फागुन २४ देखि सातौं अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाठौं । नेपाल उद्योग वाणिज्य महासंघले सातौं अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीको भृकुटी मण्डपमा आयोजना गर्ने भएको छ । “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मुल नारा लिई हुने मेला फागुन २४ गते देखि २८ सम्म हुने भएको हो । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै मेलामा ३ सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु रहने जानकारी दिएको छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष मेलाको आकर्षण फरक हुने महासंघको अक्ष्यक्ष भवानी राणाले बताइन । महासंघ आफ्नो विद्यान संशोधन गरी प्रादेशिक ढाचाँमा गैसकेको जानकारी दिदैं राणाले नेपाली बस्तु अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्दन गराउन भारतमा समेत व्यापार मेला सञ्चालन गर्ने  जानकारी दिइन । स्टलमा सार्क राष्ट्र सहित चीन, थाइल्यान्ड, मलेशिया लगायतका राष्ट्रहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । ३ सय स्टल मध्ये २ सय २० स्टल बुकिङ्ग भैसकेकोे छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा भवन तथा सवारी साधन सम्बन्धी छुट्टाछुट्टै स्टलहरु रहनेछन् । गत साल एक लाख भन्दा बढी मानिसहरुले अवलोकन गरेको मेलामा यो वर्ष २ लाख भन्दा बढी स्वदेशी तथा विदेशी मानिसहरुले शवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ

बनेपा । काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैंकिङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न कठिनाइ भएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता रहेको छ । जिल्लामा रहेका सात गाउँपालिकामध्ये महाभारत, खानीखोला, तेमाल, चौरीदेउराली र रोशी गाउँपालिकामा कुनै बैंक स्थापना भएको छैन । भुम्लु गाउँपालिकाको दोलालघाटमा सिन्धु विकास बैंक र बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा ग्लोबल आइएमई बैंक स्थापना भएपनि पर्याप्त सुविधा नभएकाले धुलिखेल र बनेपा धाउनुपरेको छ । चौँरी देउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले योजना सम्झौताका काम गर्न समस्या भएको उल्लेख गर्दै बैंकका कारण भएका कर्मचारी पनि कार्यालयमा बस्न नपाउने अवस्था भएको बताए । उनले भने, “अहिले पैसा राख्न र झिक्नका लागि चार दिन लाग्ने गरेको छ ।” भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलालघाटमा बैंक भए पनि प्रभावकारी नभएको जानकारी दिँदै बंगलादेश बैंकका लागि कार्यालयका तर्फबाट कोठा छुट्याए पनि अझै बैंक गाउँ नपुगेको बताए । उनले भने, “गाउँपालिकाका १०९ वटा आयोजना छन्, त्यसको सम्झौता गर्न धुलिखेल धाउनुपर्ने अवस्था छ ।” तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले बैंक नभएका कारण ठूलो सास्ती खेप्नुपरेकाले सानातिना आर्थिक कारोबारका लागि बनेपा र धुलिखेल जानुपर्ने बाध्यता रहेको बताएका छन् । उनले भने, “हाम्रो २७ करोड बजेट छ, बोधिचित्तको समेत कारोबार हुँदा रु ५० करोडको बजेट हुन्छ, तर आर्थिक सुरक्षा भएन ।” रासस

माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु

चरिकोट । दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा सोमबार बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदा ल्याउँदै मृत्यु भएको उनले जानकारी दिएका छन् । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए । रासस