बलिउड सुपरस्टार अमिताभ बच्चन दम्पतीको सम्पत्ति कति छ ?
काठमाडौं । बलिउड अभिनेत्री तथा मेगास्टार अमिताभ बच्चनकी पत्नी जया बच्चन पाँचौं पटक राज्यसभामा जाँदै छिन् । उनी यसअघि चार पटक समाजवादी पार्टीबाट राज्यसभा सांसद भइसकेकी छिन् र यही पार्टीबाट पुनः राज्यसभामा पुग्ने भएकी छिन् । फिल्ममा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित जयाको सम्पत्तिको कुरा गर्दा उनी करोडौंकी मालिक हुन् । समाजवादी पार्टीबाट उम्मेदवारी दिएका बेला १३ फेब्रुअरी २०२४ मा जयाले निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले आफ्नो चल-अचल सम्पत्तिबारे उल्लेख गरेकी छिन् । त्यसमा दिइएको जानकारीअनुसार ७५ वर्षीया जया र श्रीमान् अमिताभ बच्चनको कुल चल-अचल सम्पत्ति १५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यसमा दुवैको आर्थिक वर्ष २०२२-२३ को आम्दानी उल्लेख गरिएको छ । यस अवधिमा जयाको कमाई १ करोड ६३ लाख ५६ हजार १ सय ९० रुपैयाँ थियो भने अमिताभले आफ्नो नेटवर्थमा २ अर्ब ७३ करोड ७४ लाख ९६ हजार ५ सय ९० रुपैयाँ थपेका छन् । चुनावी शपथपत्रका अनुसार जयासँग ५७ हजार ५ सय ७ रुपैयाँ नगद र १० करोड ११ लाख ३३ हजार १ सय ७२ रुपैयाँ बैंक खातामा जम्मा भएको छ । जहाँ श्रीमान् अमिताभसँग १२ हजार ७५ हजार ४ सय ४६ नगद र १ अर्ब २० करोड ४५ लाख ६२ हजार ८३ रुपैयाँ बैंक डिपोजिट छ । जयाले गरेको लगानीको बारेमा कुरा गर्दा उनले सेयर, बन्ड र डिबेञ्चरमा ५ करोड १८ लाख ५७ हजार ९ सय २८ रुपैयाँ लगानी गरेकी छिन्, जहाँ अमिताभको लगानी १ अर्ब ८२करोड ४२ लाख २९हजार ४ सय ६४ रुपैयाँ छ । यदि शपथ पत्रलाई मात्रै हेर्ने हो भने बच्चन दम्पतीले एनएसएस, हुलाक बचत वा बीमा नीतिमा कुनै पैसा लगानी गरेका छैनन् । अभिनेत्री र चार पटकको राज्यसभा सदस्य जयासँग ९ लाख रुपैयाँको गाडी छ भने अमिताभको कार कलेक्सन करिब १७ करोड रुपैयाँको छ । गहनाको कुरा गर्दा जयासँग ४० करोडको गहना छ भने उनका श्रीमानको ५४ करोडको गहना छ । शपथपत्रका अनुसार कुल सम्पत्तिमध्ये दम्पतीसँग ८ अर्ब ४९ करोड ११ लाख रुपैयाँको चल सम्पत्ति छ भने दुवैको ७ अर्ब २९ करोड ७७ लाख रुपैयाँको अचल सम्पत्ति छ । बच्चन परिवारको लक्जरी जीवनशैली उनीहरूको सम्पत्तिबाट सजिलै अनुमान लगाउन सकिन्छ । १५ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेका जया र उनका श्रीमान् अमिताभ बच्चनले आफ्नो अभिनयका आधारमा फरक स्थान हासिल गरेका छन् । दुवैको सम्पत्ति स्रोतबारे कुरा गर्दा जया बच्चनको सम्पत्तिमा उनको सांसदको तलब र अभिनयबाट भएका कमाइ समावेश छ । जहाँ अमिताभले फिल्मबाट आम्दानी, ब्याज, भाडा, लाभांश, पुँजीगत लाभ र सोलार प्लान्टबाट आम्दानी गर्छन् । उनीहरू दुवैको करोडौंको घर र जग्गा पनि रहेको छ । एजेन्सी
प्रणय दिवसलाई लक्षित गर्दै सौराहामा सुरु भयो खाना महोत्सव, फागुन ३ गतेसम्म हुने
चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आजदेखि १८औं सौराहा फुड फेस्टिबल सुरु भएको छ । विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो । महोत्सवको चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यटन क्षेत्रको विकासमा राज्यले अझ लगानी बढाउनुपर्ने बताए । उनले भने, ‘निकुञ्ज ऐन संशोधनका लागि मैले संसद्मा आवाज उठाएको छु, यसलाई संशोधन गर्नुपर्छ ।’ राज्यको स्रोत बाँडफाँटमा पूर्वी चितवन पछाडि पारिएको उनको गुनासो थियो । बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका केन्द्रीय उपाध्यक्ष सङ्घर्ष विष्ट, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारीलगायत बोलेका थिए । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा फागुन ३ गतेसम्म महोत्सव हुनेछ । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यकारुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने महोत्सवको लक्ष्य रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्यान्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगितालगायत गतिविधि महोत्सवमा आयोजना गरिनेछ । महोत्सव उद्घाटनअघि विभिन्न जातजातिका कला, संस्कृति झल्कने झाँकीले सौराहा परिक्रमा गरेको थियो । रासस
सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई वितरण गर्यो ८ सय थान टेन्ट
फाइल फोटो काठमाडौं । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडतहरुका लागि ८ सय थान विन्टराइजेशन टेन्ट वितरण गरेको छ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित ८ सय घरपरिवारका लागि विन्टराइजेशन टेन्ट वितरण गरेको हो । गत मंसिर २२ गते युरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गर्नका लागि ८०० थान विन्टराइजेशन टेन्ट प्रदान गरेको थियो । सोही टेन्ट प्रभावितहरुलाई वितरण गरिएको हो । यी विन्टराइजेशन टेन्टहरु अरु सामान्य टेन्टहरुभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले बनाइएको अग्निरोधी, जलरोधी र चुल्होयुक्त रहेको जनाइएको छ । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्ने बताइएको छ । सेभ द चिल्ड्रेन फिल्ड अफिस सुर्खेतका प्रमुख रत्नराज ओझाले आफूहरुले वितरण गरेको टेन्ट जाडो मौसमका लागि राम्रो टेन्ट भएको बताए । जाजरकोट र रुकुमपश्चिमका ५ वटा पालिकाका ८ सय परिवारका लागि ८०० वटा टेन्ट वितरण गरिएको बताउँदै उनले उक्त टेन्ट २ वर्षभन्दा मुनिका बालबालिका भएको घर, ५ महिनाभन्दा माथिको गर्भवती भएको घर, क र ख वर्गमा पर्ने अपांगता भएका व्यक्तिहरुका घरहरु र बस्न लायक नभएका घरहरुलाई लक्षित गरेर टेन्ट वितरण गरिएको जानकारी गर्रा । सोमबार नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी सेभ द चिल्ड्रेनले गरिरहेको गतिविधिहरुको अवलोकन पनि गरेका छन् । उनले जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ रावतगाँउ स्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रम क्षेत्रहरुको भ्रमण गरे । प्रमुख ओझाले भूकम्पपश्चात सेभ द चिल्ड्रेनले बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरुको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरुको लागि अस्थायी बासस्थल निर्माण, विन्टराइजेशन टेन्टहरु वितरण, मनोसामाजिक सहयोग र बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्र सम्बन्धी सहयोग प्रदान गर्दै आएको जानकारी दिए । उनले आगामी दिनहरुमा पनि भूकम्प प्रभावितहरुका लागि लक्षित गरि काम गर्ने बताए ।