पाँच जिल्लाका चेम्बर अफ कमर्सले वितरण गरे नगद सहित विभिन्न सामान

काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण गरेका छन् । साथै, कोरोना रोकथामको लागि माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको जानकारी गराएको छ । सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले २ हजार थान सर्जिकल मास्क बितरण गरेको छ । सुन्दर बजार चेम्बर अफ कमर्स सुन्दर बजारले सुन्दर बजार नगरपालिका, नेपाल पत्रकार महासंघ लमजुङ सुन्दर बजार अस्पताल, नमुना सामुदायिक अस्पताल, ईलाका प्रहरी कार्यालय भोटेवडार, ईलाका प्रहरी कार्यलय सुन्दर बजार, भोटेवडार शहरी स्वस्थ्य क्लिनिक, सर्बोदय सेवा आश्रम, मानव सेवा आश्रम बेशिसहर, १२ वटा निजि क्लिनिकहरुलाई निशुल्क सर्जिकल मास्क वितरण गरेको छ । त्यस्तै, बाँके चेम्वर अफ कमर्सबाट उपभोग्य सामाग्री सहज तवरले उपलब्ध गराउन सुपथ पसल संचालन गरेको छ । घोराही चेम्वर अफ कमर्सले मास्क वितरण गर्ने कार्यक्रम तय गरेको छ भने दोलखा चेम्वर अफ कमर्सद्धारा मास्क वितरण कार्य गरेको छ । त्यसैगरी, अर्घाखाँची चेम्बर अफ कमर्सले अत्यावश्यकीय क्षेत्रमा प्रयोग गर्नेगरि जिल्ला प्रशासन कार्यालय मार्फत ३ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा कोरोनाको सङ्क्रमण 

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ८ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा ८ जनामा कोरोना पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए । सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा  सङ्क्रमण देखिने नेपालीको सङ्ख्या ९ पुगेको छ । पछिल्लो समय कोरोनाको सङ्क्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गर्दै आइरहेको छन् । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । रासस

यी ६ स्थानमा वितरण हुँदै ग्यास

काठमाडौं । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्ने भएको छ । नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले काठमाडौं उपत्यकाका ६ स्थानमा ३ दिनसम्म ग्यास वितरण गरिने बताए । ‘बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण हुने छ,’ भण्डारीले भने ।  भण्डारीले ३ दिनसम्म दुई/दुई स्थानबाट ५६० वटासम्म सिलिण्डर वितरण गर्ने बताए ।