ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा १ को मृत्यु

काठमाडौँ । काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ ।आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा अपरान्ह ३ः३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किएर उद्योगमा आगलागीसमेत भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रवक्ता बोगटीले बताए ।

नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने विरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं । नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनी विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ३ जना विरुद्ध विषेस अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध जग्गाबाट बिजुलीको तार हटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम मुद्दा चल्नेछ ।

पाटन दरबार क्षेत्रको अवलोकन पछि प्रधानमन्त्री ओलीले भने-पुनर्निर्माण सन्तोषजनक

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताए । पुनःनिर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनको जोड छ । सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो शुरु गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने, “पुनःनिर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जनता सबैको भूमिका छ ।” विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनःनिर्माणको अवस्थाका बारेमा नगरप्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी दिए । गृहमन्त्री अध्यक्ष हुने ‘२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति’ को व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकाका प्रमुख महर्जन रहेका छन् । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ ।