मेयर बालेनले किराना र मासु व्यापारीलाई बढाए कर, यस्तो छ नयाँ दर (सूचिसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले कृषि तथा खाद्यान्न व्यापारमा कर बढाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार आर्थिक विधेयक सार्वजनिक गर्दै कृषि तथा खाद्यान्नको व्यापारमा कर बढाएका हुन् । उनले अधिकतम २ हजार रुपैयाँसम्म कर बढाएका छन् । मेयर बालेनले सार्वजनिक गरेको आर्थिक विधेयकका अनुसार अब खुद्रा किराना पसल सञ्चालन गर्नेले २ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यसअघि यस्तो कर १२ सय रुपैयाँ मात्रै थियो । यसअघि प्रशोधित मासुजन्य बिक्री व्यवसायमा लाग्दै आएको ३ हजार रुपैयाँ कर अब ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ भने यसअघि माछा/मासु तथा अण्डा खुद्रा बिक्री १५ सय रुपैयाँ लाग्दै आएको कर २५ सय रुपैयाँ लाग्ने भएको छ । यस्तै, अब थोक किराना पसल गर्नेले ५ हजार, खाद्यान्न बिक्री गर्नेले १० हजार, मौरी पालन गर्नेले २ हजार र कुखुराका चल्ला बिक्री गर्नेले ३ हजार र फलफुल तरकारी खुद्रा १ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यस्तै, फलफुल तरकारी थोक व्यापार गर्नेले हजार र माछा मासु तथा अण्डा खुद्रा बिक्री गर्नेले २५ सय रुपैयाँ कर तिर्नु पर्ने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीलाई एकै पटक दोब्बरले कर बढाउँदा समस्यामा पर्ने देखिन्छ । कर बढाएसँगै अब खाद्यान्न तथा माछा, मासु तथा अण्डाकाे मूल्य पनि बढ्ने भएकाे छ ।
४३५ गाउँपालिकाले ल्याए बजेट
काठमाडौं । असार १० गतेसम्म देशभर रहेका ४३५ गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले शनिबार एक विज्ञप्ती जारी गर्दै असार १० गतेसम्म ४३५ गाउँपालिकाले बजेट ल्याएको जनाएको हो । महासंघका अनुसार कुल ४६० गाउँपालिका मध्ये ९५ प्रतिशत गाउँपालिकाले तोकिएको समयमा नै बजेट ल्याएका हुन । महासंघले २५ वटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाहरुमा सम्पर्क हुन सकेको छैन भने १९ वटा गाउँपालिकामा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन । बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ । असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।
एमालेका कारण रोकिएको पोखराको बजेट ७ बजे आउने
काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट साँझ ७ बजे प्रस्तुत गर्ने भएको छ । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि रोकिएको पोखरा महानगरपालिकाको बजेट आजै ७ बजे प्रस्तुत हुन लाखेको हो । महानगरपालिकाले बेलुका ७ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेको पोखरा महानगरपालिकाका आन्तरिक व्यवस्थापन (भण्डार तथा आपूर्ति) शाखाका प्रमुख किरणप्रसाद कोइरालाले जानकारी दिए । बजेट पारित हुनु अगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने सकेको थिएन । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने तयारी छ । एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । मेयरको जवाफबाट चित्त नबुझेपछि एमाले जनप्रतिनिधिहरु पोखरा सभागृहबाहिर नाराबाजीमा उत्रिएका थिए । र, महानगरको बजेट प्रस्तु कार्यक्रम प्रभावित बन्न पुगेको हो ।