गुण्डा नाइके पुन र आले मारिए
बुटवल । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा बुधबार बिहान मारिएका छन् ।रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष सूचनाका आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग प्रहरीको मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए। प्रहरीले पुनका साथबाट एउटा पेस्तोल पनि बरामद गरेको छ । प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । पुनलाई गत वर्ष देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेको, गत असोजमा काठमाडौँमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न भएको र गत पुस २२ गते देवदहमा काठ व्यवसायी वसन्त पौडेलको हत्या गराएको आरोप लगाइएको छ । व्यापारीको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएको अभियोग पनि छ । अभियुक्त पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो । सिआइबीले विशेष समूह बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो । रासस
१०९ ठेकेदारलाई भ्याट तिर्न राजस्व कार्यलयको २५ दिने अल्टिमेटम
काठमाडौं । आन्तरिक राजश्व कार्यालय ललितपुरले १०९ ठेकेदार कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) २५ दिनभित्र तिर्न अल्टिमेटम दिएको छ । पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि राजस्व कार्यालयले कर तिर्न आउन ठेकेदारलाई पुनः अल्टिमेटम दिएको हो । मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १९ बमोजिम करदाताले प्रत्येक कर अवधि समाप्त भएको मितीले २५ दिनभित्र बुझाउनु पर्ने व्यवस्था रहेको छ । ऐनको दफा १० (ख) बमोजिम संयुक्त रुपमा दर्ता भएका ती कम्पनीले कानूनी व्यवस्थालाई अटेर गरेपछि राजस्वले अल्टिमेटम दिएको हो । राजस्वले गत पुस महिनामै सबै कम्पनीलाई बक्यौता तिर्न पत्राचार गरेको थियो । कम्पनीले कर तिर्ने नआएपछि राजस्व कार्यलय ऐनको दफा अनुसार अघि बढेको हो । राजस्व कार्यलयका अनुसार अबको मितिले २१ दिनभित्र बक्यौता नतिरे, मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा २१ बमोजिम कारबाही प्रक्रिया अगाडी बढ्ने जनाएको छ । कर बुझाइसकेको भएमा सोको प्रमाणपत्र समेत दाखिला गर्न राजस्वले भनेको छ । राजस्व नर्तिर्नेमा स्पर्श ज्योती जेभी, युनाइटेड, कान्छाराम, याक्थुङगा, सुनौला खिम्ती, वन्दना भगवती, महादेव खिम्ती,योजना, लामा, धुकुछु जेभी लगायत १०९ कम्पनी रहेका छन् ।
घट्यो वैदेशिक रोजगारीमा जाने नेपालीकाे संख्या
कागमाडौं । वैदेशिक रोजगरीमा जाने नेपाली कामदारहरुको संख्या घटेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा वैदेशिक रोजगारीको लागि जाने विभिन्न मुलुकमा जाने नेपालीको संख्या १.८ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा नेपालदेखि विभिन्न मुलुकमा १ लाख ८६ हजार जना वैदेशिक रोजगारीको लागि गएका छन् । जबकी गएको वर्ष सोही अबधिमा हालकोभन्दा बढी १ लाख ८९ हजार कामदार विदेशिएका थिए । गएको छ महिनाको अबधिमा ४८ हजार ९ सय जना रोजगारीको सिलसिलामा कतारमा गएका छन् । गएको वर्ष सोही अबधिमा ६२ हजार ७७६ जना उक्त देशमा पुगेका थिए । त्यस्तै गएको ६ महिनाको अबधिमा २३ हजार २८६ जना कामदार साउदी अरब गएका छन् । गएको वर्षको सोही अबधिमा ४४ हजार ४८१ नेपाली कामदार उक्त देश पुगेका थिए । चालु आर्थिक वर्षको छ महिनामा जपान जानेको संख्या ३८५, इजरायल जानेको संख्या ६८ र लेवनानमा ५ जना गएका छन् । गएको वर्ष सोही अबधिमा क्रमशः ती देशहरुमा १ हजार ६२९ जना, ७० र ७६ जना गएकोे राष्ट्र बैंको तथ्याङमा देखिएको छ । जसअनुसार गएको वर्षको तुलनामा गएको ६ महिनामा ती देशहरुमा कम कामदार गएका छन् । घट्यो विप्रेषण बैंकको अनुसार वैदेशिक रोजगरीको लागि जाने नेपालीको संख्या घटेसँगै विप्रेषण पनि घटेको छ । चालु आर्थिक वर्षको छ महिनामाको अबधिमा सून्य दशमलब ५ प्रतिशत ह्रास आएको छ । गएको ६ महिनाको अबधिमा विप्रेषण आप्रवाह ३ खर्ब ४० अर्ब ५४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अबधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशले बढेको थियो । श्रम स्वीकृतिको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन श्रम स्वीकृत बाहेक) राष्ट्र बैंकको समीक्षा अबधिमा १.८ प्रतिशतले घटेको छ । बैंकको अनुसार अघिल्लो वार्षको सोही अबधिमा उक्त संख्या ९.९ प्रतिशत बढेको थियो ।