आयोगले दुई करोड रुपैयाँ सरकारलाई फिर्ता दिने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट दुई करोड रुपैयाँ सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमबाहेक अन्य कार्यक्रम स्थगन गरी उक्त रकम सरकारलाई फिर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारलाई फिर्ता गरिएको उक्त रकम कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग गर्ने गर्न आग्रह गरेको छ । उक्त भाइरसविरुद्ध प्रभावकारी रुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग पुर्याउन आयोगले सबै निकाय, नागरिक समाज, मानव अधिकारकर्मी, उद्योग व्यवसायी तथा निजी क्षेत्रलाई आग्रह गरेको छ । आयोगले सन्त्रास र सङ्कटको यस घडीमा राज्यका सबै निकायको सक्रियता, समन्वय र सहयोगात्मक भावनाको महत्व रहने विश्वास लिएको छ । साथै, आयोगले उक्त भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन गरिएको सरकारको निर्णयलाई पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गरेको छ । रासस
सङ्क्रमणबाट जोगिए पनि अन्योलमा छन् इटालीमा रहेका नेपाली
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ । युरोपेली मुलुक इटलीमा कोभिड–१९ को सङ्क्रणका कारण हालसम्म ११ हजार ५ सय ९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४ सय गम्भीर अवस्थामा छन् । चीनबाट फैलिएको सो भाइरसका कारण हालसम्म विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु हुँदा इटालीपछि स्पेनमा सबैभन्दा बढी सात हजारभन्दा बढीको मृत्यु भएको छ । वल्र्ड ओमिटर्स डट इन्फोका अनुसार इटालीमा कूल एक लाख एक हजार ७ सय २९ लाई सङ्क्रमण देखिएकामा इटालीमा सङ्क्रमितमध्ये १४ हजार ६ सय २० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ जनवरी २९ मा पहिलो सङ्क्रमित भेटिएका थिए । बाहिर आएको भन्दा अझ बढी तथ्याङ्कमा सङ्क्रमित हुन सक्ने पनि जनाइएको छ । इटालीमा शुरुमा १७ वर्षका एक नागरिकको निधन भएको थियो भने करीब छ हजारको सङ्ख्यामा स्वास्थ्यकर्मीकै मृत्यु भइसकेकाले त्यहाँ जनताले ठूलो सङ्कट व्यहोरिरहेका छन् । इटालीको उत्तरी भागमा रहेको लोभागियामा सबैभन्दा बढी असर परेको छ, त्यहाँ पनि नेपाली रहेका छन् । इटालीको अनुभवमा नियमित व्यायाम र दैनिक काम गर्ने पनि सङ्क्रमित र मृत्यु भएका छन् । पहिला अन्य रोग लागेकालाई अन्य मुलुकमा झैँ बढी असरमा पारेको छ । इटाली सरकारले जरुरी काममा बाहेक त्यहाँको एक पालिकाबाट अर्को पालिकामा मानिसलाई जान रोक लगाइएको छ । ‘लकडाउन’ उलङ्घन गर्नेलाई ४ सयदेखि तीन हजार युरोसम्म कारवाही तोकेको छ । त्यहाँ गत ४ मार्चदेखि राष्ट्रिय सङ्कट घोषणा गरिएको थियो । पछिल्ला दिनमा इटालीलाई सघाउन रुस र चीनबाट स्वास्थ्य टोली आएका छन् । स्थिति भयावह भए पनि इटालीको सरकारले भाइरसको महामारीसँग जुध्नबाट हात उठाएको भन्ने सत्य होइन । प्रधानमन्त्री ग्युसेप्पे कोन्तेले त्यहाँका संसद्मा बोल्दै सरकारले महामारी रोक्न चालेका कदम र भावी नीतिबारे अवगत गराउँदै आएका छन् । इटालीमा रोमसहित मिलान, पेनिस, आवोस्ता, तोरिनो, पिसा आदि शहरमा नेपाली रहेका छन् । इटालीको राजधानी रोमस्थित एक स्टार होटलमा कार्यरत रामहरि खकुरेलले सबैतिर भइरसको समस्या हुँदा त्यहाँका होटेल व्यवसाय कहिले सञ्चालन हुने कुनै सुनिश्चितता नहुँदा नेपालीमा मानसिक तनाब पैदा भएको बताउछन् । नुवाकोट घर भएका खकुरेलले भने, “यहाँको अवस्था नाजुक छ । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णत : घटेको मान्न सकिँदैन । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ । हामी नेपाली एकापसमा सम्पर्क र समन्वयमै रहेका छौँ ।” गैरआवासीय नेपाली सङ्घ (एनआएनए) का इटाली शाखाका पूर्वसचिव खकुरेलले इटालीका जनतालाई सरह आफूहरुलाई पनि आवश्यक पर्दा स्वास्थ्य परीक्षण र उपचार गर्न सरकारले प्रतिबद्धता जनाएको जनाउँदै सरकारले त्यहाँका नागरिक कसैको पनि रोजीरोटी नगुमोस् भनेर आर्थिक सहायताको घोषणा गरेको तथा व्यवसाय र रोजगार बन्द हुने कम्पनी र व्यक्तिलाई सहायता दिने जानकारी दिए । उनका अनुसार एनआएरएन शाखाले दुई हजार दुई सय युरोको आपत्कालीन कोष बनाएर आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ तर हालसम्म नेपाली आर्थिक सङ्कटमै भने परेका छैनन् । मिलान शहरमा कार्यरत नेपाली आशा लामाले हालसम्म कुनै नेपालीलाई सङ्क्रमण नभए पनि आफूहरु त्रसित अवस्थामा रहेको जनाए । नेपाली समुदायलाई कुनै समस्या परेको खण्डमा इटालीस्थित नेपाली दूतावासले पनि आवश्यक समन्वय गर्दै आएको छ । रासस
रातभरी हिडेर घर जान थाले काठमाडौंका मानिसहरु
काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका हुन् । उपत्यकामा बसोबास गर्दै आएका मकवानपुर, ललितपुर, नुवाकोट, काभ्रे, धादिङ र सिन्धुपाल्चोक घर भएकाहरु हिडेरै घर आफ्नो जान थालेका हुन् । आइतबार राति ११ बजे मकवानपुर हिडेर जान लागि ५ जनाको समूह तयार भयो । उनीहरुले भने ’दिउँसो हिड्न पाइदैन त्यसैले रातिको सयममा हिडेर घर जानलेका हौं । हामी ५ घन्टामा हाम्रो घर कुलेखानि पुग्छौं ।’ त्यस्तै, मकवानपुरको पालुग घर भएका दिदीभाई पनि गत शुक्रबार बिहान ३ बजे हिडेर घर गए । उनीहरु शनिबार बिहान ८ बजे घर पुग्ने लक्ष्य बोकेर काठमाडौंको मैत्रिनगरबाट आफ्ना घर हिडेका गएका हुन । उनीहरुसगैँ हिडेर घर जानेको यात्रुहरुको लर्को थियो । बिहानै ३ बजे हिडेका उनीहरु ८ बजेको समयमा भीमफेदी पुगिसकेका थिए । हिडेर हेटौंडा पुगेका विक्रम दाहाले विकासन्यूसगँ भने हाम्रो बाजेहरुले हिडेर काठमाडौं लगायतका ठाउँमा आवतजावत गर्ने गरेका थिए भन्ने सुनेको थिए । तर पहिलो पटक म पनि काठमाडौंबाट हिडेर हेटौंडा आँए ।’ काठमाडौंबाट आउँदा छोटा बाटोहरु प्रयोग गरेर घर गएको दाहाले बताए । काठमाडौबाट बुधबार हिडेर सिमारा घर जाने तयारीमा छन् मनोज दाहाल । उनीसगैँ काठमाडौंको कोठामा बस्ने धादिङका मिलन बजगाई गत मंगलबार हिडेर घर गएका उनले बताए । सर्वासाधारण रातभरी हिडेर घर जानु आफैमा जोखिम छ । उद्योगमा काम गर्दा गर्दै विभिन्न सहरमा मानिसहरु घर जान नपाएर काठमाडौंमा नै बसेका थिए । काठमाडौंमा काम गर्ने मानिसहरु हिडेरै घर जान थालेका हुन । सरकारले गत १० गते साझ लकडाउनको घोषणा गरेपछि सर्वसाधारणहरु विभिन्न सहरमा बस्न बाध्य भएका हुन् । सरकारले पुनः लकडाउनलाई बढाएर २५ गतेसम्म पुर्याको छ । काम गर्दागदै विभिन्न सहरमा रहेका कामदाहरु हिडेरै घर जानुभन्दा सरकारले घर जान चाहेका सर्वासधरणहरुलाई केही व्यवस्था गर्नसके राम्रो हुन्छ की ?