हरितालिका (तीज) व्रत महिला, पुरुष दुवैले गर्नुपर्छ-संस्कृतविद्
काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका ९तीज० को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउँछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए। ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने । ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका उनले बताए । ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, उनले भने । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले सुनाए । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि उनले बताए । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ दुई भाग रात हुँदैमा यो व्रत सक्नेले निराहार बस्ने भएकाले आइतबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ । आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । रासस ।
मनाङमा यार्तुङ मेला सुरु
मनाङ । मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए । ‘लामाहरुले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ’, उनले भने, ‘यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाई सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।’ सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले बताए । यस पर्व पाँच दिन मनाउने प्रचलन छ । घोडेजात्रा सबैले खेती रोपिसकेपछि मनाउने गरिएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । ‘घोडालाई भगवानको रुपमा नै पुजिन्छ, गाउँका सबैले घोडा पालिन्थ्यो, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्तरुपमा पुजिने पर्व हो’, उनले भने, ‘घोडा मनाङको विशेष महत्वको साधनको रुपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न आवश्यक छ ।’ बौद्धको भाषामा वर्षायाममा रोगव्याधिबाट संरक्षण गरिनु नै यसको मुख्य महत्व मानिने पर्यटन व्यवसायी गुरुङले बताए । यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्ष गरेको छ । उहाँका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई समेत संरक्षण गरेको छ । यस पर्वको माध्यमबाट गाउँ, समाज र मानिस बीचमा एकापसमा सामाजिक सद्भावको विकास गरिरहेको उनको भनाइ छ । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै यार्तुङ अन्य स्थानमा सुरु गर्ने प्रचलन रहेको छ । यो पर्व पाँच दिन मनाउने गरिन्छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले रोगव्याधि नलागोस् भनेर परम्परागत रुपमा हुँदै आएको पूजाआजालाई निरन्तरता दिएको जानकारी दिए। उनले भने, ‘पहिलेको तुलनामा यस पर्वमा युवाको सहभागिता कम हुँदै गएको छ, तर पनि निरन्तरता दिइरहेका छौँ ।’ यस पर्वको आकर्षण बढ्दो भए पनि युवा विदेशिनु, अध्ययन, जागीरलगायतका कारणले गर्दा युवा कम हुँदा सहभागिता घटेको उनले बताए । ’यसले गर्दा यी सामाजिक मूल्य, मान्यताका पर्वलाई लोप हुन नदिन निरन्तरता भने दिइरहेका छौँ’, उनले भने । मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाउने प्रचलन हटेको स्थानीय बताउँछन् । ‘मनाङका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप उर्जा मिल्छ’, उनले भने । यहाँको संस्कृति अध्ययन तथा प्रवद्र्धनलाई भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उनले भने । ‘पहिले घर–घरमा दुई÷तीन घोडा पालिन्थ्यो, हरेक ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो, अहिले सवारीसाधन आएपछि घोडाको स्थान लियो, यसको कमी यार्तुङमा पनि देखिएको छ’, उनले भने । सडक नपुगेको स्थानमा घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छन् तर, सडक पुगेका स्थानमा कम हुँदै गएको छ । पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला पास जान चाहने पर्यटकलाई पु¥याउन घोडा प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रु तथा पर्यटकलाई घोडाको माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पुर्याउने गरिएको छ । हालसम्म पनि सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका स्थानीयले मुख्यरुपमा घोडाको प्रयोग गर्ने गर्छन् । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गरिँदै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेञ्जिङ लामाले बताए ।
आजदेखि साउने सोमबारको व्रत सुरु
काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार २ वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए । धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए । चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।