगरपालिकाले समाजसेवी कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद अग्रवाल, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार सङ्गठनका अध्यक्ष नारयाणप्रसाद भण्डारी, बैंकर्स एशोसिएसनका अध्यक्ष रामराज उपाध्यायसहितले श्रमिकका लागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिमिसमेत गठन गरेको छ । रासस

लकडाउनमा यसरी स्वस्थ राख्नुस् आफ्नो शरीर– डब्ल्यूएचओ

काठमाडौं । लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्नेभन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनले आग्रह गरेको हो । अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर जस्ता बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेकोभन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्नर स्वास्थ्यमा सुधार हुने बताएको छ । तालिका बनाएर घरमै व्यायामहरु गर्न समेत विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । लकडाउनको समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह पनि विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । यसो गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने बताएको छ । यो समयमा रचनात्मक काम गर्ने, नयाँ कुरा सिक्ने, कामको लक्ष्य बनाउने, घरमा बसेको बेला के गरियो भनेर समीक्षा गर्ने गर्दा मानिस दिक्क हुनबाट बच्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । लकडाउनका बेला शरीरलाई सक्रिय राख्न विश्व स्वास्थ्य सङ्गठनले दिएका सुझावहरु यस्ता छन् । –साना बच्चाहरुसगैं घर र घरको वरिपरि खेलहरु खेल्ने । –बच्चाहरुमा श्वास बढ्ने गरी वरिपरि दौडने, उफ्रने, चिप्लने जस्ता खेलहरु खेल्ने । –अनलाइनबाट शारीरिक शिक्षा लिएर उपयुक्त व्यायमहरु गर्ने । –घरमा नै उफ्रेर डोरी नाघ्ने जस्ता खेल खेल्ने । –तौल उठाउने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्ने । –धेरै शारीरिक गतिविधि हुनको लागि घरको कामहरू गर्ने । –सिट अप, प्रेस अप जस्ता व्यायमहरु गर्ने । –परिवारका सदस्यहरु सहभागि भएर प्रतियोगिताकै रुपमा खेलहरु खेल्ने । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा

बेलायतमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाली समुदायमा त्रास

लन्डन । चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै नेपाली समुदायमा पनि त्रास फैलिएको छ । यो हप्ता सङ्क्रमण हुनेहरूको सङ्ख्या एक्कासी आकासिएर ११ हजार पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५ सय नाघेको छ । पछिल्ला पाँच दिनमा मात्र यहाँ प्रत्येक दिन क्रमशः ५७, ४८, ५६ र ८७ र ४३ जनाको मृत्यु भएको छ । यसरी एकाक्सी बढेको कोरोनाको प्रभाव शुन्यमा झार्न कम्तीमा पनि १२ हप्ता लाग्नसक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताए । कोरोनाको प्रभाव बढे पनि यहाँ पूरा देशभर ‘लकडाउन’ गर्ने सोच भने सरकारले राखेको थिएन । त्यसैले गत हप्ताको शुक्रबारबाट केवल स्कुल, कलेज र विश्वविद्यालय मात्र बन्द गर्ने घोषणा गरेको थियो । नागरिकले अपनाउनु पर्ने सामान्य सावधानी समेत अवलम्बन नगरी पार्क एवं समुद्री किनारमा सयौँको सङ्ख्यामा भेला भएको र कोरानाका कारण बजारमा खाद्यान्नको कृत्रिम अभाव समेत देखिए पछि सरकारले यहि २३ मार्च देखि लकडानको धोषणा गरेकोछ । अब घरायसी सामान तथा औषधी किन्न बढीमा एकाघरका दुई जना मात्र घर बाहिर जान पाइने र दिनको एक पटक शारीरिक व्यायमका लागी बाहिर निस्कन पाइने भनिएको छ । त्यसैगरी काममा जान सार्वजनिक यातायात मात्रै सवारी साधनको विकल्प रहेको अवस्थामा बाहेक अन्य अवस्थामा सार्वजनिक यातायात नचढ्न अनुरोध गरिएको छ । त्यस्तै यहाँका सुपरमार्केटहरुमा पनि एक पटकमा पाँचजना मात्र भित्र छिर्न दिइएको छ । उनीहरुले बजारमा आफूले चाहेजति सामान किन्न पाएका छैनन् । एक परिवारलाई निश्चित परिमाणमा मात्र सामग्री किन्न पाउने नियम बनाइएको छ । बेलायतमा कति नेपाली छन् भन्ने खासै यकिन तथ्याङ्क त छैन, तर विभिन्न संस्थाहरूले आँकलन गरेअनुसार यहाँ करिब दुई लाखको सङ्ख्यामा नेपाली छन् । यीमध्ये बढी त भुतपूर्व गोर्खाका परिवारहरू अधिक छन् । भने त्यसपछि दक्ष सीपयुक्त नेपाली आएका छन् । त्यसपछिका धेरै विद्यार्थीहरू पर्दछन् । बासस्थानका हिसाबले अध्ययन गर्दा अधिकतम नेपालीहरु लण्डनभन्दा बाहिर बसोबास गर्ने गरेका छन् । भुपु गोर्खाहरूको बाक्लो बस्ती रहेका ठाउँहरू फानब्रो, क्यन्ट, अल्टरसट हुन् । यसबाहेक हन्सो, वयम्ली, ह्यारो लगायतका ठाउँमा पनि नेपालीहरुको बसोबास रहेको छ । बेलायतमा भुपु गोर्खा सैनिकहरूको हकहितका लागि भनेर खोलेका करीब आधा दर्जन संघसंस्थाहरु छन् । तर उनीहरूको प्रमुख एजेण्डा भने आँफूहरूको असमान पेन्सनमा मात्र केन्द्रित रहेको देखिन्छ । यतिखेर बृटिश नागरिकजस्तै बेलायतमा बस्ने नेपाली समुदायका मानिस पनि कोरोनाको त्रासमा रहेका छन् । गत हप्ता मात्र लण्डनको ह्यारो बरोमा रहँदै आएका एक पूर्व गोर्खा लीलाबहादुर राईको कोरानाका कारण मृत्यु भएको आशङ्का गरिएपछि नेपाली समुदायमाा झनै त्रास फैलिएको हो । कतिपय समाचारले उनको मृत्यु कोरोनाका कारण नै भनेर लेखे पनि खासमा उनी लामो समय देखी निमोनियाबाट ग्रसित रहेको अस्पतालको रिपोर्टमा उल्लेख छ । यस्तै सोही बरोमा बस्दै आएकी श्रीमती भगवती रानाभाट कोरोनाबाट सङ्क्रमित भई उपचार पछि चौध दिनमा नर्थवीक पार्क अस्पतालबाट डिस्चार्ज भए। यस्तै बिहीबारसम्मको समाचारअनुसार लण्डनको साउथईष्टमा एक जना नेपाली कोरोनाको कारण सघन उपचार कक्षमा भर्ना भएका बताइएको छ । बेलायतमा कोरोनाको कारण नेपाली समुदायमा खास गरी सबैभन्दा बढी असर भुपु गोर्खा परिवारका ज्येष्ठ नागरिकमा परेको यहाँका नेपाली समुदायका नागरिकको अनुभव छ । त्यस्तै गत वर्षमात्र डिसेम्बर र यो वर्षको जनवरीमा भर्ना भएर पढ्न आएका विद्यार्थीहरूलाई यस महामारीको बढी प्रभाव परेको देखिन्छ । त्यसमा पनि भुपु गोर्खाहरू जसका आफ्ना सन्तान बेलायतमा छैनन् र एकल पुरुष र महिला छन् उनीहरु बढी मर्कामा परेको देखिएको छ । कोरोनाका कारण बाहिर जान कठिनाई हुने, कसैगरी बजारसम्म पुगे पनि खाद्यान्न आभाव हुने गरेको छ । कोरोनाको कारण लकडाउन नहुँदै चाहिने भन्दा बढी सामान थुपारिएको कारण सामान समेत पाइएको छैन । यहाँका व्यापारी र सरकारले पनि खाद्य सामग्री बजारमा प्रशस्त मात्रामा रहेको भनिए पनि ठूला सुपरमार्केटमा सामानको अभाव देखिएको छ । जसको उदाहरण ट्वाइलेट पेपरका लागि बजारमा नागरिकले लुछाचुँडी गरिरहेका ‘भिडियो क्लिप’ हरू सामाजिक सञ्जालमा हेर्न पाइन्छ । बेलायतमा कोरोनाको प्रकोप बढ्दै जाँदा पछिल्लो सयममा नेपाली विद्यार्थीहरूलाई यसको समस्या बढी देखिन थालेको छ । केही विद्यार्थीले त आँफुले पढ्ने विश्वविद्यालय बन्द भएको र काम पनि नगरेको हुँदा बस्न खानलाई पैसा नभएको भनिरहेका छन् । खासगरी गत डिसेम्बरमा पढ्न आएका विद्यार्थीहरूले अझै काम पाएका छैनन् भने कतिपयले भर्खर काम शुरु गर्न लागेको बताएका थिए । यसबीचमा प्रकोप बढ्न थालेपछि काम छोड्नु परेकोले झनै अफ्ठारोमा परेको बताउँछन् । यहाँको सरकारले पनि अत्यावश्यक सामग्री बाहेक कपडा स्टेशनरी लगायतका पसलहरू बन्द गर्न भनेपछि यस्तै ठाउँमा काम भएकाले पनि छाड्नु परेको छ । सरकारले पप रेष्टुरेन्टमा काम गर्ने कामदारलाई तलबको ८० प्रतिशत रकम दिने नीति केही दिनअघि घोषणा गरेको छ । तर तिनमा काम गर्नेमा नेपाली विद्यार्थी भने निकै कम छन् । एक त यहाँ कामै पाउन गाह्रो छ । अर्को कुरा कामै पाए पनि हप्तामा २० घण्टामात्र कामगर्ने अनुमति भएका कारण विद्यार्थीहरू निकै अफ्ठारोमा छन् । लण्डनभन्दा बाहिर रहेको हडलफिल्ड विश्वविद्यालयमा मात्र यो जनवरीमा एकसय भन्दा बढी विद्यार्थी आएका छन् । तुलनात्मक रुपमा लण्डन भन्दा बाहिर बस्न डेरा भाडा सस्तो हुने गर्दछ । तर ती स्थानमा सुपरमार्केट थोरै हुने हुँदा सामान महङ्गो र पाउने सम्भावना समेत कम हुन्छ । सुनसरी घर भई हाल हडलफिल्ड विश्वविद्यालयमा ईन्जिनियरिङ पढ्ने एकजना विद्यार्थीले आफ्नो नाम नबताउने शर्तमा अब दोस्रो हप्तादेखि खान पनि समस्या हुने बताएका थिए । उनले ती क्षेत्रमा आफ्नोजस्तै अवस्थामा अरु कम्तीमा पनि ३० जना विद्यार्थी रहेको बताएका छन् । सरकारले पप रेष्टुरेन्ट, जीम, पार्क एवं स्कुलहरू बन्द गर्न भनेपनि पूर्ण रुपमा लकडाउन गरेको थिएन । दुई दिनअघिमात्र एकै दिनमा ५६ जनाको मृत्य भएपछि यहाँ सन्त्रास बढेको हो । बेलायतमा रहेका कतिपय नेपालीले दुख परेका नेपालीलाई हामी खाना र बास दिन्छौं भने पनि यसको समन्वयको अभाव छ । भुकम्पका बेला लण्डनमा रहेको नेपाली दुताबासले समन्वयात्मक भूमिका खेलेका कारण बेलायतका नेपाली संघसंस्थाहरूले साधारण मात्रामा भए पनि सहयोगमा जुटेका थिए । त्यो बेला पनि एनआरएनएले राज्यलाई नदिएर हामीलाई रकम दिनुस् भनेर समेत छुट्टै अभियान चलाएका थिए । यो पटक लन्डनस्थित नेपाली दुताबासले कोरोना प्रकोपसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन गरेको छ । यसमा एक मूल समिति र थप पाँच वटा उपसमिति बनाई संयोजक र अन्य सदस्यहरू राखिएको छ । यो समिति र दूताबासको भुमिकाबारे दूताबासका प्रवक्ता एव नियोग उपप्रमुख सरदराज आरनले नेपाली समुदायका कसैले सहयोग गर्न चाहेमा ती व्यक्तिहरूलाई पीडितसँग समन्वय गराई सहयोग गर्न आग्रह गर्नेगरी मध्यस्थकर्ताको रुपमा काम गर्ने बताए। दूताबासले छुट्टै आर्थिक वा अन्य खाद्यान्न सहयोग गराउने कुनै योजना नरहेको पनि उनले जानकारी दिए । सरकारका अधिकारीहरूले राज्यको ‘फुड ब्याङक’मा आवश्यक खाद्यान्न छ भनेपनि बजारमा खाद्यान्यको अभाव भएपछि दुःख पाउने स्थिति झनै बढेको देखिन्छ । विशेषगरी लन्डनका सुपरमार्केटहरुमा वृद्धवृद्धाहरू खाली बास्केट हातमा लिएर घुमिरहेको देखिन्छ । व्यापारीहरूले कामदारहरू समेत अभाव रहेकोले पनि सामान आपूर्ति गर्न कठिनाई भइरहेको बताएका छन् । उनीहरुले अस्थाई कामदारको माग गरिरहेको देखिन्छ तर काम गर्न मानिसहरु त्यति तयार पनि देखिँदैनन् । आस्डा, लिडल, टेस्को, कोपलगायतका ठूला सुपरस्टोरहरूले कम्तीमा पनि ४ हजार जना अस्थाई कामदारका लागि विज्ञापन गरेका छन् । बजारमा औषधीको पनि अभाव हुँदैछ । औषधी बेच्ने सबै भन्दा ठूलो पसल बुड्सले आफ्ना नियमित ग्राहकलाई समेत औषधी पुर्याउन कठिन भएको बताएको छ । बुड्स जस्ता औषधी पसलहरूले निःशुल्क रुपमै घरमा औषधी पुर्याउन सहयोग गर्र्छौं भनेर बाचा गरे पनि त्यो काम पूर्ण रुपमा भएको छैन । औषधीको अभावका कारण पनि भुपु गोर्खाका बृद्धाबृद्धहरुलाई असर पर्ने सो समुदायका नागरिकले बताएका छन् । एकातर्फ अहिले कोरानाको दुरी कायम गर्न प्राथमिक स्वास्थ चौकीहरूले प्रत्यक्ष भटेर परामर्श दिन छोडेका छन् । फोनबाट चिकित्सक र नर्सले परामर्श दिँदा पनि अङ्ग्रेजी भाषाको समस्या छ । राज्यले दोभाषेको व्यवस्था गरे पनि अधिकांश दोभाषेहरू घरमै एकान्तवास (सेल्फ आइसोलेशन) मा छन् । सरकारले घरमा सेल्फ आइसोलेसमा बसेका र परिवारमा अरु कोही सदस्य नरहेकालाई सरकारका स्थानीय प्रतिनिधिहरु र काउन्सिलहरूलाई परिचालन गरी घरमै खाद्यान्य पुर्याउने योजना सुनाएको छ । तर त्यसले पनि नेपाली समुदायलाई सहयोग पुगेजस्तो देखिँदैन । प्रत्येक दिनको बढ्दो मृत्युका कारण अस्पतालमा शैयाको खाँचो बढ्दै गएको छ । त्यसैले यहाँका निजी अस्पतालले आफ्ना उपकरणसहित प्रयोगका लागि अस्पताल भवन दिएका छन् । सैनिकहरूले पनि आफ्नो अस्पताल दिने घोषणा गरेका छन् । पछिल्लो २४ घन्टामा लण्डनमा रहेका कतिपय खाली भवनहरुलाई अस्थाई अस्पतालका रुपमा परिणत गरिएको छ । अस्पतालमा कामदारको अभाव भए पछि यहाँका करिब ४ लाख पूर्व कर्मचारीहरूले स्वयंसेवकका रुपमा काम गर्न तयार रहेको भन्दै फारम भरेका छन् । यसकारण उपचारमा अब अलि बढी सुविधा हुने देखिन्छ । यस्तै सरकारले अब एक दुई दिन भित्रै प्रत्येक नागरिकका घरमा कोरोना भाइरस जाँचको लागि कीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । जुन कीटको प्रयोगले पन्ध्र मिनेट भित्र कोरोनाको सङ्क्रमण भए नभएको थाहा हुने बताइएको छ । यो कीट प्रयोगका लागि दिइने परामर्शमा यहाँका नेपाली समुदायले व्यापक रुपमा स्वयंसेवक परिचालन नगरे पुनः नेपालीहरू यसको उपयोगमा पनि ढिला हुनेछन् । सन् २०१२ मा गरिएको एक अध्यायनले बेलायतमा रहेका नेपाली समुदाय दक्षिण एशियाका अन्य देशहरू भन्दा निकै कम मात्र अस्पताल जाने देखाएको थियो । यसरी कमैमात्र अस्पताल जानुको प्रमुख कारण अङ्ग्रेजी भाषा बाधक रहेको सो अध्ययनले देखाएको थियो । रासस