प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगले तोकेका छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे ।      भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।   

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔँ’

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई विशेष अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले छुट्टाछुट्टै सन्देश जारी गर्दै निर्वाचनलाई सफल बनाउन शतप्रतिशत मतदानको आह्वान गरेका हुन् ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यो निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे । गत भदौमा विकसित विषम परिस्थितिपछि हुन लागेको यो आकस्मिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे । निर्वाचन आयुक्त डा. तुलाधरले असल व्यक्तिको चयनका लागि मतदान अनिवार्य रहेको उल्लेख गर्दै समयमै मतदान केन्द्र पुग्न आग्रह गरिन् । निर्वाचनलाई मितव्ययी र विश्वासिलो बनाउन सबै पक्षको उत्तिकै दायित्व रहने बताउँदै उनले राजनीतिक दल, सुरक्षा निकाय र कर्मचारीहरूलाई सहयोगका लागि अपिल गरिन् । निर्वाचन आयुक्त जबराले मतदातालाई ‘अल्छी नगरी’ मतदान केन्द्रमा जान र मताधिकारको १०० प्रतिशत प्रयोग गर्न आग्रह गरे। निर्वाचनको समयमा झैझगडा र आरोप–प्रत्यारोप नगरी शान्तिपूर्ण वातावरण कायम राख्न उनले अनुरोध गरे। योग्य उम्मेदवार छनोट गरी देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उनको भनाइ थियो । आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रतिनिधिमुलक शासन व्यवस्थाको आधारशिला नै निर्वाचन भएको भन्दै आयोगले कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित नभई आफ्नो विवेक प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । 

निर्वाचन सुरक्षामा सेनाको हाई अलर्ट : पाँच ठाउँमा हेलिकोप्टर र तीन वटा जहाज

काठमाडौं । नेपाली सेनाले निर्वाचनलाई लक्षित गरेर सुरक्षा दिन पाँच ठाउँमा हेलिकोप्टर राखेको छ । धनगढी, सुर्खेत, पोखरा, काठमाडौं र इटहरीमा हेलिकोप्टर राखेको हो । निर्वाचन सुरक्षालाई ध्यान दिँदै तयारी रहेर हाई अलर्टसहित नेपाली सेना विभिन्न ठाउँमा जहाजसहित आवश्यक तयारी सहित बसेको सूचना अधिकारी राजाराम बस्नेतले बताए । हेलिकोप्टर सबै प्रदेशलाई लक्षित गरेर राखिएको उनको भनाइ छ । त्यसैगरी, सेनाको जहाज विराटनगर, सुर्खेत र काठमाडौंमा राखिएको उनले जानकारी दिए । देशभर निर्वाचन सुरक्षा गस्तीका लागि भनेर ७९ हजार ७ सय नेपाली सेना परिचालन गरिएको बस्नेतले जानकारी दिए । ‘जिल्ला निर्वाचन सुरक्षा समितिले आवश्यकता अनुसार सैनिक परिचालन गर्नेछन्,' उनले भने, 'मतदानस्थल र मतदानको केन्द्रको अवस्था हेरेर कति सेनाको संख्या निर्धारण गरेर परिचालन हुनेछन् ।'