गगन थापाका महत्वकांक्षी योजना, पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको परीक्षण ल्याब स्थापना गर्नेदेखि कलेजो प्रत्यारोपणसम्मको योजना

काठमाडौं २२, असोज । स्वास्थ्यमन्त्री गगन थापाले महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । सार्वजनिक योजनामा देशभरका पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको प्रारम्भिक परीक्षण ल्याब स्थापना गर्नेदेखि ६ महिनाभित्र नेपालमै कलेजो प्रत्यारोपण गर्नेसम्मका कार्यक्रम छन् । मन्त्री थापाले अबको ६ महिनाभित्र नेपालमै कलेजो प्रत्यारोपणको व्यवस्था गरिने बताए । यसका लागि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले तयारी थालेको उनले जानकारी दिए । हाल कलेजो प्रत्यारोपण गर्न भारतलगायतका देश जानुपर्ने बाध्यता छ । निःशुल्क डायलसिस सेवा ६ महिनाभित्र उपत्यकाबाहिरका १८ अस्पतालमा सुरु गर्ने थापाले बताए । यसको सुरुवात धनगढीबाट मंगलबार गरिएको उनले जानकारी दिए । काठमाडौंबाहिरका अस्पतालमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग सहकार्य गरी हृदयरोग निवारण सेवा विस्तार गर्ने पनि उनले बताए । तीन महिनाभित्र थप एक सय १० सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने पनि मन्त्री थापाले बताएका छन् । सहरी स्वास्थ्यलाई ध्यान दिँदै थप ४० सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने, ६ महिनाभित्र थप दुई सय स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापनाको गृहकार्य गर्ने उनको योजना छ । ६ महिनाभित्र पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको प्रारम्भिक परीक्षण गर्न ल्याब स्थापना गर्ने मन्त्री थापाले बताएका छन् । केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्लामा गरी हाल चार सय ८५ विशेषज्ञ चिकित्सक रिक्त छन् । यसले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै मन्त्री थापाले पदपूर्तिका लागि तत्काल आवेदन खुलाउन लोकसेवा आयोगलाई आग्रह गरेको जानकारी दिए । लोकसेवाको प्रक्रिया ढिलो हुने भएमा करारमा भए पनि तीन महिनाभित्र दरबन्दीअनुसार चिकित्सक खटाउने तयारी रहेको उनले बताए । सरकारी अस्पताल सुधार गर्न मन्त्री थापाले बहिरंग सेवा बिहान १० देखि बेलुका ५ बजेसम्म अनिवार्य सञ्चालन गर्न निर्देशन दिएका छन् । यसअघि बहिरंग सेवा बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने गरेको थियो । नयाँ पत्रिका दैनिकबाट ।

चिनयाँ राष्ट्रपति बंगलादेश जाने भएपनि नेपाल नआउने, भ्रारत आउँदा नेपाल भ्रमण गर्ने अपेक्षा टर्यो

काठमाडौं २२, असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित गराउने विषयमा सरकार आफैं अन्योलमा परेको छ । सीले भारतको गोवा जाँदा वा फर्कंदा नेपाल भ्रमण गर्ने अपेक्षा गरिए पनि अहिले टरेको छ । नेपाल नआउने भन्दा पनि बंगलादेश जाने तर नेपाल नआउने चिनियाँ निर्णयले आफूहरूलाई दुस्खी बनाएको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । ‘यसले नेपालको आन्तरिक राजनीति नै अन्योलमा पारेको छ,’ उनले भने, ‘यही विषयका कारण दलहरूबीच दोहोरी चलिरहेको छ । हामी प्रयास गरिरहेका छौं । अहिले नभए पनि पुसको अन्त्यसम्म ल्याउने प्रयासमा सरकार लागेको छ ।’ चिनियाँ राष्ट्रपति सी असोज २८ मा बंगलादेशमा पुग्ने र भोलिपल्ट गोवा जाने भएका छन् । गोवा भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयका लागि सबै खाले प्रयास गर्ने उनी निकटस्थहरूले बताए । उनीहरूका अनुसार प्रधानमन्त्री भएपछि भारत भ्रमण गरेका र त्यही समयमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण तय समेत गराएका दाहालले मुलुकका राजनीतिक सन्तुलनका लागि पनि चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने चुनौती देखिएको छ । ‘चिनियाँ राष्ट्रपति सजिलै नेपाल भ्रमणमा आउने सम्भावना छैन । तर पनि दाहाल राष्ट्रपति सीले दक्षिण एसियामा पत्याएका नेतामध्ये एक भएकै कारण भ्रमणको सम्भावना अझै टरेको छैन,’ प्रधानमन्त्री निकटस्थले सुनाए, ‘नेपालको कर्मचारीतन्त्र तथा कूटनीतिक निकायमा पनि चीन मोह वा तटस्थता नहुँदा समस्या देखिएको हो ।’ सीको भ्रमण हुने विषय अन्त्य नभएकाले केही महिनामै भ्रमण हुने गरी काम गरिने अधिकारीहरूले बताएका छन् । नयाँ संविधान कार्यान्वयनका लागि नेपालमा प्रभाव राख्ने छिमेकीको सहयोग लिनुपर्ने बाध्यता भए पनि चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र एक चीन नीतिको पालना गर्दै दुवै मुलुकसँगको सम्बन्धलाई ध्यान दिएर अघि बढ्ने सन्देश प्रधानमन्त्री दाहालले दिइसकेका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सको आठौं शिखर सम्मेलनमा सहभागी हुन गोवामा पुगेकै दिन अर्थात् २९ मा दाहालले चिनियाँ राष्ट्रपति सीसँग दुईपक्षीय भेट गर्नेछन् । पर्यवेक्षक राष्ट्रको प्रतिनिधिका रूपमा प्रधानमन्त्री दाहाल ब्रिक्स सम्मेलनमा सहभागी हुने भएपछि भेट मिलाइएको हो । भेटमा सी र दाहालको मात्र पनि कुराकानी हुने अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे पनि छलफल हुनेछ । ‘दाहाल र सीको साइडलाइन वार्तामा समग्र दुईपक्षीय विषयमा छलफल हुनेछ,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने । दाहालले प्रधानमन्त्री भएको एक महिनामै भारत भ्रमण गरेका थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलगत्तै उनी चीन जाने गरी तयारी भइरहेको छ । उनको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन कोसिस गर्ने अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री दाहालले वान बेल्ट वान रोडमा नेपालको सभागिता निश्चित गर्दै चीनले उठाउँदै आएको त्रिपक्षीय सहकार्यमा आफ्नो तर्फबाट औपचारिक कुरा राख्नेसम्मको तयारीका साथ सीसँग कुरा गर्ने भएका छन् । त्रिपक्षीय सहकार्य र नेपालको विकासका लागि भारतीय नेतृत्व र चिनियाँ नेतृत्वबीच पनि कुराकानी हुने भएकाले दाहाललाई यो विषय राख्न सहजसमेत हुनेछ । त्रिपक्षीय सहकार्यमा भारतले त्यति चासो नदेखाएको बुझाइ चीनको छ । गत वर्षको महाभूकम्पपछि चीनले दिने घोषणा गरेको सहयोगको विषयमा पनि समेत छलफल हुनेछ । त्यसमा सम्झौता नै हुने गरी नेपालले तयारी गरेको परराष्ट्र अधिकारीले बताए । कान्तिपुर दैनिकबाट ।

दैनिक ६ करोड राजस्व संकलन गर्ने विराटनगर भन्सार दुई दिन मात्रै बन्द हुने, गत वर्ष एक साता बन्द भएको कार्यालय यो वर्ष सेवामा खटिरहने

काठमाडौं २२, असोज । यस वर्षको दसैंमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द हुने भएको हो । फाइल तस्बिर सर्वसाधारणको सहजताका लागि यही असोज २४ र २५ गते मात्र बन्द हुने र टीकाको भोलिपल्टदेखि कार्यालय सञ्चालनमा आउने कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । विराटनगर भन्सार कार्यालयले दैनिक करिब छ करोड रुपैयाँको राजस्व सङ्कलन गर्दै आएको छ । बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएकोे बस्नेतको भनाइ छ ।