शाहरुखको सबैभन्दा कम बजेटको फिल्म ‘डंकी’

एजेन्सी । बलिउडका सन् २०२३ मा पठान र जवानपछि शाहरुख खानको तेस्रो फिल्म डंकी रिलिज हुने तयारीमा छ । जसको पहिलो गीत ‘लुटपुट गया’ हालै रिलिज भएको थियो । फ्यानहरूले यसलाई ब्लकबस्टर भनेका छन् । तर, के तपाईलाई थाहा छ डंकी जवान र पठान जस्तो उच्च बजेटको फिल्म होइन । बरु, यो शाहरुख खानको ६ वर्षमा सबैभन्दा कम बजेटको फिल्म हो, जसले रिलिजअघि नै कीर्तिमान बनाएको छ । शाहरुख खान स्टारर डंकी, जसमा तापसी पन्नु र विक्की कौशल महत्वपूर्ण भूमिकामा छन् । यो फिल्मको बजेट ८५ करोड भारु रहेको बताइएको छ । वास्तवमा पिंकभिल्लाको रिपोर्टका अनुसार यो शाहरुख खानको पछिल्लो ६ वर्षमा सबैभन्दा कम बजेटको फिल्म बनेको छ । जहाँ ‘जब ह्यारी मेट सेजल’ ९० करोडको बजेटमा बनेको थियो । त्यस्तै ‘रईस’ ९०–९५ करोडमा बनेको थियो । बाँकी ‘जीरो’ २ सय करोड, ‘पठान’ २ सय ४० करोड र ‘जवान’ ३ सय करोडको ठूलो बजेटमा बनेको थियो । तर, डकीकों ८५ करोडको बजेटमा कलाकारको शुल्क भने समावेश गरिएको छैन । एक मिडिया रिपोर्टका अनुसार फिल्मका निर्देशक राजकुमार हिरानीले ७५ दिनमा फिल्मको सुटिङ पूरा गरेका छन् । जसमध्ये शाहरुखले ६० दिनको छायांकन गरेका छन् । पठान र जवानपछि डिंकी पनि ब्लकबस्टर हुने अपेक्षा गरिएको छ । किनभने पठानले विश्वभरि १ हजार करोडभन्दा बढी कमाइ गरे पनि सेप्टेम्बर ७ मा रिलिज भएको ‘जवान’ विश्वभरि १ हजार १ सय ५० करोड रुपैयाँ कमाउने पाँचौं र अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ। तर, प्रभास स्टारर फिल्म सालर–सीजफायर १ बक्स अफिसमा डंकीसँग प्रतिस्पर्धा गर्न तयार छ, जुन २१ डिसेम्बरमा रिलिज हुनेछ ।

डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले १० लाख पाउने

काठमाडौं । ‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने तय भएको छ ।  लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने कम्पनीले जानकारी दिएको हो । गत असोज १ देखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।  यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बनि नगद रु दश लाख पाउनेछन् । यस्तै मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने कम्पनीको भनाइ छ । यसअघि हरेक हप्ता सुपरस्टार बनि नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा भइसकेको छ ।  डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी,  र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने कम्पनीले जनाएकाे छ ।

दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी पाइएको छ । गत दसैँमा जस्तै दर्शक नेपाली चलचित्र हेर्न आउनुभयो, तिहारमा पनि त्यही देखिएको छ”, वितरक श्रेष्ठले भने । दसैँ लक्षित गर्दै चलचित्र भवनमा प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’ ले बक्सअफिसमा पनि राम्रो व्यापार गरेको छ । तिहारलाई लक्षित गर्दै प्रदर्शन गरिएको चलचित्र ‘दिमाग खराब’ ले पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र भवनसँगै ओटिटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । नेपालमा युट्युब, डिसहोम, सिनेमा घर, भिडियो पसललगायत एप्लिकेसनमार्फत केही प्रतिक्षित चलचित्र दर्शकमाझ ल्याइयो । सिनेमा घर एपमार्फत चलचित्र ‘जारी’ प्रदर्शन गरियो । डिस होममार्फत ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लिला’, ‘प्रेम गीत ३’, ‘चिसो मान्छे’ र ‘झिँगेदाउ’ प्रदर्शन गरियो । यस्तै, ‘कान्तिपुर सिनेमाज’ मार्फत चलचित्रतर्फ ‘ज्याकी ः आइएम ट्वान्टी वान’, ‘जुलेबी’ र ‘म’, ‘ची मुसी ची’, शृङ्खलातर्फ ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रह्माण्ड’, छोटो चलचित्रतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ प्रदर्शन गरिएको छ । यसका सञ्चालक प्रकाश पुरीले दर्शकको सङख्या राम्रो देखिएको जानकारी दिए । “हामी दर्शकको अपेक्षाअनुसार कन्टेन ल्याउने छौँ । त्यही तयारीअनुसार सुरु गरेका छौँ”, सञ्चालक पुरीले भने । दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनाका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्ने गरेको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् । रासस