अमेरिकामा भन्दा चीनमा बढी अर्वपति, चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति

काठमाडौं २८, असोज । अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरू बढेका छन् । धनाढ्यहरूबारे जारी वार्षिक सूचीले चीनमा अर्बपतिहरू बढेको देखाएको हो । चीनको संघाईस्थित ‘हरून’ रिपोर्टमा अमेरिकी अखबार फोब्र्सको सूचीसँग तुलना गर्दै चिनियाँ अर्बपतिहरूका नाम सार्वजनिक गरिएको छ । हरूनका अनुसार चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति छन् । प्रोपर्टी म्याग्नेट वाङ जिआनलियन सूचीमा सबैभन्दा माथि छन् । त्यसपछि अलिबाबाका ज्याक मा दोस्रो अर्बपति हुन् । बीबीसीका अनुसार चीनमा धनाढ्यहरूको मिल्दोजुल्दो सूची जारी गर्ने हरून रिपोर्टलाई विश्वसनीय नै मानिन्छ । हरूनले विगत १८ वर्षदेखि चिनियाँ अर्बपतिहरूको सूची जारी गर्दै आएको छ । यसै वर्षको सुरुमा उसले एउटा छुट्टै विश्वव्यापी सूची जारी गर्दै पहिलो पटक अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरूको संख्या बढेको जनाएको थियो । तर, उसको उक्त ग्लोबल रिपोर्टमा विश्वका सर्वाधिक धनाढ्यहरूको ‘टप २०’ मा कुनै पनि चिनियाँ परेका थिएनन् । चीनको सर्वाधिक धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा परेका वाङ जिआनलिनको व्यक्तिगत कुल सम्पत्ति ३२ दशमलव १ अर्ब अमेरिकी डलर छ । उनको कम्पनी ‘डालियन वान्दा’ अमेरिकी चलचित्र बजारमा वर्षभरि नै चर्चामा रहिसकेको छ । यसैगरी, अलिबाबाका ज्याक मा आफ्नो कुल सम्पत्ति ३० दशमलव ६ अर्ब अमेरिकी डलरका साथ दोस्रो र इन्टरनेटरअनलाइन गेमिङका सञ्चालक पोनी मा कुल सम्पत्ति २४ दशमलव ६ अर्ब अमेरिकी डलरका साथ तेस्रो धनाढ्य रहेको रिपोर्टमा छ । रियल स्टेट कम्पनी ‘बाओनेङ ग्रुप’ का याओ झेन्गुआको सम्पत्ति यो वर्ष अप्रत्याशित रूपमा वृद्धि हुँदै १७ दशमलव २ अर्ब अमेरिकी डलरका साथ चौथो स्थानमा पर्‍यो । चीनका अधिकांश अर्बपति बेइजिङ, त्यसपछि क्रमशः शेन्झेन, संघाई र हङझाउमा बसोबास गर्ने गरेको बीबीसीले जनाएको छ ।

कतारमा कामदारलाई कानुन खुकुलो, रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ कानुन लागू हुने

काठमाडौं २८, असोज । कतारमा रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कतारमा काम गर्ने, बस्ने र घर फिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ । यसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो । कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्षसम्म अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाए लगत्तै कतार जानेबाटो खुल्नेछ । नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् । तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ । उक्त मितिदेखि कानुन कार्यान्वयनमा आउने सार्वजनिक जानकारी दिन व्यापक प्रचारप्रसार गरिने कतारी समाचार समिति (क्यूएनए) ले जनाएको छ । नयाँ स्पोन्सरसिप कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न कतारले गैरकानुनी रूपमा बस्दै आएका कामदारका लागि तीन महिने आममाफी दिइसकेको छ । आममाफीको अवधि डिसेम्बर १ बाट सकिँदैछ । समाचार स्रोत कान्तिपुर दैनिक ।

कालिकोटका वासिन्दको दसैंको आसिक, बालविवाह अन्त्य होस्

काठमाडौं २८, असोज । दसैंमा विशेष गरी दीर्घायु र सुखसमृद्धिको आशिष दिइन्छ । तर, कालिकोटमा यसपालि फरकखाले आशिष दिइयो । महिला हिंसाविरूद्धको अभियानस्वरूप सरोकारवालाले बालविवाह न्यूनीकरणका शुभकामना आदानप्रदान गरे । उनीहरूले आफन्तलाई आशिष दिए, ‘कसैले बालविवाह नगरून्, छोरीचेलीले अकालमा ज्यान गुमाउनु नपरोस्, बालविवाह अन्त्य होस् ।’ २०७५ सालभित्र कालिकोटलाई बालविवाह मुक्त जिल्ला बनाउन अघि सारिएको रणनैतिक योजना पूरा गर्न गाउँगाउँमा अभियान सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत जिल्लाका ३० मध्ये जुविथा, सुकाटिया, छाप्रे, मान्म, दाहा, पाखा, कालिका, रकु र राचुली गरी ९ गाविस बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला बालकल्याण समिति महिला विकास अधिकृत सीता थापामगरले बताइन् । अन्य गाविसमा पनि गाउँ बाल संरक्षण समितिमार्फत अभियान चलिरहेको उनले जानकारी दिइन् । कान्तिपुर दैनिकबाट ।