काठमाडौं उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट शुरु

काठमाडौं । काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट शुरु भएको छ । शनिवारबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व शुरु भएको हो । यो पर्व अबको एक महिनासम्म चल्नेछ । महिलाहरुलाई जागरुक बनाउन र अघि सार्नका लागि सांकेतिक रुपमा यो पर्व मनाइने गरिन्छ । आज बिहान ८ बजेर ५८ मिनेटको शुभ साईतमा लिंगो ठड्याएर यो पर्वको शुरुवात गरिएको हो । पर्वको बारेमा बोल्दै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालद्खि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः शुरु गरिएको बताए । उनले महिला सशक्तिकरणलाई जोड दिनका लागि यो पर्व शुरु गरिएको बताए । उनले भने, ‘यो परापूर्वकालद्खि चलिरहेको थियो । २६ वर्ष पहिला विविध कारणले रोकिन पुग्यो । २५ वर्षपछि महिला दिदिबहिनीलाई नै अघि सारेर यो शुरु गरेका हौँ । परम्परालाई संसारभर देखाउन सकियोस् भन्ने हो । यो दुर्लभ पर्व हो । यसमा महिला सशक्तिकरणलाई जोड दिएका छौँ । आज शुरु भएको छ, एक महिनासम्म चन्द्रज्योती दीप दिन्छौँ ।’ त्यस्तै पर्वमा सहभागी महिला रञ्जु कपालीले महिलालाई जागरुक बनाउनका लागि यो पर्व शुरु गरिएको बताए । उनले २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तिकरणका लागि पुनः शुरु गरिएको बताए । २५ वर्ष अघिदेखि तानेको भन्ने छ । महिलालाई अघि बढाउनुपर्छ भन्ने सन्देशले यो कार्यक्रम शुरु गरिएको महिलालाई जागरुक बनाउन यो कार्यक्रम गरेको स्थानीय रञ्जु कपालीले बताइन् । उनले महिलाहरु पछि परिरहेको समयमा महिलालाई कुनैपनि काममा अघि बढाउनुपर्ने सन्देशसहित यो पर्व मनाइने बताइन् ।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गरे । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन्। आफू टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका छन् । विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो । अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ ।

आज विजयादशमी, टीका लगाउन बिहान ११ः०२ बजे उत्तम साइत

काठमाडौं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।