आगामी वर्षदेखि आदिवासी दिवस सरकारले मनाउने
काठमाडौं, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षदेखि सरकार र आदिवासी जनजातिले संयुक्त रुपमा आदिवासी दिवस मनाउने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार आयोजना गरेको २२औँ आदिवासी दिवस, २०७३ को समारोहलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र सङ्घले समेत मान्यता दिएको र नेपाल त्यसको पक्ष राष्ट्र भएकाले पनि आगामी वर्षदेखि नेपाल सरकारको आयोजनामा सो दिवस मनाइने घोषणा गरेका छन् । सरकार गठनको समयमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सातबुँदे सहमति भएको र संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी, आदिवासी, जनजाति समुदायको माग सम्बोधन गर्न तीनबुँदे सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने – “संविधानको संशोधन र परिमार्जन गरेर सबै समुदायको माग सम्बोधन गरिन्छ, त्यसमा म प्रतिबद्ध छु ।” संविधानमा सबैको अपनत्व र भावनालाई सुनिश्चित गर्ने लक्ष्यका साथ नयाँ सरकार गठन गरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता सुदृढ नहुँदासम्म मुलुकले उन्नति गर्न नसक्ने बताए । आफूलाई इतिहासको महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको दोहो¥याउँदै उनले भने – “मुलुक र जनताको पक्षमा केही महत्वपूर्ण काम गरौँ भन्ने लागेको छ । त्यसका लागि सबैको सकारात्मक साथ र सहयोग जरुरी छ ।” प्रधानमन्त्रीले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि आफू प्रयत्नशील रहने स्पष्ट पारे । उनले आदिवासी, जनजातिका पक्षमा गर्न सकिने जति काम गर्न आफूले इमान्दार प्रयास गर्ने उल्लेख गर्दै भने – “संविधानमा सबैको भावनालाई समेट्न इमान्दार प्रयास हुन्छ । सबैको महत्वपूर्ण साथ र सहयोग चाहेको छु ।” कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयन गरेर थप अधिकार प्राप्तिका लागि अगाडि बढ्नु नै आजको प्रमुख कार्यभार भएको बताए । उनले आदिवासी जनजातिको पहिचान र संस्कृति गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै भने – “विश्व समुदायलाई देखाउने हाम्रो पहिचान हो, हाम्रो पहिचानमाथि विदेशी हस्तक्षेप भइरहेको छ । त्यसलाई रोक्न हामी सबैको इमान्दार प्रयास हुनु जरुरी छ ।” नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आदिवासी जनजातिलाई अधिकारसम्पन्न बनाउन सकेका खण्डमा मात्रै संविधानको सहज कार्यान्वयन हुने र मुलुक समृद्धिको मार्गमा अगाडि बढ्ने बताए । संविधानका कतिपय प्रावधानले आदिवासी जनजातिलाई अधिकार नदिएको जनाउँदै उनले सशोधनमार्फत समृद्ध बनाउनुपर्नेमा जोड दिए । सन् १९९५ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेअनुसार आज विश्वभर आदिवासी दिवस मनाइएको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष नागेन्द्र कुमाल, सांसद यशोदाकुमारी लामा, रुक्मिणी चौधरी लगायतले आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि थप सङ्घर्ष गर्नुपर्ने बताए। रासस
मालपोत अधिकृत सिवाकोटीविरुद्ध मुद्दा
काठमाडौं, २५ साउन । सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । वाग्मती अञ्चल अदालतमा नासुबाट सेवा प्रवेश गरेका सिवाकोटीले विभिन्न कार्यालयमा रहँदा हालसम्म रु एक करोड ४७ लाख ४१ हजार ६७१ गैरकानुनी रुपले आर्जन गरेको देखिएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय तोक्न माग गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले निजकी श्रीमती तारादेवीका नाममा रहेको स्रोत नखुलेको चलअचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ । रासस
हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जनाको मृत्यु
गोरखा, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जना परेका छन् । सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ ल्याइँदै थियो । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू सथए। रासस