झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

गलकोट । यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ । थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिए । उनका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ । वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भने, ‘सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।’ काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ । चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताए । गाउँपालिकाले चियाखेती विस्तारका लागि रु ११ लाख बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छभने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ । रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । रासस

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सोमबार पनि सडकबाटै काम

काठमाडौं । यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौं महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनलेलाई जानकारी दिए । उनले भने, ‘वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ । यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिएका छैनन् । समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ ।’ उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् । पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए । नागरिकको विरोधलाई समर्थन जनाउँदै सडकबाट सेवा दिन थालिएको वडाध्यक्ष महर्जनले बताए । काठमाडौं महानगरको प्रतिक्रिया नयाँ सडक क्षेत्रमा विस्तारका क्रममा पैदलमार्ग सुधार गरिएको कामपा सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले बताए । विगतमा सवारी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको उनले जानकारी दिए । ‘न्यूरोडको कालोपत्र सडकमा मोटरसाइकल, ढुवानीका साधन, कार पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो त्यति सबै ठाउँ आवश्यक पदैन’ राजभण्डारीले भने, ‘सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदलमार्ग बनाएर पैदलयात्रीलाई उपलब्ध गराउन लागिएको हो ।’ आयोगका उपाध्यक्ष डा राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरित काम नभएको दाबी गरे । मिश्रित आवासीय क्षेत्रमा १.८, मिश्रित व्यावसायिक क्षेत्रमा २.५०,बस बिसौनीमा तीन, बजार क्षेत्रमा ३.५ देखि ४.५, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा चार मिटर चौडाइको पैदलमार्ग आवश्यक पर्ने भन्दै पैदलमार्ग निर्माण भएपछि उक्त मापदण्ड पूरा हुने कामपा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए । उनले भने, ‘१३ मिटरको सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदलमार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ र बायाँ १.५ मिटर पैदलमार्ग विस्तार गर्ने योजना छ । पैदलमार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन ।’

पुतलीबजार : खरको छानामुक्तदेखि डिजिटलसम्मको यात्रा

काठमाडौं । पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा  गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो । स्याङ्जा जिल्लामा पर्ने पुतलीबजार नगरपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो । यो पालिका यस जिल्लाको सदरमुकामका रुपमा समेत रहेको छ । पालिका आधिखोलाको काखमा रहेको छ भने सिद्धार्थ राजमार्ग कोरिडोरमा पर्दछ । पुतलीबजार नगरपालिका धार्मिक तथा पर्यटकीय रूपमा पनि उतिकै महत्वपूर्ण छ । पालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख तुलसीराम रेग्मी बताउँछन् । उनका अनुसरा नेपाल सरकारले दिएको दिवा खाजा १५ रुपैयाँमा पालिकाले १० रुपैयाँ थपेर विद्यार्थीहरुलाई दैनिक २५ रुपैयाँको खाजा उपलब्ध गराएको छ । त्यस्तै, प्राविधिक शिक्षा (इन्जिनियर) अध्ययन गर्नको लागि नगरपालिकाभित्रका १४ वडाका २/२ जना गरिब तथा जेहेनदार विद्यार्थीलाई वार्षिक प्रतिव्यक्ति १ लाख ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको उनी बताउँछन् । नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा ई- हाजिरीको व्यवस्था लागु गरिएको छ भने विद्यार्थीलाई पोशाक वितरण र पुस्तकालय स्थापना समेत गरिएको छ । ‘पालिकाले विद्यालयका बालबालिकाको मुटु र आँखाको स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गरेको छ,’ उनी भन्छन्, ‘प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अन्तर्क्रिया र क्षमता विकास तालिम पनि हामीले सञ्चालन गरिरहेको छौं ।’ एसईई र कक्षा ८ मा उत्कृष्ट नम्बर वा जीपीए ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान र नगद पुरस्कार प्रदान गर्दै आएको छ । यसले विद्यार्थी तथा शिक्षक दुवैको मनोबल उच्च हुने उनको भनाइ छ । पालिकाद्वारा विद्यालयका शिक्षक र कर्मचारीका लागि क्षमता विकास कार्यक्रम पनि सञ्चालन गरिएको उनी बताउँछन् । स्वास्थ्य सेवातर्फ भने पालिकाले रक्तसेवा सञ्चालन गरेको छ । चाहिएको बेला जो कोहीले यस बैंकबाट रगत लिन सकिने व्यवस्था पालिकाले गरेको छ । साथै पालिकामा रहेको अस्पतालमा डाइलासिस सेवा सञ्चालन गरिएको उनले बताए । उनका अनुसरा माझी, बोटो, कुमाललगायतका सीमान्तकृत एवं विपन्न वर्गका जनताहरूको स्वास्थ्य बिमा गरिएको छ । निःशुल्क मुटु जाँच शिविर सञ्चालन तथा शल्यक्रिया सेवा प्रदान गर्ने, गर्भवतीलाई क्याल्सियम वितरण गर्ने, स्वास्थ्य आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरीलाई १५ सय रुपैयाँ प्रदान गर्ने लगायत कार्यक्रमहरू पनि पालिकाले सञ्चालन गरेको छ । स्वास्थ्य संस्थातर्फ ई हाजिरी तथा अनलाइन रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली आरम्भ गरेको उनले बताए । ‘पालिकाभित्रका ३ वटा स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ,’ उनी भन्छन्, ‘अस्पतालमा पालिकाको तर्फबाट चिकित्सक नियुक्ति गरिएको छ ।’ पालिकाले कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेको छ । पालिकाले किसानलाई हाते ट्याक्टर अनुदानमा उपलब्ध गराउने गरेको छ । त्यस्तै पालिकाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ । सिताके च्याउ उत्पादन र प्रवद्र्धनमा जोड दिएको छ भने सुन्तलाको कलमी बिरुवा उत्पादनका लागि हाइटेक नर्सरी स्थापना गरेको उनी बताउँछन् । पालिकाले प्लान्ट क्लिनिकका माध्यमद्वारा बाली संरक्षण गरेको छ । साथै तरकारी संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । पालिकाले एक घर एक करेसाबारी र एक टोल एक नर्सरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोदो खेती गर्ने किसानलाई पालिकाले अनुदानको व्यवस्था गर्दै आएको छ । पालिकाले कृषिलाई जोड दिने क्रममा प्रत्येक वडामा कृषि र पशुका प्राविधिक खटाइएको उनले बताए । यति मात्रै होइन किसानहरूलाई अन्य थुप्रै सुविधा पनि उपलब्ध गराएको छ । किसानलाई प्लास्टिक टनेलमा ५० प्रतिशत अनुदान दिने, धान र मकैको बीउमा ५० प्रतिशत अनुदान, कृषि हाट बजार स्थापना, आलुको बीउ बीजन र कुखुराको चल्ला वितरण, माटो परीक्षण, किसानलाई सेलर, हलर (सानो मिल) मा अनुदान लगायतका कार्यहरु गर्दै आएको छ । पालिका कृषिलाई यान्त्रिकीकरणमा रुपान्तरित गर्न र व्यावसायिक कृषितर्फ उन्मुख रहेको उनले बताए । पालिकाले पशुतर्फ पनि थ्प्रै कामहरू गर्दै आएको छ । पालिकाले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको छ भने पशु स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । पालिकाले पशु वधशाला निर्माण गरेको र घरदैलोमा पशु स्वास्थ्य सेवा तथा चिकित्सा सेवा प्रदान गरेको उनको दाबी छ । नगर प्रमुख तुलसी रेग्मी र उपमेयर देवी अर्याल । पशुहरुमा देखिने महामारी रोग नियन्त्रण गर्नमा सक्रिय भूमिका खेलेको छ भने पशु खोप कार्यक्रम निःशुल्क सञ्चालन गरेको उनी बताउँछन् । त्यस्तै, व्यावसायिक कृषकहरुलाई पशुपालन तालिम दिने, बाख्रा वितरण गर्ने, फर्म दर्ता गरी बाख्रा पालन, भैँसी पालन गर्ने किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिने,  डाले घाँसको बीउ निःशुल्क वितरण गर्ने लगायतको काम पालिकाले गरिरहेको छ । पालिकाले सुशासनको क्षेत्रमा पनि राम्रो काम गरिरहेको नगरप्रमुखको भनाइ छ । पालिकाले नेपाल सरकारले लागू गरेको पाम्स (जिन्सी व्यवस्थापन) सफ्टवेयर लागू गरेको छ । वडा सचिवहरुलाई पञ्जीकरणको तालिम दिनुको साथै आम नागरिकमा पनि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले बताए । पालिकाले पुराना पञ्जीकरणका अभिलेखलाई डिजिटाइज्ड गरेको छ भने वडा कार्यालयमा प्रत्येक महिनाको ३ गते नियमित बैठक बस्ने निति लिएको छ । ‘पालिकालाई एउटा नियमा हिडाउँन सक्यौं भने मात्रै हामी पनि सिस्टममा हुन्छै भन्ने हाम्रो सोचाइ हो,’ उनले भने । पालिकाले प्रविधिलाई जोड दिँदै डिजिटल पालिका घर नक्सा कार्यक्रम आरम्भ गरेको छ । पालिकाले अनुगमन कोष हटाई खर्च कटौती गरेको उनले बताए । साथै अनलाइन बिल्डिङ पर्मिट प्रणाली लागू गरेको छ । पालिकाले अनलाइन कर प्रणाली लागू, डिजिटल नागरिक बडापत्र जारी, ई हाजिरी वडा, स्वास्थ्यमा र स्कूलमा विस्तार,  नागरिक सहायता कक्ष, स्तनपान कक्षलगायत आरम्भ गरेको छ । यस पालिकामा वडामै योजना सम्झौता हुने गरेको उनी बताउँछन् । पालिकाले सामाजिक सुरक्षातर्फ भने ज्येष्ठ नागरिकको मासिक भत्ता बैंकबाट उपलब्ध गराउँदै आएको छ । त्यस्तै ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन, ज्येष्ठ नागरिकलाई तीर्थयात्रा, ज्येष्ठ नागरिकको मोतियाविन्दुको अपरेसन, अपांगता भएकामध्ये क वर्गलाई स्याहार भत्ता प्रदान गर्दै आएको छ । उनका अनुसरा सामाजिक सुरक्षा लाभग्राहीहरूको नामावाली वेबसाइटमा प्रकाशित गर्ने र पालिकाले स्कूल भर्नामा जन्मदर्ता अनिवार्य गर्ने काम गरेको छ । साथै, ज्येष्ठ नागरिक र अपांगता भएकालाई परिचयपत्र वितरण गरेको छ । पुतलीबजार नगरपालिकाले महिलाको आयआर्जनका लागि सिलाइ-बुनाइ तालिम दिने गरेको उनी बताउँछन् । ‘पालिकामा कोहीपनि महिलाहरू बेरोजगार बस्न नपरोस् भनेर सिलाइ बुनाइ तालिम सञ्चालन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘घरेलु हिंसा न्यूनीकरणका लागि कानुनी परामर्श सेवा प्रदान गर्ने, नगरभित्रका हरेक वडामा पुग्ने सडक निर्माण, फोहोर संकलन, वर्गीकरणका लागि सरसफाइ केन्द्र खडा गर्ने लगायतका कामहरू हामिले गरिरहेका छौं ।’ याे पालिका खरको छानामुक्त पालिकाको रुपमा समेत चिनिएको छ । पालिकाले मगर दिवसमा बिदा दिने गरेको छ । मगर समूदायको बाहुल्यता भएका कारण मगर दिवसमा बिदा दिने गरिएको रेग्मी बताउँछन् । विदेशबाट फर्किएमा व्यक्तिहरूलाई आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिन विदेशबाट फर्किएकाहरूलाई प्रत्साहनको व्यवस्था गरिएको उनी बताउँछन् । वैदेशिक रोजगारीबाट फर्किएकालाई वोर्यर बाख्रा वितरण गर्ने, साझेदारीमा रोजगारमूलक कार्यक्रम सञ्चालन तथा भौतिक संरचना निर्माण, वैदेशिक रोजगारीमा जानेलाई परामर्श सेवा दिने, वैदेशिक रोजगारीमा अंगभंग भएका वा मृत्यु भएकाको परिवारलाई कल्याणकारी सेवा सुविधा उपलब्ध गराउन पहल गर्ने लगायतका काम पालिकाले गर्दै आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पुतलीबजार नगरपालिकामा ११ हजार ८८१ घर धुरीमा ४१ हजार ७४३ जनाको बसोबास रहेको छ । नगरपालिकाको जनघनत्व २८४ र साक्षरता ८२.८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्षेत्रफल १४७.१९ वर्ग कि मिटर रहेको पालिकाको साइटमा उल्लेख छ ।