राजधानीमा हरियो तरकारीको भाउ ह्वात्तै बढ्यो, दिनहुँ बढेको मूल्यले उपभोक्ता मारमा
काठमाडौं १७, असोज । दशैं विदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य बस्तुको माग घटेको छ । विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा खुद्रा व्यवसायीहरुले बताउँछन् । तर, माग घटे पनि सर्वसाधारणले सबैभन्दा बढी उपभोग गर्ने हरियो तरकारीको मूल्य भने दिनहुँ बढिरहेको समाचार सोमबारको कारोबारमा छापिएको छ। राजधानी बाहिरबाट फर्किने सवारी साधनले सस्तो दरमा ढुवान गर्ने बेलामा समेत तरकारीको मूल्य बढ्नुलाई धेरैले अस्वभाविधक रुपमा लिएका छन्। कीर्तिपुरको एक पसलमा आइतबार बिहान रायोको साग किन्दै गरेकी सर्लाहीकी लीला तामाङ बजार मूल्य दिनहुँ बढेको देखेर हैरान भएको बताइन्। तरकारीको भाउ छोइनसक्ने गरी बढेको उनले बताइन्।
काठमाडौंमा थप बिजुली ल्याउन समस्या, उपत्यकाभित्रको वितरण प्रणाली कमजोर
काठमाडौं १७, अजोज । काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए। ‘पाँच सय मेगावाटभन्दा बढी विद्युत् ल्याऊँ भन्दा प्रणालीले धान्दैन,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ। काठमाडौं उपत्यकको पिक आवरको विद्युत् माग करिब पाँच सय मेगावाट छ । बढी मात्रमा घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले राति विद्युत्को माग सयको हाराहारीमा झर्ने प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणका लागि थानकोट–चापागाउँ–भक्तपुर लाइन निर्माण गर्न लागिएको छ। ‘यो लाइन नबनेसम्म काठमाडौं उपत्यकामा विद्युत् आउन सक्छ, तर उपभोक्ताको घरसम्म प्रवाह हुन सक्दैन,’ आयोजना प्रमुख ताराप्रसाद प्रधानले भने। २६ किलोमिटर लाइनमध्ये अहिलेसम्म १२ किलोमिटर मात्रै बनेको छ। ललितपुरको चापागाउँमा स्थानीयको अवरोधले काम रोकिएको छ। गत वर्ष भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव हुँदा उपभोक्ताले खाना पकाउनका लागि विद्युतीय उपकरण प्रयोगमा ल्याएका थिए । ओभरलोड भएपछि ट्रान्सफर्मर पड्किएका थिए, तार जलेका थिए । प्रणालीले धान्न सक्नेभन्दा बढी विद्युत् प्रवाह भएमा गत वर्षजस्तै ट्रान्सफर्मर पड्किने र तार जल्ने सम्भावना रहेको प्राधिकरणका अधिकारी बताउँछन् ।
काठमाडौं उपत्यकाका १ लाख १५ हजार घरको सर्भेक्षण
काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्भेक्षण भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्भेक्षण सम्पन्न भएको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्भेक्षण गरिएकोमा काठमाडौं उपत्यकामा भेरीफिकेसन मोडलबाट घर सर्भेक्षण गरिएको हो । सर्भेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्न क्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता सुरु हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।