निजगढ विमानस्थल निर्माणले गति लिएन, ‘गलत प्रचारका कारण आयोजनाको काम ओझेलमा’
काठमाडौँ । राष्ट्रिय गौरवको योजनाका रूपमा सरकारले अगाडि सारेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गतिलिन सकेको छैन । प्रस्तावित विमानस्थलको मुख्य धावनमार्गमा पर्ने टाङ्गिया बस्ती विवाद, रुख कटान र जग्गा अधिग्रहणलगायत समस्याको समाधान हुन नसक्दा निर्माण कार्य अगाडि बढ्न नसकेको हो । टाङ्गिया बस्तीका बासिन्दा कसैको पनि जग्गाधनी प्रमाणपत्र छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख ओमनारायण शर्माका अनुसार, रुख कटानबाट हुने वातावरणीय असरबारे गलत ढङ्गले गरिएको प्रचार, टाङ्गिया बस्ती स्थानान्तरणका अनावश्यक विवादका कारण विमानस्थलको निर्माण कार्य अगाडि बढ्न नसकेको हो । उनका अनुसार, विमानस्थल निर्माणका लागि चार हजार हेक्टर जङ्गल क्षेत्रको रुख कटान गर्नुपर्ने हुन्छ । उनले वन फडानीका कारण जङ्गली जनावरको बासस्थान नष्ट हुने, पानीको मुहान सुक्ने, बकैया र पसाहा नदीमा आउने बाढी अनियन्त्रित हुनेजस्ता गलत प्रचारका कारण आयोजनाको काम ओझेलमा पर्दै गएको बताए । वन तथा वातावरण मन्त्रालयबाट सो विमानस्थल आयोजना क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए) समेत स्वीकृत भइसकेको छ । २०७५ जेठ ९ गते सो वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपिको र ईराड (जेभी) परामर्शदाता कम्पनीले सन् १९९५ मा देशका आठ ठाउँमा गरेको पूर्व सम्भाव्यता अध्ययनले समेत निजगढलाई नै उपयुक्त ठाउँको रूपमा छनोट गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने, भौतिक पूर्वाधार विकासमा केन्द्रित
काठमाडौँ । प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको छ भने सङ्घीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवन सिटौलाका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकास अन्तर्गत शिक्षा, स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । चालू आवका लागि सरकारले कूल रु ३५ अर्बको बजेट ल्याएको थियो । प्रदेश योजना आयोगले प्रदेशको विकासका लागि आगामी बजेटमा प्रदेश सरकारलाई कूल रु ५५ अर्बको बजेट ल्याउन सिफारिस गरेको छ । आगामी आवका लागि प्रदेश योजना आयोगले आवधिक योजना दिशानिर्देशमा महत्वपूर्ण विषयलाई समेटेर तयार पारेको खाकाअनुसार सो बजेटको सिफारिस गरिएको आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए । उनले आयोगले मूलभूत रुपमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गर्न सकेमा प्रदेशमा समृद्धि आउने, उत्पादन बढ्ने, प्रशस्त रोजगारका अवसर सिर्जना हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदेशमा भित्र्याउन सकिने कुरामा जोड दिए । प्रदेश १ मा चौथो अधिवेशनअर्थात् बजेट अधिवेशन यही जेठ १३ गतेदेखि शुरु हुँदैछ । रासस
श्रोत नखुलेको ३१ लाख नगदसहित २ जना पक्राउ, कहाँबाट ल्याए ?
काठमाडौँ । महानगरीय प्रहरीवृत्त नयाँ वानेश्वरले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा१४च ८९५९ नंको सवारी जाँचका क्रममा स्रोत नखुलेको नगदसहित भक्तपुरका ५० वर्षीय राजभाई सञ्जु र झापाका ३३ वर्षीय अभिषेक सावालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले सञ्जु र सावासँग रु ३१ लाख बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।