भैपरी शीर्षकमा थप १७ अर्ब बजेट निकासा, सरकार परिवर्तनसँगै रकमान्तर गरेर पैसा बाँड्ने क्रम बढ्दो

काठमाडौं, २८ असोज । गत आर्थिक वर्षमा अर्थ मन्त्रालयले भइपरी खर्च शीर्षकबाट १७ अर्ब २ करोड रुपैयाँ रकम थप निकासा गरेको छ । गएको वर्षको बजेट मध्यावधि समीक्षासम्म ६ अर्ब ९० करोड बजेट शिर्षक बाहेकका शिर्षकमा बजेट बाडेको मन्त्रालयले असार मन्सान्तसम्म सो रकम रकमान्तर भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गएको वर्षको पहिलो ६ महिनामा विभिन्न मन्त्रालय तथा निकायबाट रू. ६३ अर्ब ७१ करोड थप बजेट माग आएको थियो । यस वर्ष पनि त्यस्तो माग आउन भने कम नभएको मन्त्रालय पदाधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार अहिले दैनिक ३०÷४० वटा थप बजेट मागका फाइलहरु आउने गरेका छन् । ‘थप बजेट माग आउन यो वर्ष पनि कम छैन’, मन्त्रालयले स्रोतले भन्यो ‘सरकार पिच्छेका स्वार्थ हुन्छ, अर्को सरकारले ल्याएको बजेट कहाँ चित्त बुझ्छ र ।’ सो अवधिमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को निर्णय अनुसार भूकम्पपीडितलाई न्यानो कपडा वितरणका लागि ६ अर्ब २ करोड रुपैयाँ निकासा भएको थियो । दैवी प्रकोप अन्तर्गतको विभिन्न सात ओटा निर्वाचन क्षेत्रका आयोजनालाई १ अर्ब ६५ करोड थप रकम विनियोजन गरेको थियो । निर्माणाधिन विभिन्न पुलहरुको कार्य सम्पन्न गर्न तथा खानेपानी तथा सरसफाईका लागि १ अर्ब ५० करोड, १ अर्ब ५० करोड रुपैयाँ थप रकम रकामान्तर भएको अर्थ मन्त्रालयको हिसाव छ । नगरपालिकामा सौर्य वत्ती अनुदान कार्यक्रमको लागि १ अर्ब रुपैयाँ निकाशा भएको छ भने अन्य विभिन्न साना, खुद्रे तथा झोले आयोजना जसले राजनीतिक स्वार्थ पुरा गर्न तथा कार्यकर्तालाई रिझाउन खर्च निकाशा गरिएको बताइएको छ । सामान्य प्रशासन, गृह, ऊर्जालगायत अन्य मन्त्रालयलाई पनि थप बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले बजेट प्रस्तुत हुनुभन्दा पहिले नै कार्यक्रमहरू तयार भइसक्नु पर्ने र पछि बनेका कार्यक्रमलाई बजेट नदिने व्यवस्था गरेसँगै थप बजेट विनियोजनको क्रम केही रोकिएको हो । थप बजेट दिने क्रम केही कम भए पनि बजेट माग भने गत आवको तुलनामा ३ गुणाभन्दा बढीले वृद्धि भएको छ । गत आवसम्म मन्त्रीको दबाबमा परेर रातो किताबमै नपरेका कार्यक्रमलाई बजेट विनियोजन गर्ने परिपाटी धेरै थियो । यस वर्ष पनि यो क्रम रोकिएको छैन । चालू आवमा सबैभन्दा धेरै बजेट माग गर्ने मन्त्रालयमा भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय रहेको छ । मन्त्रालयले रू. ४२ अर्ब बजेट माग गरेको छ । उक्त मन्त्रालयले देशैभरि सडक निर्माण गर्नको लागि सो रकम माग गरेको हो । रक्षा मन्त्रालयले विभिन्न प्रयोजनका लागि रकम माग गरेको थियो भने नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका लुम्बिनी तथा पशुपति क्षेत्र विकास गुरुयोजना कार्यान्वयनका लागि बजेट माग गरेको हो । बजेटमा नपरेका शीर्षकका लागि रकम माग गर्ने र दिने दुवै परिपाटी राम्रो नभए पनि विभिन्न दबाबका कारण अर्थ मन्त्रालय केही थप बजेट निकासा गर्न भने बाध्य छ ।

बाहिरी चक्रपथको डीपीआर ११ वर्षपछि तयार, सरकारी स्वीकृतिपछि निर्माण प्रक्रिया अगाडि बढ्ने

काठमाडौं २८, असोज । उपत्यका विकास प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । सरकारले निर्णय गरेको ११ वर्षपछि प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को डीपीआर तयार पारेको हो । ‘प्राविधिकद्वारा डीपीआर तयार गरिसकेका छौं,’ प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले भने, ‘अब सरकारले स्वीकृत गर्नेबित्तिकै चक्रपथ निर्माण प्रक्रिया धमाधम अघि बढ्छ ।’ तिहारलगत्तै बाह्य चक्रपथको सम्पूर्ण खाका सार्वजनिक गरेर भौतिक संरचना निर्माण गरिने उनले बताए । निर्माणका क्रममा जग्गा परे स्थानीयवासीले दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारि गरिसकेको उनले बताए । ‘दाबी विरोध पनि आएन,’ उनले भने, ‘सरकारले निर्देशन दिनेबित्तिकै प्रक्रिया अघि बढ्छ ।’ प्राधिकरणका अनुसार ३५ दिनको अवधिमा ५० जनाले मात्र चक्रपथ निर्माण गर्न नहुने भन्दै उजुरी दर्ता गरेका छन । निर्माणका क्रममा ७० हजार रोपनी जग्गा अधिग्रहण गरिने उनले बताए । ‘अधिग्रहण गरेको क्षेत्रमा व्यवस्थित सहर निर्माण गरिन्छ,’ उनले भने, ‘कोही विस्थापित हुनु पर्दैन ।’ प्राधिकरणको मापदण्डअनुसार बाह्य चक्रपथ क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपर्ने उनले बताए । ‘केही काम गरिराखेका छौं,’ उनले भने, ‘सहरी विकास मन्त्रालयले पहिलो चरणको काम अघि बढाउन निर्देशन दिएकाले प्रक्रिया अघि बढेको हो ।’ आर्थिक वर्ष ०५६र५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो । व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्त्वाकांक्षी योजनाका रूपमा बाहिरी चक्रपथलाई अघि सारिएको थियो । बाहिरी चक्रपथ वरिपरि वातावरणमैत्री, आधुनिक, प्रविधियुक्त र सुविधासम्पन्न बस्ती निर्माण गर्ने लक्ष्यसहित आयोजनाले काम थालेको तिवारीले बताए । बाह्य चक्रपथको सामाजिक तथा वातावरणीय अध्ययन पूरा भएको उनले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लाका ४० गाविस र ३ नगरपालिका छोएर ७१ दशमलव १० किमि लामो चक्रपथ प्रस्ताव गरिएको छ । उपत्यकाको दक्षिण र पूर्वी भूभागमा आवागमन सुविधा बढाउने र व्यवस्थित बस्ती विकास गर्ने उद्देश्यले आयोजना ल्याइएको हो । सम्पूर्ण चक्रपथ ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्नेबारे तयारी पूरा भएको समेत उनले बताए । ७ वर्षअघि अर्थ मन्त्रालयले आयोजनाका लागि करिब १० करोड र क्षतिपूर्तिमा खर्च गर्न ३ करोड रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये ९ करोड रुपैयाँ कार्यालय सञ्चालनमै सकिएको छ भने मुआब्जाका लागि छुट्याएको रकम खर्च गर्न नसकेर प्रत्येक वर्ष ‘फ्रिज’ हुँदै आएको छ । समाचार स्रोतः कान्तिपुर दैनिकबाट ।

अमेरिकामा भन्दा चीनमा बढी अर्वपति, चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति

काठमाडौं २८, असोज । अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरू बढेका छन् । धनाढ्यहरूबारे जारी वार्षिक सूचीले चीनमा अर्बपतिहरू बढेको देखाएको हो । चीनको संघाईस्थित ‘हरून’ रिपोर्टमा अमेरिकी अखबार फोब्र्सको सूचीसँग तुलना गर्दै चिनियाँ अर्बपतिहरूका नाम सार्वजनिक गरिएको छ । हरूनका अनुसार चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति छन् । प्रोपर्टी म्याग्नेट वाङ जिआनलियन सूचीमा सबैभन्दा माथि छन् । त्यसपछि अलिबाबाका ज्याक मा दोस्रो अर्बपति हुन् । बीबीसीका अनुसार चीनमा धनाढ्यहरूको मिल्दोजुल्दो सूची जारी गर्ने हरून रिपोर्टलाई विश्वसनीय नै मानिन्छ । हरूनले विगत १८ वर्षदेखि चिनियाँ अर्बपतिहरूको सूची जारी गर्दै आएको छ । यसै वर्षको सुरुमा उसले एउटा छुट्टै विश्वव्यापी सूची जारी गर्दै पहिलो पटक अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरूको संख्या बढेको जनाएको थियो । तर, उसको उक्त ग्लोबल रिपोर्टमा विश्वका सर्वाधिक धनाढ्यहरूको ‘टप २०’ मा कुनै पनि चिनियाँ परेका थिएनन् । चीनको सर्वाधिक धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा परेका वाङ जिआनलिनको व्यक्तिगत कुल सम्पत्ति ३२ दशमलव १ अर्ब अमेरिकी डलर छ । उनको कम्पनी ‘डालियन वान्दा’ अमेरिकी चलचित्र बजारमा वर्षभरि नै चर्चामा रहिसकेको छ । यसैगरी, अलिबाबाका ज्याक मा आफ्नो कुल सम्पत्ति ३० दशमलव ६ अर्ब अमेरिकी डलरका साथ दोस्रो र इन्टरनेटरअनलाइन गेमिङका सञ्चालक पोनी मा कुल सम्पत्ति २४ दशमलव ६ अर्ब अमेरिकी डलरका साथ तेस्रो धनाढ्य रहेको रिपोर्टमा छ । रियल स्टेट कम्पनी ‘बाओनेङ ग्रुप’ का याओ झेन्गुआको सम्पत्ति यो वर्ष अप्रत्याशित रूपमा वृद्धि हुँदै १७ दशमलव २ अर्ब अमेरिकी डलरका साथ चौथो स्थानमा पर्‍यो । चीनका अधिकांश अर्बपति बेइजिङ, त्यसपछि क्रमशः शेन्झेन, संघाई र हङझाउमा बसोबास गर्ने गरेको बीबीसीले जनाएको छ ।