नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुतलाई उद्योग मन्त्रीको आग्रह

काठमाडौं, १२ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुत रंजीत रायलाई आग्रह गरेका छन् । जोशीले बुधबार उद्योग मन्त्रालय सिंहदरवारमा भारतीय राजदुत राय सँगको भेटमा सो विषयमा आग्रह गरेका थिए । नेपालमा औद्योगिक विकासको अत्यन्त ठुलो सम्भावना रहेको भन्दै मन्त्री जोशीले औद्योगिक वातावरण निर्माणका लागी उद्योग मन्त्रालयले काम गरिरहेको बताए । अहिले उद्योग मन्त्रालय नीतिगत सुधारको प्रकृयामा रहेको भन्दै मन्त्री जोशीले यसका लागि छिट्टै संसदबाट औद्योगिक व्यवसाय सम्वन्धी कानूनलाई संशोधन र एकिकरण गरी बनेको विधेयक २०७१ पास गर्न लागिएको बताएका छन् । सो विधेयकले मुलुक भित्र श्रम मैत्री औद्योगिक वातावरणको निर्माण गर्ने मन्त्री जोशीले बताए । मन्त्री जोशीले उद्योग स्थापनाका लागि लाग्ने प्रकृयागत झण्झटहरुलाई समेत सरलिकृत गरी छिटो भन्दा छिटो सेवा दिने दिशामा उद्योग मन्त्रालयका सेवाहरुलाई सुधार गरिएको पनि उनले बताए । नयाँ संविधान निर्माण पछिको अवको समयलाई औद्योगिकरणका माध्यमबाट आर्थिक सम्वृद्धि हासिल गर्ने दिशामा केन्द्रीत गर्न लागिएको भन्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी सम्वन्धी विद्यमान कानूनमा समेत समसामयीक सुधार गर्न लागिएको प्रष्ट पारेका छन् । भेटमा नेपालका लागि भारतिय राजदुत रंजीत रायले लगानी प्रकृयामा देखिएका प्रकृयागत झण्झटहरुलाई समाधान गर्न सुझाव दिएका छन् । भारतमा रहेका लघु, घरेलु तथा साना उद्योगको अनुभवले नेपालका लघु, घरेलु तथा साना उद्योगको विकासका लागी फलदायी हुन सक्ने भएकाले ती संस्थाहरुबीच अनुभव आदन प्रदानका लागि काम गर्न सकिने बताए । नेपालको विकास प्रयासमा सहयोग गर्न भारत सँधै तत्पर रहेको नेपालका लागी भारतिय राजदूत रंजीत रायले बताएका छन् ।

दिल्लीले अनुमति नदिँदा उड्नै लागेको एयरवस रोकियो, १०४ जना यात्रु बोकेर एक घण्टा पर्खियो

काठमाडौं १२, असोज । दिल्लीले अनुमति नदिँदा वायुसेवा निगमको विहान ११ साढे नौ बजेको जहाज १ घण्टा भन्दा बढी समय रोकिएको छ । निगमको आरए २०५ उडान नम्बरको जहाज ११ बजे उडान तालिका भएपनि मंगलबार बेलुका दुवाई रद्द भएपनि बुधबार विहान दुई घण्टा अगाडि नै दिल्ली जाने तयारीमा थियो । उडान सयम दुई घण्टा अगाडि सारेर ९ बजे नै उडान गरेको भएपनि अनुमति नलिएको भन्दै दिल्लीले रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमको यो जहाजले यात्रु राखेर ट्याक्सी वे बाट धावनमार्गमा जानै लाग्दा दिल्लीको अनुमति नआएको र ११ बजेको निर्धारित समयमा नै उड्नुपर्छ भनेपछि एक घण्टा भन्दा बढी समय यात्रु जहाजमै राखेर प्रतिक्षामा बसेको हो । ११ बजेपछि मात्रै उडान गर्ने अनुमति पाएपछि जहाजले १०४ जना बोकेर दिल्ली गएको स्रोतले जानकारी दिएका छ । निगम स्रोतका अनुसार ११ बजेलाई अनुमति लिएको जहाज निर्धारित समय भन्दा छिटो उडाउन खोजिएको भन्दै रोकिएको उल्लेख छ । निगमको यो जहाज ठीक ११ बजे दिल्ली उडेको छ ।

चिनीयाँ जहाज एक वर्षपछि उड्न तयार, उडानसमय भन्दा ग्राउण्डेड धेरै

काठमाडौं १२, असोज । एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा चिनियाँ जहाज बल्ल नियमित उडानमा फर्कने भएको छ। निगमसँग रहेको १७ सिट क्षमतायुक्त ‘वाइ १२ ई’ सिरिजको एक मात्र जहाजका लागि चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनी लिमिटेडबाट प्रशिक्षक पाइलट पेनिटा आएपछि बुधबारबाट नियमित उडान भर्न लागेको हो। ‘लामो प्रयासपछि वाइ १२,ई जहाजले बुधबारबाट नियमित उडान गर्नेछ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार भने,‘ चीनबाट एक जना प्रशिक्षक पाइलट आएपछि जहाज उड्न तयार भएको हो। हामीसँग वाई १२ ईका १० जनाको पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन्, त्यही भएर जहाज एक वर्षदेखि थन्किएको हो।’ उनका अनुसार प्रशिक्षक पाइटल पेनिटालाई ३ महिनाका लागि करारमा नियुक्त गरिएको छ। उनले यही जहाज उडाउने को पाइलटलाई निश्चित घन्टा उडाएपछि पाइलट बनाउनेछन्। समाचार स्रोतः नागरिक दैनिक ।