विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
कोरोना अपडेट: विश्वमा ८ लाख ८७ हजारभन्दा बढी संक्रमित,४४ हजार ३ सय २ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ४४ हजार ३ सय २ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ८ लाख ८८ हजार ४ सय १८ जना पुगेका छन् । त्यस्तै कोरोना भाइरसको उपचार पछि १ लाख ८८ हजार ८ सय ७९ जना घर फर्किएका छन् । पछिल्लो समय संयुक्तराज्य अमेरिका विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । त्यहाँ अहिलेसम्म १ लाख ८८ हजार ८ सयभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ४ हजार ६६ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ । अमेरिकामा उपचार पछि भने ७ हजार २ ५१ जना घर फर्किएका छन् । कोरोना भाइरसबाट प्रभावित इटालीमा १२ हजार ४ सय ४३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६ हजारभन्दा बढी संक्रमित रहेका छन् । आजसम्म इटालीमा १५ हजार ७ सय २९ जना उपचार पछि घर फर्किएका छन् । स्पेनमा १ लाख २ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ९ हजार ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ८ सय ६७ जना निको भएका छन् । कोरोना भाइरसको उद्गम स्थल चीनले कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा राखेको छ । आज नयाँ संक्रमितको संख्या ३ सय रहेको छ । हालसम्म ८३ हजार जना संक्रमित छन् भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । त्यस्तै ७६ हजार ४ सय १२ जना उपचार पछि घर फर्किएका छन् । पछिल्लो समय युरोपेली मुलुकमा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएको छ । जर्मनी ७३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छन् भने ८ सय २२ जनाको मृत्यु भएको छ । १९ हजार उपचार पछि निको भई घर फर्किएका छन् । फ्रान्समा ५२ हजार ३ सय ७५ जना संक्रमित छन् । फ्रान्समा ३ सय ५ सय २३ जनाको मृत्यु भयो भने ९ हजार ४ सय ४५ जनालाई निको भएको छ । इरानमा ४७ हजार ५ सय ९३ कोरोनाबाट संक्रमित छन् भने ३ हजार ३६ जनाको मृत्यु भएको छ । त्यस्तै १५ हजार ४ सय ७३ जना उपचार पछि घर फर्किएका छन् । केहि दिन यता बेलायतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आजको तथ्यांक अनुसार २९ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै १ सय ३५ जना उपचार पछि निको भएका छन् । कोरोना भाइरसबाट स्वीट्जरल्याण्डमा ४ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ हजार १ सय ३७ पुगेको छ । त्यस्तै २ हजार ९ सय ६७ जना उपचार पछि घर फर्किएका छन् । नेदरलयाण्डमा कोरोना भाइरसबाट १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १३ हजार ६ सय १४ पुगेको छ । उपचार पछि २ सय ५० जना घर फर्किएका छन् । बेल्जियममा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै ८ सय २८ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ३२ जना उपचार पछि घर फर्किएका छन् । टर्कीमा १३ हजार ५ सय ३१ जना कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ४३ जनालाई निको भएको छ । अष्ट्रिया १० हजार ४ सय ८२ जना कोरोना भाइरस संक्रमित छन् भने १ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो समय दक्षिण कोरियाले पनि कोरोना संक्रमणलाई नियन्त्रणमा गर्न सफल भएको देखिएको छ । हाल ९ हजार ८ सय ८७ जनाको मानिस कोरोना भाइरस संक्रमित छन् भने १ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५ सय ६७ जना उपचार पछि घर फर्किएका छन् ।स्वीडेनमा मृत्यु हुनेकाे संख्या १ सय ५, पोर्चुगलमा १ सय जनाको मृत्यु भइसकेको छ । यसैगरी यस सङ्क्रमणबाट नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ । नेपालमा हालसम्म ५ जनाका काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे र हाल १ जना निकाे भएर घर फर्किएका छन् ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे कोरोना सङ्क्रमितकाे सेवा गर्नेकाे मृत्यु भए परिवारलाई एक करोड दिने घोषणा
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा कामका शिलशिलामा मृत्यु हुने अधिकारीका परिवारलाई एक करोड रूपैयाँ राहतको घोषणा गरेको छ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा बुधवार गरेका छन् । “यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ,” उनले भने । कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिइने उनले बताए । मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारे । “मलाई थाहा छ तपाईको सेवा अमुल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मान स्वरुप यो रकम उपलब्ध गराइने भएको हो,” उनले भने । आफ्नो जीवननै जोखिममा पारेर सेवामा खटिनुभएका सवैप्रति जति सम्मान व्यक्त गरेपनि कमी हुने उनको भनाइ छ । मुख्यमन्त्री केजरीवालले पाचँवटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठक समेत गरेका थिए । उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए । स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पीपीई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको छ । तीमध्ये एक हजार ४ सय ६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १ सय ३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी अन्य ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस/एएनआई