एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्ला चार दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दै नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको हो । मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको छ । बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो । लगातार बढ्दो मूल्यसँगै सुन र चाँदी दुवैले अघिल्ला सबै रेकर्ड तोड्दै ऐतिहासिक उचाइ कायम गरेका छन् ।

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका  विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र  सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छन् ।      मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा मंगलबारसडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् ।      प्रधानमन्त्री कार्कीले भनिन्, 'स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उनीहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।' प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।      उनले भनिन्, 'प्राकृतिक विपद्को बेला खुला ठाउँको आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्ने वित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्नुपर्छ ।'      यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।      प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री, विभिन्न मन्त्रालयका सचिवलगायत रहेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । कुल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिव ४५ प्रतिशतको हाराहारीमा पुगेको छ । द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ । यो काठमाडौं उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुने छ । निर्माणपछि तराईबाट काठमाडौंमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन् । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।   

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए।  कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए। उनका अनुसार हालसम्मको सरसफाइबाट करिब दुई सय ५० वटा ट्रक अट्ने वातावरण बनेको छ भने केही भागमा अझै सफाइ बाँकी छ ।  सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको थियो । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा रु तीन अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा रु ७४ करोड बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी मीना थापामगर, भन्सार एजेन्ट संघका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदी, नेपाल सीमापार व्यापार संघका सहकोषाध्यक्ष सुमन श्रेष्ठ, सिन्धुपाल्चोक वाणिज्य संघका उपाध्यक्ष इन्द्र राउतलगायतले आ–आफ्ना धारणा राखेका थिए ।  सो अवसरमा रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा वक्ताहरूले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकहरूले माग गरेका छन् । यसैबीच, हिउँदको सुक्खा होस् वा वर्षायामको हिलो पहिरो पन्छाई रसुवागढीखण्डमा सडक सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको जनाउँदै रसुवागढी जलविद्युत् केन्द्रलाई पनि कार्यक्रममा प्रशंसा गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए । रासस