पेन्सिल किन्दा त कमिशन खाने परिपाटी छ, राष्ट्रिय गौरवका आयोजनामा कति अनियमितता भएको होला ?
काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले मेलम्ची खानेपानी आयोजनामा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका माग गरेका छन् । मंगलबार समिति बैठकमा सांसदहरु रामवहादुर विष्ट, राजेन्द्र लिंदेन, टेकवहादुर बस्नेत लगायतले सतर्कता केन्द्रको भूमिका खोजेका हुन् । उनीहरुले मेलम्चीमा यस्तो अवस्था आउँदा सतर्कता केन्द्र के हेरेर बसेको छ भन्दै प्रश्न गरे । सांसद दुर्गा पौडेलले पनि मेलम्ची र सिक्टा सिचाई जस्ता आयोजनामा सतर्कता केन्द्रको भूमिका निराशाजनक रहेको बताइन् । समिति सभापति कल्याणी खड्काले समेत सतर्कताको भूमिका गतिशील नभएको बताइन् । यहाँ पेन्सिल किन्दा त कमिशन खाने परिपाटी छ, राष्ट्रिय गौरबका आयोजनामा कति अनियमितता भएको होला ? सभापति खड्काले प्रश्न गरिन् । सतर्कताको सतर्कता खोई ? कुन आयोजनामा को दोषी हो ? सरकार र ठेकेदार को दोषी हो ? सभापति खड्काले प्रश्न गरिन् ।
रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’ जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए । सो अदालतको विसं २०७४ चैत २२ गतेको आदेशविरुद्ध २०७५ असार ५ गते सर्वोच्च अदालतमा उनी गएका थिए । चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ । सो घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट विजयी भएका थिए । चौधरीले यही पुस १९ गते सभामुख कृष्णबहादुर महराबाट शपथसमेत लिए । रासस
आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध अख्तियारको मुद्दा, १८ करोड मागदाबी
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा सोमबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले निजामित सेवामा रहँदा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दाबी सहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेक अरु व्यक्तिको नाममा समेत राखेको अनुसन्धानका क्रममा खुलेको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ । खड्कासहित उनको सम्पत्ति लुकाउने कार्यमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरेको बुझिएको छ । उनी पदमा छँदा नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थ भण्डार गर्ने जग्गा खरिदका क्रममा व्यापक अनियमितता गरेको आरोप लागेको थियो।