‘नेपाल बैंकक फेस्टिवल २०१६’ राजधानीमा हुँदै, आयोजना असोज १४ गतेदेखि शुरु
काठमाडौं, १० असार । नेपाल बैंकक फेस्टिवलको ‘नेपाल बैंकक फेस्टिवल २०१६’ आगामी असोज १४ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । नेपाल र थाइल्याण्डबिचको द्धिदेशीय सम्बन्ध बिस्तार गर्ने लक्ष्यका साथ सो आयोजना गर्न लागेको आयोजकले बताएका छन् । सो आयोेजना सियाम लंचंग बैंककले आगामी असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म गर्न लागेको हो । नेपाल बैंकक फेस्टिवल २०१६ मा नेपाल र बैंककका गरि १ सय ५० भन्दा बढी व्यवशायिक प्रतिष्ठानहरुको सहभागिता रहने छ । नेपालका लागि थाई राजदुताबास तथा ललितपुर उधोग वाणिज्य संघ को विशेष सहयोगमा सम्पन्न हुन गैरहेको यस फेस्टिवलको मार्केटिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । शुक्रबार राजधानीमा बसेको पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदुत भुट्टि भुट्टिसेन्टले काठमाडौंमा हुन लागेको फेस्टिवलले दुई देशका बिचमा व्यवशायिक सम्बन्ध बिस्तारमा महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । राजदुत भुट्टिसेन्टले दुई मुलुकबिच अहिले कायम रहेको व्यवशायिक सम्बन्ध बिस्तार गर्दै नेपालमा थाइल्याण्डको लगानी भित्र्याउनका लागि पनि फेस्टिवलले टेवा पुर्याउने अपेक्षा गरेका छन् । साथै आफु र राजदुतावासले आपसी समन्वय गरेर नेपालको पर्यटन प्रर्बद्धनका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता पनि राजदुत भुट्टिसेन्टले जनाए । सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने फेस्टिवलमा हुने नेपाल र बैंककका व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् । विभिन्न विधाका उत्पादनहरु तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री र अन्य सामग्री फेस्टिवलको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ । फेस्टिवलमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा नेपाल र बैंककबिच पछिल्लो समय विकास भएका प्रविधि आदान प्रदान गर्न पनि फेस्टिवलले महत्वपुर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।
काबुलमा मारिएका प्रतिपरिवारलाई दश लाख रुपैयाँ राहत
काठमाडौं, १० असार । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार १० रुपैयाँ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । बैठकले अफगानिस्तानको काबुलमा यही असार ६ गते आतङ्ककारी आक्रमणमा १३ नेपालीको मृत्यु भएको घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जलिका सार्थ सबै परिवारजनमा समवेदनासहित शोक प्रस्ताव पारित गरेको छ । काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले काबुलबाट तिनको शव बुधबार नेपाल एयरलाइन्सको एयरबस चार्टर गरी काठमाडौं ल्याएर आफन्तलाई बुझाएको थियो । बैठकले काबुल घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपालीका लागि तत्काल अफगानिस्तान जान रोक लगाई श्रम स्वीकृति बन्द गर्ने र त्यहाँ रहेका नेपालीको सुरक्षाबारे अफगान सरकारसँग कूटनीतिक वार्तालाप गरी सुरक्षाको सुनिश्चितता गर्ने तथा असुरक्षित महसुस गरी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले लिबिया, इराक र सिरिया जान पूर्ण रोक लगाउने समेत निर्णय गरेको छ । उक्त घटनाबारे अन्य समग्र पक्षको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यसैगरी लगानी बोर्डको कार्यकारी प्रमुखमा महाप्रसाद अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ । सरकारले नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवका अवसरमा एक हजार रुपैयाँका दरको चाँदीको १२ ग्रामको दुई हजार थान र १०० रुपैयाँका दरले क्युप्रोलिकेल धातुको ८.५ ग्रामको चार हजार थान स्मारिका टकमरी निस्काशन गरिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री राईले बताए । बैठकले भारतीय आशिष चटर्जीले बाँके र मोहन पाण्डेले पर्सा जिल्ला प्रशासन कार्यालयबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएकामा ती नागरिकता ऐन बमोजिम रद्द गरी नेपाली नागरिकताबाट हटाउने र सो नागरिकता प्रदान गर्ने अधिकारीलाई छानबिन गरी तत्काल कारबाही गर्ने निर्णय गरेको छ । रासस
अनलाइन निर्देशिका संशोधन हुन्छ : मन्त्री राई
काठमाडौं, ९ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताएका छन् । प्रेस चौतारी नेपालले बिहीबार सो निर्देशिका तत्कालका लागि फिर्ता लिन ध्यानाकर्षण गराएपछि मन्त्री राईले अनलाइन सञ्चार क्षेत्रको मूल प्रवाहमा आइसकेको सन्दर्भमा यसलाई व्यवस्थित गर्न हाल कानुन नभएकाले निर्देशिका ल्याइएको स्पष्ट गरे। राईले निर्देशिकामा भएका संविधानको मर्मसँग बाझिएका केही बुँदाका सम्बन्धमा प्रश्न उठेकाले संशोधनका लागि गठित कार्यदलको सुझाव बमोजिम चाँडै निर्णयमा पुगिने जनाए । मन्त्रालयले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार सङ्घका अध्यक्ष रहेका कार्यदल गठन भएको छ । सरकारका प्रवक्ता राईले भने, “यो सरकार प्रेसलाई अङ्कुश लगाउन खोज्दैछ भनेर जुन ढङ्गले हल्ला मच्चाइएको छ, त्यस्तो होइन, निर्देशिका आवश्यक भएरै ल्याइएको हो, यो खारेज वा फिर्ता होइन, संशोधन हुन्छ ।” चौतारीका अध्यक्ष गणेश बस्नेतले संविधानको मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत निर्देशिका आएकाले अविलम्ब फिर्ता गरी सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले तय गर्ने आमसञ्चार नीतिभित्र अनलाइनको व्यवस्थापनको विषय राख्न माग गरे। रासस