नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीर्घबहादुर अर्याल नियुक्त भएका छन् । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओको पदमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ ३ गतेदेखि लागु हुनेगरी ४ वर्षको लागि नियुक्ति गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालले लिए सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले शुक्रबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् । अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष दाहाललाई हिजो जिम्मेवारी दिएको हो । अध्यक्ष दहाल अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्यसमेत हुन् । कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिए । उनले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै आफूले सकेसम्म दीर्घकालीन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गरे । अध्यक्ष दाहालले भने, ‘बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकतिको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ ।’

सागर ढकाल बने स्टक ब्रोकर एसोसीएसनको अध्यक्ष, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो । सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाििचत भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन् ।