अबरुद्ध भएको मुग्लिन सडक पुन दुईतर्फी सञ्चालनमा
चितवन, ८ असार । चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएपछि अहिले सवारी आवागमन सुरु भएको छ । बिहान ४ बजे खसेको पहिरो ७ः३० बजेतिर पन्छाइएको भए पनि पुनः सडकमा पहिरो खसेर अवरुद्ध भएको थियो । दोस्रोपटकको पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फीनै सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । “पहिलेको पहिरो पन्छाउने बित्तिकै फेरि अर्को पहिरो आयो, त्यो पहिरो तत्कालै हटाएर बाटो सञ्चालन गरियो” कुँवरले भने, “अहिले दुईतर्फी नै गाडी चले पनि गाडीको चाप बढी भएकाले सहज हुन अझै केही समय लाग्छ ।” बिहानदेखि अबरुद्ध भएको प्रहरीका अनुसार एकदुई घन्टामा जाममा परेका सबै सवारी गन्तव्यतर्फ गइसक्ने छन् । यहाँ दैनिक सात हजार बढी सवारी आवतजावत गर्छन् । रासस
एलपी ग्यासका दोषीउपर कारबाही गर्न सरकारलाई पत्राचार
काठमाडौं, ८ असार । राष्ट्रिय मानव अधिकार आयोगले एलपी ग्यास विस्फोट भई मृत्यु र घाइते भएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कारबाही गर्न सरकारलाई पत्राचार आग्रह गरेको छ । हालै एलपी ग्यास विस्फोट भई ललितपुर र काठमाडौँमा मृत्यु भएका तथा घाइतेलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर आवश्यक कारबाही गर्न आयोगले नेपाल सरकारलाई पत्राचार गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए । उपभोक्तासमक्ष पुग्ने सबै प्रकारका ग्यास सिलिन्डरको नियमित र प्रभावकारी गुणस्तर परीक्षण गरी अनुगमन र निरीक्षण गर्न/गराउन, उपभोक्ता हित संरक्षण नियमावली २०५६ को नियम ५५ बमोजिम एलपी ग्यास सिलिन्डरको न्यूनतम मापदण्ड तोकी सोको प्रभावकारी रुपमा कार्यान्वयन भए/नभएको अनुगमन गर्नसमेत आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार उपभोक्ता हकअधिकारको विषयमा सरोकारवाला संस्थाबीच छलफल गरी आम उपभोक्ताको स्वास्थ्यसम्बन्धी अधिकार र दैनिक जीवनमा अत्यावश्यक एलपी ग्यासको आपूर्ति र गुणस्तरको सुनिश्चितताको विषयमा चासो प्रकट गरेको छ । एलपी ग्यासजस्तो दैनिक उपभोग्य वस्तुको आपूर्ति, वितरण, नापतौल र गुणस्तरको विषयमा आम उपभोक्तामा सचेतनाको अभाव देखिएकाले सुसूचित गराउनसमेत सम्बन्धित पक्षको आयोगले ध्यानाकर्षण गराएको छ । त्यसैगरी, आयोगले आम नागरिकसँग सरोकार राख्ने स्वास्थ्यको अधिकार सम्बन्धमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसँग समेत छलफल गरी नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका विषयमा चासो राखेको छ । सो अवसरमा देशका विभिन्न भागमा हालै पक्राउ परेका चिकित्सकको सम्बन्धमा आयोगले नक्कली प्रमाणपत्रको छानबिन तथा स्वास्थ्य सेवाको शुद्धीकरणमा निर्भिकतापूर्वक लाग्न तथा सर्वसाधारणको जनस्वास्थ्यमा हेलचेक्र्याइँ हुने परिस्थिति रहन नदिन आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ । रासस
पुननिर्माणसँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौं, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापन : सिकाइ र भावी कार्यदिशा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले भूकम्पबाट भएको क्षतिलाई पुनःस्थापित र पुननिर्माण गर्ने मात्र नभई मुलुकको नवनिर्माणका लागि पनि सबै एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सरकारले आवश्यक ऐन कानुन, कार्यविधि, भौतिक पूर्वाधार र आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरे । विगतका तुलनामा सरकारले यस वर्षको बजेटमा औद्योगिक क्षेत्रमा झन्डै ८० प्रतिशत रकम वृद्धि गरेको र यो रकम साना तथा लघुउद्यमको विकासमा विनियोजन गरिने मन्त्री पाण्डेले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै सामाजिक एकीकरण र आर्थिक उन्नतिका कार्यक्रममा जोड दिए । नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले पुननिर्माणसँगै जीवनस्तरको पुनः स्थापना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै यसमा अस्ट्रेलियन सरकारले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा युएनडिपीका राष्ट्रिय निर्देशक रेनाउड मेयरले पुनर्निर्माणसँगै जनताको जीवनस्तर सुधार ल्याउन अस्ट्रेलियन सरकारको सहयोगमा १४ हजार लघुउद्यमीको व्यावसायिक क्षमता अभिवृद्धि गरिएको जानकारी दिए । सो अवसरमा युएनडिपीका सहायक राष्ट्रिय निर्देशक हिमादेवी खड्काले जीविकोपार्जन पुनःस्थापना परियोजनामार्फत २० हजार घरपरिवारमा सामुदायिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिएको बताए । सम्मेलनमा पुननिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा विष्णु भण्डारी, युएनडिपीका अर्थी पटेललगायतका वक्ताहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा विभिन्न जिल्लाका लघुउद्यमीद्वारा निर्मित हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । रासस