कालो अक्षर, रातो अक्षर : वर्तमान शिक्षा प्रणालीको ऐना
काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ‘कालो अक्षर, रातो अक्षर’ नामक नाटक प्रदर्शन गरिरहेको छ । अनेरास्ववियुले असोज १७ देखि २७ सम्म काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक प्रदर्शन गरिरहेको हो । नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरूको चलखेलको विषय समेटिएको छ । वर्तमान शिक्षा प्रणालीका समस्या, त्यसमा विद्यार्थी नेताहरुले गरिरहेको आन्दोलन र त्यो आन्दोलनलाई असफल पार्न शिक्षा माफिया र राजनीतिक दलका उच्च पदस्थ नेताहरुको साँटगाँठका विषय प्रष्ट गर्न खोजिएको छ । आन्दोलनबाट कुनै पार नलागेपछि कामको खोजीमा भौतारिँदै विदेशिने विद्यार्थीको मार्मिक कथावस्तु पनि नाटकमा देखाइएको छ । नाटकका लेखक आरके रोमसले देशको वर्तमान शिक्षा प्रणालीमा भइरहेको बेथिती, त्यसमा विद्यार्थीहरुले उठाएको आवाज र विद्यार्थीको आवाजलाई दबाउन खोज्ने पात्र र प्रवृतिको विषय नाटकमा देखाउन खोजिएको बताए । उनले विद्यार्थीहरुले देशमा जति नै क्रान्ती तथा आन्दोलन गरेपनि त्यो आन्दोलन तुहाउन अनेकौं प्रयासहरु हुने र अन्नतः विद्यार्थी निराश हुँदै आफ्नो भविश्य खोज्दै विदेशिन बाध्य हुने वर्तमान परिपाटीलाई जस्ताको त्यस्तै नाटकमा देखाउने प्रयास गरिएको धारणा राखे । कुनै र कसैमाथि कुनै पूर्वाग्रह नराखेर नाटक मञ्चन भएको उनको भनाइ छ । नाटकमा केही विद्यार्थीहरु शिक्षा माफियाकै साँटगाँठमा लागेर बिचमै क्रान्ति छोडेको विषयवस्तु पनि देखाइएको छ । तर, केही विद्यार्थीहरु भने आफ्नो कर्ममा नियमित लागेको देख्न सकिन्छ । अधिकांश राजनीतिक दलका नेताहरुले पनि नाटक हेरिरहेका छन् । उनीहरुले पनि ‘कालो अक्षर, रातो अक्षर’ नाटक वर्तमान शिक्षा प्रणालीको ऐना रहेको प्रतिक्रिया दिने गरेका छन् । नाटकमा लेखन आर के रोमस , परिकल्पना समिक बडाल र निर्देश दिलीप खड्का र सह–निर्देशक खिलकुमार राईको रहेको छ । नाटकमा अनुप न्यौपाने, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनु नाथ योगी, रमिला मोक्तान, संगिता थापा, सञ्जिब राई, सुजैन सिलवाल, सुदिप खड्का र शान्ता मोक्तानलाई कलाकारको भूमिकामा देख्न सकिन्छ ।
डिशहोममा नयाँ नेपाली फिल्मको मेला, चलचित्र छक्का पञ्जा ४ प्रदर्शनमा
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन् । अहिले दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र छक्का पञ्जा ४ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज १९ गते देखि प्रदर्शन भईरहेको कम्पनीले जनाएको छ । प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोबाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बाेनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा एक हजार रुपैयाँमा वा सो भन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बरावरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिने कम्पनीले जनाएको छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
काठमाडौं । वि.सं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । वि.सं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ । सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । “त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पर्थ्यो”, उनले भने । मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उनले भने । उनको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ ।