रजिस्ट्रारको कार्यालयले आजदेखि सुरु गर्याे ‘विन्डो सिस्टम’
काठमाडौं । कम्पनी कार्यालयले आइतबारदेखि ‘विन्डो सिस्टम’ सुरु गरेको छ । जसअन्तर्गत सहायक रजिस्ट्रार रहेको कक्षको झ्यालबाट आवश्यक सेवाको लागि फाइल पेश गरिन्छ । उक्त फाइलको प्रक्रिया कार्यालयहरुका कर्मचारीहरुलेनै अघि बढाउछन् । अन्तमा जहाँ फाइल पेश गरिएको हो सोही सहायक रजिस्ट्रारको कक्षबाट सेवाग्राहीलाई फाइल उपलब्ध गराइने कार्यालयका सूचना अधिकारी गंगाधर पौडेलले बताए । सेवाग्राहीलाई छिटो, छरितो र सहज रुपमा सेवा प्रदान गर्नका साथै फाइलको सुरक्षा गर्ने उद्देश्यले उक्त प्रणाली सुरु गरिएको हो । गएका दिनहरुमा कार्यालयभित्र विभिन्न किसिमका सेवाग्राही प्रवेश गर्ने, भिडभाड बढाउने, फाइल अव्यवस्थित राख्ने लगायत समस्या हुने गरेकोले सो प्रणालीले सुधार आउने उनको विश्वास छ । ‘कागजात पुगेमा छिटाेमा १/२ घन्टाभित्रै काम बन्नेछ,’ उनले भने ‘बढीमा कामको प्रकृतिको आधारमा फाइल पेश गरेको २/३ दिन भित्र काम सिदिन्छ,’ उनले भने ‘प्रत्येक कामको लागि प्रत्येक कार्यालय सहायकहरु काममा खटिएका छन् ।’ कार्यालयका सहायक रजिस्ट्रार नारायण भट्टराईले कम्पनी सम्बन्धी अधिकांश काम ‘विन्डो सिस्टम’ अनुसार हुने बताए । उनका अनुसार कम्पनी दर्ता, दर्ता खारेज, सेयर लागत अभिलेख लगातका कामहरु हुन्छन् । ‘साे प्रणालीको कारण सेवा सहज बनेता पनि पर्याप्त जनशक्ति भएन भने समस्या निम्तिने देख्दछु,’ उनले भने । सेवाका लागि आएका कानुन व्यवसायी ज्ञानप्रसाद खनालले ‘विन्डो सिस्टम’ ले सेवा प्रवाह सहज बन्ने विश्वास लिए । कार्यालयमा भेटिएका विभिन्न सेवा ग्राहिहरुले उक्त प्रणालीले काम सहज हुने, फाइल नहराउने लगायतमा सहयोग पुग्ने बताएका छन् । यद्यपि पर्याप्त जनशक्ती जुटाउन नसके ढिलासुस्ती लागातयको समस्या अझ बढ्ने उनीहरुले सङ्का गरेका छन् ।
काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच प्रतिष्पर्धा हुने
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेका दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताएका थिए । काँग्रेसमा यतिखेर दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने चर्चा शुरु भएको छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् । महामन्त्री डा कोइरालाले संसदीय दलको नेता सर्वसम्मत हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् र उनले सर्वसम्मत भएमात्र आफू दलको नेताका लागि अघि बढ्ने स्पष्ट पारेका छन् । काँग्रेस वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले संसदीय दलको नेताको निर्वाचन भएमा सभापति देउवा सहजै निर्वाचित हुने अनुमान गरिएको छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन कार्यक्रम सार्वजनिक काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ । उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने समिति सदस्य सचिव केशव रिजालले राससलाई जानकारी दिए । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । फागुन २१ गते संसदीय दलको नेताका लागि निर्वाचन हुने र त्यसपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए । राष्ट्रियसभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा छ । त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताए । ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ जना सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । सांसदको शपथपछि मात्र संसदीय दलको निर्वाचन नयाँ सरकार गठनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्नो पार्टीका संसदीय दलका नेता चयन गरे पनि काँग्रेसले भने सांसद पदको शपथपछि मात्र संसदीय दलको नेता चयन गर्न वैधानिक हुने जिकिर गरेको छ । काँग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथ ग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र संसदीय दलको नेताको निर्वाचन गर्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसद्को पहिलो बैठक यही फागुन २१ गतेका लागि आह्वान गर्नुभएको छ । त्यसअघि संघीय संसद् सचिवालयले संघीय सांसदहरुको पद तथा गोपनीयताको शपथ फागुन २० गतेका लागि निर्धारण गरेको छ । प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ अपराह्न ५ बजे हुनेछ । उनीहरूलाई सम्बन्धित सदनका ज्येष्ठ सदस्यले शपथ दिलाउनेछन् । फागुन १३ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ‘नेपाली काँग्रेस संसदीय दलको विधान (संशोधित तथा परिमार्जनसहित, २०७४)’ लाई सर्वसम्मतले अनुमोदन गरेको थियो । साथै संसदीय दलको नेता चयन प्रक्रियाको आवश्यक गृहकार्य गर्न नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । रासस
श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी
मुम्बई । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो । दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो । सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको थियो। आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स गएकी थिइन्। सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौँथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गरेकीछिन् । रासस/एएफपी