सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अभियान
काठमाडौं । कपाल र आत्मविश्वासको उत्सव मनाउँन सन्सिल्कले ‘सन्सिल्क भाइब्स’ अभियान ल्याएको छ । सन्सिल्क दशैं भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले नयाँ सन्सिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको हो । यो अभियान असोज ११ देखि सुरु भई मङ्सिरसम्म चल्ने कम्पनीले जनाएको छ । यसले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू चाडपर्व होस् या दैनिकी, सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुनेछ । नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् । कम्पनीको यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ । र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउनेछन् । कम्पनीकोअनुसार प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्रामरफेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो ।
दशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन् चाड पनि रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी… गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दशैं उमङ्ग लिएर भित्रिदैन । कसैका लागि दसैँ कहर बनेर आइपुग्छ । कोहीका निमित्त रहर । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ । गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दशैंगीत ‘रित्तो भकारी…’ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडवाड कसरी दशा बनेर आइपुग्छन् भन्ने देखाउँछ । शब्द, सङ्गीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ । गीतले भन्छ – ‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि दुई पैसा कहीँबाट छैन आम्दानी दशैं आइसक्यो रित्तो गोजी, रित्तै छ भकारी परान खाइसक्यो…’ गायक खत्रीलाई दशैंगीतका पर्याय भन्दा अतियुक्ति नहोला । ‘रित्तो भकारी…’ उनको सत्रौँ दशैंगीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा दशैंगीत सार्वजनिक गर्दै आएकी छन् । उनको पहिलो दशैंगीत ‘सुनको जलप…’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । ‘यसपालिको दशैंगीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’, उनले भनिन् । सत्र वर्षका अन्तरालमा पनि खत्रीका हरेक दशैंगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् । मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दशैंगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन् । ‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भनिन्, ‘दशैंगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दशैं आउँछ भनेर रमाइलो ढंगले प्रेरित पनि गर्नुहुन्छ ।’ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दशैं, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । गत वर्षको दशैंमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए । त्यसअघि उहाँका ‘दशैं–तिहार सँगै मनाउँला…’, ‘रिनै रिनको…’, ‘दशैंमा आउ प्यारा…’, ‘जहाजको टिकट…’, ‘कति रुनी हो…’लगायत गीत सार्वजनिक भएका थिए । दशैंगीतमा उनले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आएका छन् । प्रायः सबै गीतमा शब्द र संगीत पनि गायक खत्रीकै रहेको छ । दशैंको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दशैंगीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दशैंगीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दशैंले गाउँघरमा ल्याउने रौनकको चित्रण छ । गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दशैं आयो…’ गीतमा दशैंमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ । परदेशी भन्छन् – ‘मनमा खुसी उमंग छाउँदैछु पाँच वर्षपछि म नेपाल आउँदैछु आयो है दसैँ आयो नाच्न र गाउन रमाउन मन लाग्यो…’ घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् – ‘भित्ताको पात्रो फेरेको फेरै छु तिम्रै मूलबाटो हेरेको हेरै छु आयो है दशैं आयो नाच्न र गाउन रमाउन मन लाग्या…’ वर्षौँपछि दशैंमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दशैंमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैँगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दशैंमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ – ‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो यो साल पनि आइन घर यस्तै भो दशैँ आयो तिहारै आयो परदेशी हरायो…’ दशैंका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ – ‘प्यारा तिमी हङकङ मलाय यता घर जमारा पलाए दशैं आयो तिहारै आयो…” गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि…’ गीतलाई पनि दर्शक/स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ…’ ल्याएका छन् । गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको…’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दशैंगीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् । ‘सम्झाना गाउँघर…’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ – ‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड आइहाल्यो चाडबाडको लर्को आइहाल्यो सम्झना गाउँघरको…’
असोज ११ गतेबाट हलमा चलचित्र आँखा, युट्युबमा ट्रेलर रिलिज
काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले भावनात्मक रूपमा उठान गरेको आयोजकले बताएको छ । असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आँखा’ लाई जौन योन्जनले लेखन तथा निर्देशन गरेका हुन् । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक योन्जनले सिनेमाको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । भुइँमान्छेको कथा प्रस्तुत गरिएको ट्रेलरमा फोहोरमा राजनिति र दुई वर्गबिचको खाडल देख्न सकिन्छ । चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहताले यसै चलचित्रमार्फत् डेब्यु गरेका छन् । उनले यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए । रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए । उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्तेमा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओर्कसप दिएका थिए । आयोजकका अनुसार लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छायाङ्कन आलोक शुक्लाको रहेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पतिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई सिनेमाको कथावस्तु बनाइएको छ ।