सरकारी ढुकुटीमा साढे ३ खर्ब पुग्यो

काठमाडौं, १३ असार । सरकारले अत्याधिक रकम खर्च नगरी ढुकुटीमा थन्क्याएर राखेको छ । राजस्व तथा अन्य कर र शुल्कको माध्यमवाट सरकारी कोषमा जम्मा भएको रकम खर्च नगरी ढुकुटीमा थुपारिएको हो । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत जेठ मसान्तसम्ममा सरकारले आफ्नो ढुकुटीमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी रकम ढुकुटीमा राखेको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा र सरकारी खर्च थप कमजोर हुदा ढुकुटीमा रकम बढेको हो । यस्तै पछिल्लो समयमा बाणिज्य बैंकहरुमा निक्षेप पनि उल्लेख्य मात्रामा बढेको छ । सो अवधिसम्ममा बाणिज्य बैंकहरुका १ खर्ब ३२ अर्ब ४० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा पुगेर थन्किएको छ । यो दुबै गरी झण्डै साढे ३ खर्ब रुपैयाँ विना प्रयोजन सरकारी ढुकुटीमा बसेको छ ।

‘नेपाल बैंकक फेस्टिवल २०१६’ राजधानीमा हुँदै, आयोजना असोज १४ गतेदेखि शुरु

काठमाडौं, १० असार । नेपाल बैंकक फेस्टिवलको ‘नेपाल बैंकक फेस्टिवल २०१६’ आगामी असोज १४ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । नेपाल र थाइल्याण्डबिचको द्धिदेशीय सम्बन्ध बिस्तार गर्ने लक्ष्यका साथ सो आयोजना गर्न लागेको आयोजकले बताएका छन् । सो आयोेजना सियाम लंचंग बैंककले आगामी असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म गर्न लागेको हो । नेपाल बैंकक फेस्टिवल २०१६ मा नेपाल र बैंककका गरि १ सय ५० भन्दा बढी व्यवशायिक प्रतिष्ठानहरुको सहभागिता रहने छ । नेपालका लागि थाई राजदुताबास तथा ललितपुर उधोग वाणिज्य संघ को विशेष सहयोगमा सम्पन्न हुन गैरहेको यस फेस्टिवलको मार्केटिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । शुक्रबार राजधानीमा बसेको पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदुत भुट्टि भुट्टिसेन्टले काठमाडौंमा हुन लागेको फेस्टिवलले दुई देशका बिचमा व्यवशायिक सम्बन्ध बिस्तारमा महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । राजदुत भुट्टिसेन्टले दुई मुलुकबिच अहिले कायम रहेको व्यवशायिक सम्बन्ध बिस्तार गर्दै नेपालमा थाइल्याण्डको लगानी भित्र्याउनका लागि पनि फेस्टिवलले टेवा पुर्याउने अपेक्षा गरेका छन् । साथै आफु र राजदुतावासले आपसी समन्वय गरेर नेपालको पर्यटन प्रर्बद्धनका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता पनि राजदुत भुट्टिसेन्टले जनाए । सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने फेस्टिवलमा हुने नेपाल र बैंककका व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् । विभिन्न विधाका उत्पादनहरु तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री र अन्य सामग्री फेस्टिवलको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ । फेस्टिवलमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा नेपाल र बैंककबिच पछिल्लो समय विकास भएका प्रविधि आदान प्रदान गर्न पनि फेस्टिवलले महत्वपुर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।

काबुलमा मारिएका प्रतिपरिवारलाई दश लाख रुपैयाँ राहत

काठमाडौं, १० असार । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार १० रुपैयाँ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । बैठकले अफगानिस्तानको काबुलमा यही असार ६ गते आतङ्ककारी आक्रमणमा १३ नेपालीको मृत्यु भएको घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जलिका सार्थ सबै परिवारजनमा समवेदनासहित शोक प्रस्ताव पारित गरेको छ । काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले काबुलबाट तिनको शव बुधबार नेपाल एयरलाइन्सको एयरबस चार्टर गरी काठमाडौं ल्याएर आफन्तलाई बुझाएको थियो । बैठकले काबुल घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपालीका लागि तत्काल अफगानिस्तान जान रोक लगाई श्रम स्वीकृति बन्द गर्ने र त्यहाँ रहेका नेपालीको सुरक्षाबारे अफगान सरकारसँग कूटनीतिक वार्तालाप गरी सुरक्षाको सुनिश्चितता गर्ने तथा असुरक्षित महसुस गरी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले लिबिया, इराक र सिरिया जान पूर्ण रोक लगाउने समेत निर्णय गरेको छ । उक्त घटनाबारे अन्य समग्र पक्षको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यसैगरी लगानी बोर्डको कार्यकारी प्रमुखमा महाप्रसाद अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ । सरकारले नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवका अवसरमा एक हजार रुपैयाँका दरको चाँदीको १२ ग्रामको दुई हजार थान र १०० रुपैयाँका दरले क्युप्रोलिकेल धातुको ८.५ ग्रामको चार हजार थान स्मारिका टकमरी निस्काशन गरिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री राईले बताए । बैठकले भारतीय आशिष चटर्जीले बाँके र मोहन पाण्डेले पर्सा जिल्ला प्रशासन कार्यालयबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएकामा ती नागरिकता ऐन बमोजिम रद्द गरी नेपाली नागरिकताबाट हटाउने र सो नागरिकता प्रदान गर्ने अधिकारीलाई छानबिन गरी तत्काल कारबाही गर्ने निर्णय गरेको छ । रासस