४५६ मेगावाट विद्युत् क्षमता भएको माथिल्लो तामाकोसीको ८० प्रतिशत कार्य पूरा

दोलखा, ३१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ । विसं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि एक वर्ष पछि धकेलिएको हो । लामाबगर गाविसमा निर्माण भइरहेको ४५६ मेगावाट विद्युत् क्षमता भएको सो आयोजना २०७३ सालभित्र सम्पन्न गर्ने बताइएको थियो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले २०७३ पुसमा काम सम्पन्न गरी उत्पादन गर्ने योजनाको साथ अघि बढिरहेका अवस्थामा भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिलाइ भएको बताए । “निर्धारित समयमै काम सम्पन्न हुन्छ,” उनले भने । करिब रु ३५ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सम्पन्न हुँदासम्म रु ५० अर्ब पुग्ने अनुमान गरिएको छ । प्रवक्ता न्यौपानेले हाल लामाबगरमा विद्युत् गृहको कामबाहेक अरु सबै काम सञ्चालन भइरहेको बताए। लामाबगर पुुग्ने बाटोमा भूकम्पसँगै आएको पहिरो नरोकिएका कारण काभ्रे भिरबाट लामाबगरको मौरेखोलासम्म ३६० मिटर लामो सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणको काम आयोजनाको मुख्य ठेकेदार कम्पन्नी सिनोहाइड्रोले गरिरहेको छ । रासस

योजना अनुरुप काम नहुँदा अधिकांश सडक निर्माण अलपत्र

कपिलवस्तु, ३१ जेठ । अर्थ मन्त्रालयले चालु आवमा खर्च हुने गरी गत वर्षको बजेट पुस्तिकाअर्थात् रातो किताबमा राखेर बजेटसहित सार्वजनिक गरेका कपिलवस्तुका अधिकांश सडक निर्माणका योजनामा काम नहुँदा अलपत्र परेका छन् । कपिलवस्तुका एक दर्जनभन्दा बढी नयाँ र महत्वपूर्ण सडक निर्माणका लागि पहिलो पटक बजेट विनियोजन भएको काम हुन सकेन । त्यस्तै अर्कोतर्फ राजमार्गलाई सदरमुकाम जोड्ने दुई सडकको स्तरोन्नति हुने पुस्तिकामा स्पष्ट लेखिएको थियो । लामो समयदेखि सिंगल लेनको रुपमा सञ्चालन हुँदै आएको चार नम्बर जीतपुरदेखि सदरमुकाम तौलिहवासम्म जोड्ने सडक दुई लेन बनाउन बजेट पुस्तिकामा राखिएको थियो । बजेट पुस्तिकामा गोरुसिङ्गेलाई तौलिहवा जोड्ने सडक कालोपत्र गर्ने प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख थियो । एकै साथ दुईतर्फबाट सदरमुकाम जान सुविधा हुने गरी बजेट पुस्तिकाले कपिलवस्तुका सडकको स्तरोन्नति गर्न बाटो खुल्ला गरेको थियो । तर अहिले आर्थिक वर्ष समापन हुनै लाग्दा बाँकी ती काम कतै पनि सुरु हुन सकेका छैनन् । कहीँकतै सुरु भए पनि आंशिक मात्र हुन पुगेको तथ्य बाहिर आएको छ । जीतपुर तौलिहवा सडकलाई डबल लेनको बनाउने काम केवल सर्वेमा मात्र सीमित रह्यो भने गोरुसिङ्गे तौलिहवा जोड्ने सडक ग्राभेल मात्र भयो । अहिलेसम्म पक्की हुने काम सुरु नै हुन सकेकोे छैन । तत्कालिन सरकारका तर्फबाट चालु आवका लागि बजेट विनियोजन गरेको अधिकांश सडक जिल्लाको क्षेत्र नं १ सँग जोडिएका थिए । कपिलवस्तुका निर्माणाधीन सबै सडकका लागि चालु आवमा बजेट परेको बताउँदै क्षेत्र नं २ का सभासद् अतहर कमालले काम भने न्यून रुपमा मात्र भएको बताए । त्यस्तै क्षेत्र नं ४ का सभासद् तथा नेपाली काँगे्रसका सभापति सुरेन्द्रराज आचार्यले मुलुक नै अस्थिर र अस्तव्यस्त बनेको समयमा पनि यहाँका काम नभएको भन्न नमिल्ने बताए । उनले आफूले पटकपटक विकास निर्माणका काम अलपत्र परे भनेर जिल्लाका सांसद, प्रजिअ, स्थानीय विकास अधिकारीलगायत सबैलाई नदीजन्य पदार्थको निकासी विकास योजनाका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेपनि त्यो सम्भव नभएको उल्लेख गरे। रासस

७४ हजार भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ता भित्रै ५० हजार पाउने

काठमाडौं, ३० जेठ । सरकारले ७४ हजार ४ सय ८१ जना भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरका अनुसार यसरी अनुदान सम्झौता सम्पन्न गरिएका पीडितहरुको बैंक खातामा एक हप्ताभित्रै निजी घर निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार जम्मा हुनेछ । सरकारले भूकम्पका कारण पूर्णरुपमा घर क्षति भएका पीडितलाई तीन किस्तामा दुई लाख रुपैंयाँ उपलब्ध गराउँदैछ । प्राधिकरणका अनुसार उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा सम्बन्धीत गाउँ विकास समितिका सचिव र पीडितबिच अनुदान सम्झौता भएको हो । रामेछापमा ३१ हजार ८ सय ४ जनासँग अनुदान सम्झौता भएको छ भने दोलखामा १५ हजार पाँच सय ९४ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । त्यस्तै धादिङमा २० हजार ९८ परिवार र नुवाकोटमा सात सय परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । गोरखामा चार हजार ८ सय ५०, सिन्धुपाल्चोकमा तीन हजार, काभ्रेमा ९ सय ५० र सिन्धुलीमा ११ सय परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । त्यस बाहेक ओखलढुंगामा १४ हजार दुई सय २, रसुवामा दुई सय ८ र मकवानपुरमा १० परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाका अनुसार रामेछाप र ओगंलढुंगामा सम्झौता अन्तिम चरणमा पुगिसकेको छ । रामेछापको ४३ र ओखलढुंगाको ४६ गाबिसमा अनुदान सम्झौता सम्पन्न भैसकेका छन् । बाँकी ११ जिल्लामा भने द्रुतगतिमा अनुदान सम्झौता अघि बढिरहेको प्रवक्ता थपलियाले बताए ।