७७ प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण, आयोगले कारबाही गर्ने

दमौली । निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना बितिसक्दा पनि तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेका छन् । स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लामा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् । दश स्थानीय तहमा एक हजार ६३६ उम्मेदवार रहेकामा ३७२ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार एक हजार २६४ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । ‘खर्च विवरण बुझाउन सूचना प्रकाशित गर्यौं, तोकिएको मितिभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुभएन,’ ढकालले भने, ‘खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले कारबाही गर्छ ।’ निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ । ‘हालसम्म खर्च विवरण बुझाउनको विवरण सफ्टवेयरमा भर्दैछौं’, उनले भने, ‘असार महिनाभित्र आउने सबैको विवरण सफ्टवेयरमा भर्छौं, त्यसमा कहिले बुझाएको भन्ने मिति राखिनेछ ।’ नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, वडाध्यक्षले दुई लाख रुपैयाँ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ र अन्यले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । रासस

दुर्गन्ध हटाउन जीवातु राखेर प्लाष्टिकले छोपियो महानगरको फोहोर

काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । पानीले सडक बिग्रिएर पूर्ण क्षमतामा फोहोर ढुवानी हुने नसकेपछि महानगरले जीवातु राखेर प्लाष्टिकले फोहोर छोपेको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालका अनुसार शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुने उनले बताए । प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । ‘आज घाम लागेको छ, यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौं, स्टेशनमा फोहोरको मात्रा घटाउने छौं,’ उनले भने । टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ ।

बूढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

काठमाडाैं । बूढीढगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर बाँनियाँ नगरप्रमुखमा विजयी भएका छन् । नगरप्रमुखका उम्मेदवार बाँनियाले प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खातीभन्दा एक हजार तीन बढी मत ल्याएर विजयी भएका हुन् । मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाएका छन् भने खातीले तीन हजार ७७४ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा पनि एमालेकै मायाकुमारी खडका विजयी भएकी छिन् । खडका चार हजार ७२७ मत पाएर विजयी भएकी हुन् । उनकी प्रतिद्धन्द्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाएकी छिन्   । निर्वाचन आयोग नेपालले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।