अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा राति १२ बजेदेखि नाका बन्द हुने
काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राती १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सोहीअनुसार नै आइतबार राती १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मको लागि अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो । उनले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आज राती १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरे बमोजिम सीमा नाकाहरु बन्द रहनेछन् ।’ आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्वन गरिरहेको जनाएको छ ।
दुई पटक मतदान गरे २५ हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले एकपटक भन्दा बढी मतदान गर्ने मतदातालाई कारबाही गर्ने भएको छ । एकभन्दा बढी पटक मतदान गर्ने व्यक्तिलाई मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने आयोगले जनाएको छ । ‘कुनै पनि मतदाताले एउटै निर्वाचनमा एक पटकभन्दा बढी मतदान गर्न पाइँदैन,’ आयोगले भनेको छ ।
प्रतिनिधि सभा निर्वाचन : १ हजार ८६५ उम्मेदवारले खोले बैंक खाता
काठमाडौं । निर्वाचन प्रयोजनका निम्ति १ हजार ८६५ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आजसम्ममा १ हजार ८६५ उम्मेदवारले खाता खोलेको विवरण प्राप्त जानकारी भएको बताए । उनका अनुसार १ हजार ५४१ उम्मेदवारले अझै बैंक खाता खोलेका छैनन् । १ सय ६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ११ दलले बैंक खाता खोल्न सिफारिस लगेको आयोगले जनाएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।