पाँच लाख पुरस्कार राशीको फोटो प्रतियोगीतामा फोटो दर्ता सुरु
काठमाडौं, १६ असार । काठमाडौं, असार १६ । ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशीको ग्लोबल आइएमई फोटो प्रतियोगीताको फोटो दर्ता प्रक्रिया सुरु भएको छ । ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणका रुपमा आयोजना हुन लागेको प्रतियोगीताको आयोजना फोटो पत्रकार क्लब नेपालले गर्दै आएको छ । वर्ष भने भूकम्पका कारण प्रतियोगीता रोकिएको थियो । प्रतियोगीता सहभागीता जनाउन चाहने फोटो पत्रकारहरुले साउन मसान्तसम्म फोटो दर्ता गराउन सक्नेछन् । प्रतियोगिताको मुख्य विधा आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा हुने प्रतियोगितामा हालसम्म आइएमएस, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अर्घाखाची सिमेन्ट र आरजे स्पोर्टसले विधागत प्रायोजकका रुपमा सघाउने पक्का भइसकेको छ । प्रतियोगीता सात विधामा सञ्चालन हुनेछ । विजयी फोटो ग्राफरहरुलाई भदौ १५ गते पुरस्कृति गरिनेछ । सोही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ । प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढि फोटोग्राफरका १३ हजारभन्दा बढि फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा १ हजारभन्दा बढि फोटोग्राफरका ९ हजार फोटो सहभागि थिए । मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीलाई प्रायोजन निरन्तरता दिइने वचन दिए । ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्व विशेष छ । यो वर्ष हाम्रो पुरानो सम्झौताको अन्तिम वर्ष हो । तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिनेछौं,’ ढकालले भने, ‘नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई सुभकामना दिन चाहन्छौं ।’ आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहदै आएको विचार राखे ।
वार्षिक सत्तरी हजार मेट्रिक टन माछा उत्पादन
काठमाडौं, १५ असार । नेपालमा वार्षिक ७० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । मत्स्य विकास निर्देशनालयका अनुसार उत्पादित माछाको परिमाण नेपालको आन्तरिक माग भन्दा करिब २५ प्रतिशत कम हो । नेपालमा सबै मानिसको पहुँचका लागि माछा उत्पादन हुन सकेको छैन । निर्देशनालयका प्रमुख वैकुण्ठ अधिकारीले विश्वका विकसित मुलुकले वार्षिक प्रतिव्यक्ति २८ किलो माछा खाने गरेपनि नेपालमा उत्पादित माछाले वार्षिक २।५ किलो माछा उपलब्ध गरिरहेको जानकारी दिए । यस्तै अल्पविकसित मुलुकमा प्रतिव्यक्ति वार्षिक ११ किलो माछा प्रयोग गरिरहेका छन् । “नेपाललाई पनि सन् २०३१ सम्म माछाको प्रयोगका लागि अल्पविकसित मुलुकको दाँजोमा पु¥याउन माछापालन सम्बन्धी विभिन्न कार्यक्रम ल्याएका छौँ,” उनले भने । नेपालमा हाल प्रयोग हुँदै आएको माछामध्ये ७५ प्रतिशत स्वदेशमा र २५ प्रतिशत भारतबाट आयात हुने गरेको निर्देशनालयले जनाएको छ । काठमाडौँमा प्रयोग हुने माछा ६५ प्रतिशत भारतबाट तथा ३५ प्रतिशत नेपालकै विभिन्न स्थानबाट आयात गरिन्छ । नेपालको तराईमा माछा अत्यधिक मात्रामाा उत्पादन हुन्छ । काठमाडौँ उपत्यकामा वार्षिक ६५ हजार ४६० किलो अर्थात् ६५.४६ मेट्रिक टन उत्पादन हुन्छ । आव २०७१/७२ मा देशभर ६९ हजार ५०० मेट्रिक टन उत्पादन भएकामा यस आवमा ७७ हजार मेट्रिक टन पु¥याउने लक्ष्य राखिएको अधिकारीको भनाइ छ । नेपालका विभिन्न नदीनाला तथा तालतलैयामा हाल २३२ प्रजातिका माछा पाइन्छ । त्योमध्ये ११ प्रजातिका माछालाई व्यावसायिकरुपमा पालन गरिएको छ । व्यावसायिकपालन गरिएका माछामा कमनकार्प, विगहेडकार्प, सिल्भरकार्प, ग्रासकार्प, रहुकार्प, नैनीकार्प, भाकुरकार्प, टिलापिया, माङ्गुर, पङ्गास र ट्राउट रहेका छन् । उक्त माछामध्ये ट्राउट माछा चिसो पानीमा र महँगो मूल्यमा बिक्री हुने माछा हो । ट्राउट माछा नेपालको स्तरीय होटलमा प्रयोग हुँदै आएको निर्देशनालयले जनाएको छ । यसका साथै नेपालका विशिष्ट होटलमा प्रयोग गर्नका लागि तेस्रो मुलुकबाट समेत माछा भित्रिने गरेको छ । माछाको उत्पादनलाई बढाउन देशभर निर्देशनालयसहित १३ वटा फार्म सङ्लग्न रहेका छन् । यी बाहेक विभिन्न जिल्लामा जिल्ला कृषि विकास कार्यालयमा मत्स्य विकास अधिकृत र थप केही जिल्लामा प्राविधिक सहायकमार्फत काम भइरहेको छ । माछाको विकास र विस्तारका लागि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गत ९ वटा अनुसन्धान केन्द्र स्थापना गरी माछाको अध्ययन तथा अनुसन्धान भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले किसानलाई प्राविधिक सेवा दिने पोखरी निर्माण, एरियटर ९माछाको पोखरीमा अक्सिजन वृद्धि गर्ने मेसिन०, ह्याचरी ९भुरा उत्पादन गर्ने ठाँउ ० निर्माणमा अनुदान सहयोग गरिरहेको छ । नेपालको कुल ग्रार्हस्थ्य उत्पादनको एक प्रतिशत माछा क्षेत्रको योगदान रहेको छ भने कुल रोजगारमा ३ प्रतिशत रोजगार दिएको छ । नागरिकले पोषणको महत्व बुझ्दै गएको वर्तमान अवस्थामा स्वस्थ माछाको उपलब्धतामा कमी रहेको निर्देशनालले जनाएको छ । माछाको विकास र विस्तारका लागि पर्याप्त प्राविधिक जनशक्तिको कमी भएकाले सोचेजस्तो उत्पादन गर्न सकिएको छैन । रासस
एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादनको अनुगमन टोली हेटौंडामा
काठमाडौं, १५ असार । कृषि विकास मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठको नेतृत्वमा जिल्लामा संचालन भईरहेको एक गाउँ एक उत्पादन कार्यक्रम र छिट्टै संचालनमा आउने एक जिल्ला एक उत्पादन कार्यक्रमको अनुगमन हेटौंडामा पुगेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आयोजित अनुगमन टोलीसंगको छलफल कार्यक्रममा मकवानपुरमा संचालित एक गाउँ एक उत्पादन कार्यक्रमले राम्रो सम्भावना बोकेको उपसचिव श्रेष्ठले बताएका छन् । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला कृषि विकास कार्यालय मकवानपुरसंगको सहकार्यमा किवी खेतीको प्रवद्र्धन र बजारीकरणमा जोड दिंदै आएको छ । अन्तर्राष्ट्रिय बजारसंग प्रतिस्पर्धा गर्न सक्ने हेवार्ड जातको किवी विरुवाको पहिचान समयमै नभईदिंदा किवी खेती गर्ने कृषकहरुलाई भने थोरै चिन्तित तुल्याएको किवी कृषक फणिन्द्रनाथ सुवेदीले बताए । नयाँ फलको रुपमा रहेको किवीको अनुसन्धान, यसको प्राविधिक ज्ञान, प्राविधिकको कमीले विगतका दिनमा उल्लेखनीय सफलता हासिल गर्न नसकेपनि एक गाउँ एक उत्पादन कार्यक्रम लागू भएपश्चात कृषकहरुले पाएको प्राविधिक सहयोगका कारण आगामी वर्षहरुमा किवीको उत्पादन र यसको बजारीकरणमा उल्लेखनीय सफलता हासिल गर्ने किवी कृषक माधव सुवेदीले बताए । छलफल कार्यक्रम अघि संघका कार्यकारी सचिव एवम् एक गाउँ एक उत्पादन जिल्ला कार्यान्वय समितिका सदस्य सचिव विवेक मानन्धरले जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रमको संचालनदेखि हालसम्म भएका प्रगति प्रतिवेदन पेश गरेका थिए । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले मकवानपुरमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत रहेको किवी खेतीमा प्रशस्त चुनौतीहरु रहेतापनि सोही चुनौतीलाई अवसरको रुपमा प्रयोग गरे कृषकहरु सफलता उन्मुख हुने बताए । संघका अध्यक्ष न्यौपानेले किवी खेतीमा देखा परेका विविध समस्याहरुको समाधानकालागि नार्कमा किवीको अनुसन्धान गर्न आवश्यक प्रकृया अघि बढाईदिन उपसचिव श्रेष्ठलाई आग्रह गरेका थिए । संघका महासचिव महेन्द्र राउतले संचालन गरेको छलफल कार्यक्रममा मकवानपुर जिल्लामा छिट्टै संचालन हुन लागेको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत अदुवा प्रशोधन उद्योगकालागि आवश्यक गृहकार्य भईरहेको पनि अध्यक्ष न्यौपानेले जानकारी गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका कार्यक्रम अधिकृत अरुण श्रेष्ठले भ्रमणको उद्देश्यको विषयमा जानकारी गराए । छलफल कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, नेपाल अदुवा कृषक व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोपाल गौतमलगायत पदाधिकारीहरु, किवी खेती गरिरहेका कृषक समूहका सदस्यहरु, राष्ट्रिय मिडियाका संचारकर्मीहरु, स्थानीय संचारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।