थप तीन हवाई रुट दिन भारत सकारात्मक, अहिलेको एउटै मात्र रुट भट्टेडाँडाको बिकल्प हुने

काठमाडौं २८, मंसिर । नेपाल आउने जहाजका लागि थप रुट दिन आनाकानी गर्दै आएको भारतल अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने संकेत गरेको छ। नेपाल र भारतबीच अर्को साता हुने बैठकमा यस्तो सुविधा प्रदान गर्न भारत सकारात्मक रेहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। आइतबारको मन्त्रिपरिषद बैठकले भारतसँग हवाई रुट तथा हवाई क्षेत्रसँग सम्बन्धित विषयमा वार्ता गर्नका लागि वार्ता टोलीसमेत पठाउने निर्णय गरेको छ । नेपाल र भातबीच २०६६ मा वार्ता भएयता स्थगित भएको थियो । हवाइ रूट खुल्न सकेमा खाडी राष्ट्रबाट नेपालमा हुने उडानको दुरी छोटीनेछ। यस्तै भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ। सात वर्षपछि हुने वार्ताका लागि भारतले नै नेपाललाई निम्तो दिएको हो। कारोबार दैनिकबाट ।

लोडसेडिङ घटाउन दलहरु नै वाधकः मन्त्री शर्मा

काठमाडौं, २७ मंसिर । उर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ घटाउने आफ्नो अभियानमा राजनीतिक दलबाट सहयोग नभइ अवरोध खडा गरिएको बताएका छन् । उनले तत्काल लोडसेडिङ अन्त्य गर्न नसकेपनि जनताको माग अनुसार लोडसेडिङ घटाउन राजनीतिक दलले सहयोग गर्नुपर्नेमा उल्टो अवरोध सिर्जना गरिरहेको बताएका हुन् । प्रधानमन्त्री कार्यालयमा ‘विद्युत चुहावट नियन्त्रण सम्बन्धी’आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री शर्माले लोडसेडिङ कम गर्ने अभियानलाई कसरी असफल पार्न सकिन्छ भनेर विभिन्न राजनीतिक दलले षड्यन्त्र गरिहेको बताए । उनले भने–‘राजनीतिक दल र तिनका केहि नेताहरु अहिले लोडसेडिङ घटाएकोमा आक्रोशित भएका छन् र स्थानिय रुपमा पनि अवरोध सिर्जना गर्ने प्रयास गरिरहेका छन् ।’ सवै जनताको घरमा विजुली बल्दा खुसी हुनुपर्नेमा यसको विपरित कुन उदेश्यले अवरोध सिर्जना गर्न खोजिएको हो भन्दै मन्त्री शर्माले भारतबाट विद्युत आयातका लागि निर्माणाधीन रक्सौल–परवानीपुर प्रसारण लाईनको काम रोक्न केहि स्थानीय राजनीतिक दलले अवरोध गरिरहेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । तर उनले कुन राजनीतिक दलले अवरोध सिर्जना गरेका हुन् भन्ने खुलाएनन् । मन्त्री शर्माले बिद्युत प्राधिकरणमा यसअघि हुने गरेको भ्रष्टाचार र कालोबजारीमा सक्रिय केहिले आफ्नो अनुकुलतामा काम नहुने देखेपछि अनावश्यक बखेडा निकाल्नुलाई आफुले सामान्य रुपमा लिएको बताए । तरपनि उनिहरु विद्युत जेनेरेशन कम्पनी निर्माण हुन नदिने षडयन्त्र गरिहेको तर्फ आफु सचेत रहेको भन्दै उनले उर्जा मन्त्रालयद्धारा स्पष्टीकरण सोधिएका प्राधिकरण संचालक लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेप्रति इंगित गर्दै अवरोध गर्नेलाई नहटाई अघि बढ्न संभव नहुने बताए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल आपूर्ति भइरहेको कुल  ९ सय मेगावाट विद्युत मध्ये २ सय ४० मेगावाट अर्थात २६ प्रतिशत चुहावट भइरहेको तथ्यांक पेश गरे । उनका अनुसार सबैभन्दा बढी ७० प्रतिशत विद्युत चुहावट जनकपुर क्षेत्रमा भइरहेको छ । रातीको समयमा जनकपुर एरियामा सतप्रतिशतसम्म विद्युत चुहावट हुने गरेको उनले दावी गरे । घिसिङले चुहावट नियन्त्रणको लागि ‘म्यासिभ’ अभियान संचालन गर्ने तयारी भइरहेको र यसको लागि सुरक्षा निकायसँग पनि समन्वय गर्ने बताए । उनले सुरक्षा निकायको समन्वयमा केही समयमै १० प्रतिशतले विद्युत चुहावट घटाउन सकिने जानकारी दिए ।

विश्वकै सबैभन्दा धेरै तौल भएकी महिला शल्यक्रियाका लागि भारत आउने

भारत, २४ मंसिर । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् । भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम (करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आउने भएकी हुन् । छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उनकी बहिनीले बताएपछि लाकदवालाले उनको उपचारका लागि इच्छा प्रकट गरेकी बताइएको छ । उनी सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उनको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उनलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उनी वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन नसक्ने छिन् । उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले एएफपी संवाददातासँग भने, “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भवभएसम्म मैले उनको उपचारमा सघाउने छु ।” अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले बताए । रासस/एएफपी