शिखर इन्स्योरेन्सको सीईओमा पुन: पाण्डे, २० वर्षदेखि निरन्तर कार्यकारी प्रमुख

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पाण्डे विगत २० वर्षदेशि कम्पनीको सीईओ रहँदै आएका छन् । उनी २०६१ सालदेखि शिखरको सीईओ बन्दै आएका हुन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लालबहादुर थिङ

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको हो । थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । यसअघि त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिइएको थियो । तर, बैंकले करिब १८ महिनापछि सीईओ पाएको हो ।

गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीका कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको असोज १८ गते बसेको सञ्चालक समिति बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको वरिष्ठ प्रबन्धक दिपक न्यौपानेले जानकारी दिए । सहायक महाप्रबन्धक रहेका श्रेष्ठले असोज २३ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सम्हालेका हुन् । यस्तै, ४ वर्ष नपुग्दै कम्पनीबाट बाहिरिएका सन्तोष कुमार घिमिरेले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ । वि.सं २०७८ माघ १९ गते कम्पनीको सीईओमा नियुक्त भएका घिमिरे ४ वर्षे कार्यकाल पुरा नहुँदै कम्पनीबाट बाहिरिएका हुन् ।