डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे अब निशुल्क हेर्न पाईने
काठमाडौं । डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे निशुल्क हेर्न पाईने भएको छ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सकिने कम्पनीले जनाएको छ । गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । साथै, गोल्भ डट डिसहोम डट कम एनपीमा लगइन गरेर ल्यापटप तथा कमप्युटर मा समेत चलाउन सकिन्छ भने एनरोइड टिभिको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सकुल्सीप कन्टेन्टहरु पनि उपलव्ध रहेको छ ।
अभिभावकहरुले एकपटक हेर्नैपर्ने चलचित्र ‘तारे जमीन पर’
काठमाडौं । जब अभिभावकहरुबीचमा आफ्ना बालबालिकाहरुको पढाइको बारेमा उत्प्रेरणामुखी चलचित्रको विषयमा कुराकानी हुन्छ तब अवश्य पनि हिन्दी चलचित्र ‘तारे जमीन पर’को अवश्य पनि नाम आउँछ । सन् २००७ मा प्रदर्शनमा आएको सो चलचित्र बलिवुडका नायक अमिर खानको उत्कृष्ट चलचित्र मध्येमा पर्छ । चलचित्र तारे जमीन पर करोडौं दर्शकहरुले हेरे तर सिमित व्यक्तिहरुले मात्रै सो चलचित्रको शन्देशलाई ग्रहण गरेको अनुमान गरिएको छ । सो चलचित्रमा संघर्ष, सफलता, जीवन र शिक्षकको जीवनको विषयमा निकै सन्देशमूलक विषय रहेका छन् । आफ्ना बालबालिका विद्यालयमा पढाउन शुरु गरेका वा पढाइरहेका अभिभावकहरुका लागि यो चलचित्र निकै उपयोगी एवं सन्देशमूलक रहेको छ । एक सही शिक्षकले विद्यार्थीको जीवन नै बदल्न सक्छ तारे जमीन पर चलचित्रले पहिलो सन्देश शिक्षकको महत्वको बारेमा दिएको छ । हामी धेरैले विद्यालय तथा कलेज जीवनमा शिक्षकको महत्वको विषयमा अवश्य पनि निवन्ध लेखेका छौं । सायद त्यो निवन्ध केवल परीक्षाको लागि मात्रै बनेको छ । विद्यार्थीसँग भएका हिनतावोधका भावनाको जिम्मेवार वास्तवमा शिक्षक नै हुन् । कतिपय विद्यार्थी शिक्षकको डरका कारणले विद्यालय जान नचाहने र शिक्षकबाट नै मुक्त हुन चाहेका हुन्छन् । सही शिक्षकको अर्थ निश्चित रुपमा फरक हुन्छ, शिक्षकहरुले यो मान्न अनिवार्य हुन्छ की उनीहरु विद्यार्थीको दोस्रो आमाबुवा हुन् । एक विद्यार्थीको समस्यालाई बुझेर समाधान गर्नुको सट्टा उसमा हिन भावना भर्ने व्यक्ति अवश्य पनि शिक्षक हुन सक्दैनन् । एक वास्तविक शिक्षक त्यो हो जसले विद्यार्थीको अद्वीतीय क्षमतालाई कमजोर नठानेर सम्मान गर्न सक्छ । चलचित्र तारे जमीन परले एक शिक्षकले विद्यार्थीलाई अँध्यारोबाट उज्यालोमा लैजान सक्षम हुन्छ, तर शिक्षकमा त्यो विषयमा सोच्ने इच्छा र क्षमता हुनुपर्छ भन्ने सन्देश दिएको छ । साथै चलचित्रले एक सही शिक्षकले आफ्ना सम्पूर्ण विद्यार्थीका फरक क्षमताहरुलाई सम्मानपूर्वक हेर्ने गर्छ भनेर सन्देश दिएको छ । हरेक बालबालिका खास हुन्छन् यो उपशिर्षक आफैँमा असाधारण रहेको छ ‘हरेक बालबालिका खास हुन्छन्’ । तर, यसको वास्तविकता हर कोही व्यक्तिले बुझ्न र ग्रहण गर्न सक्दैन । कोही बालबालिकाले विद्यालयको सिमित कक्षामा कति अंक प्राप्त गरेको छ भनेर उसलाई मूल्यांकन गर्नु अवश्य पनि न्यायसंगत हुँदैन । जस्तो ३० जना विद्यार्थी भएको एउटा कक्षाकोठाको एकजना विद्यार्थी भौतिक विज्ञानको शिक्षक हुनसक्छ, अर्को विद्यार्थी विश्वस्तरीय कलाकार हुनसक्छ भने अर्को विद्यार्थी उत्कृष्ट लेखक बन्न सक्छ । एकपटक विद्यार्थीमा भएको अन्तरनिहित रुचीको क्षेत्रमा अगाडि बढ्न अभिभावक, शिक्षक र समाजले साथ दिने हो भने सोचौं की विद्यार्थीले कति प्रगति गर्न सक्छ होला ? यस्तो वास्तविकता हाम्रो शैक्षिक क्षेत्रमा कार्यान्वयन हुन सकिरहेको छैन । तारे जमीन पर चलचित्रको मुख्य पात्र इशानलाई परम्परागत रुपमा पढ्न लेख्नमा कत्तिपनि रुची हुँदैन, तर उनी वास्तवमा निकै सिर्जनशील विद्यार्थी हुन् । रुचीलाई पेशा बनाउँदा नै सफल हुन सकिन्छ चलचित्र तारे जमीन परले हामीलाई आफ्नो रुचीलाई पछ्र्याउन सिकाएको छ । यदि हामीले हाम्रो रुची अनुसारको क्षेत्रलाई पेशा बनाउन खोज्यौं भने हामी निकै उत्कृष्ट हुन सक्छौं भन्ने विचार यो चलचित्रले दिएको छ । चलचित्रमा अभिनेता आमिर खानले पनि आफ्नो पढाउने रुची अनुसार शिक्षक पेशालाई रोजेर आफूलाई उत्कृष्ट शिक्षकको रुपमा प्रस्तुत गरेका छन् । रुचीलाई पेशा बनाउन खोज्दा कठिनाई पनि आइपर्छन्, कैयौंपटक आफैप्रति अविश्वास समेत पैदा हुन्छ । तर, यदि तपाईंले आइपर्ने समस्याहरुलाई हल गर्न सक्नुभयो भने तपाईंले ती सबै गर्न सक्नुहुन्छ, जो तपाईंले आफ्नो जीवनमा गर्न चाहनुभएको थियो । अभिभावकहरुले ‘ख्याल’को परिभाषा बुझ्न जरुरी चलचित्र तारे जमिन परले दिएको एउटा महत्पूर्ण सन्देश भनेको अभिभावकले बालबालिकालाई प्रदान गर्ने अभिभावकत्वको विषयमा हो । अभिभावकहरुले आफ्ना बालबालिकालाई दुई छाक खान दिएर कैयँन गाली दिइरहेका हुन्छन् । फेरि उनीहरुले भनिरहेका हुन्छन् की उनीहरु आफ्ना बालबालिकाहरुको ख्याल गरिरहेका छन् । दुई छाक खाना बालबालिकालाई दिनुभन्दा धेरै ठूलो विषय वास्तविक अभिभावकत्वको बारेमा बुझ्नु हो । जुन सन्देश चलचित्रले दर्शकलाई प्रदान गर्ने कोसिस गरेको छ । चलचित्रका मुख्य पात्र इशानका बुवाले उनको विषयमा वास्तविक ख्याल गर्दैनन् । बच्चाहरुबीचमा तुलना गर्नु निकै खराब काम हो कतिपयले आफ्ना बालबालिकालाई सचेत गराउन वा उत्प्रेरणा प्रदान गर्ने नाममा अरुसँग तुलना गरेर भन्ने गर्छन्, वास्तवमा यस्तो तुलनाले कुनै सकारात्मक काम गर्दैन । बरु बालबालिकामा हिनताबोध सिर्जना गर्ने काम गर्छ । साथै उनीहरुमा रिस र ईष्र्या पैदा गर्ने काम गर्छ । चलचित्रमा इशानका बुवाले उनलाई सँधै उनको दाजुसँग तुलना गरेको देखाएको छ । बुवालाई त्यो भनाइले इशानमा प्रोत्साहन हुनसक्ने सोचे तापनि उनीमा पहिलेदेखि नै अलग प्रकारको क्षमता भएकाले उनलाई बुवाको भनाइले हिनताबोध गराउने मात्रै काम गर्छ । बुवाको निरन्तर भनाइले इशानलाई उ दाजु भन्दा कम क्षमता भएको र केही गर्न नसक्ने भावना भर्न मात्रै सघाउने काम गर्छ । आवश्यक भन्दा बढी अपेक्षा राख्नु हानिकारक हाम्रो जीवनको धेरै समस्या भनेको आवश्यकता भन्दा बढी अपेक्षा राख्नु हो । अपेक्षा अनुसार नतिजा प्राप्त नभएपछि मन भावना एकदिन टुट्न पुग्छ । चलचित्रमा मुख्य पात्र इशानका बुवाले आफ्नो अपेक्षा पुरा गर्नको लागि उनीमाथि क्रुर व्यवहार समेत प्रदर्शन गर्छन् । कतिपय सम्बन्धहरु आवश्यक भन्दा अधिक अपेक्षा राखेका कारणले नै बिग्रेका हुन्छन् । चलचित्र तारे जमीन परले दोस्रो व्यक्तिबाट अधिक अपेक्षा कम गर्न प्रेरित गरेको छ ।
नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी
नेपालगञ्ज । नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन् । बागेश्वरी चलचित्र मन्दिरले क्युएफएक्ससँगको समन्वयमा हल आधुनिकीकरण गरेर आधुनिक प्रविधिअनुसार सञ्चालन गरिरहेको बेलामा २५ करोड रुपैयाँ बढीको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ थपिएको छ । ’यो एउटा सिनेमा हलमात्रै होइन, नेपालगञ्जमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, सिने रोयलका प्रबन्ध निर्देशक डा राहुल थापाले भने, ’समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको हो ।’ उनले पश्चिम नेपालमा सिनेमा रुचाउनेहरुका लागि नेपालगञ्जसम्म आउने माध्यमका रुपमा सिने रोयल हुने अपेक्षासहित भारतीय सीमावर्ती जिल्लाका लाखौँ दर्शकलाई यसले आकर्षित गर्ने आशा व्यक्त गरे । पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउन्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित तीन स्क्रिनसहितको मल्टिप्लेक्स हल तयार गरिएको सञ्चालक डा थापाले जानकारी दिए । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशकसमेत रहेएका उनको योजना र लगानीमा नेपालगञ्जमा यो सुविधासम्पन्न हल निर्माण भएको हो । नेपालगञ्ज–१० आदर्शनगरमा हलसँगै तत्काललाई क्याफ्टेरिया पनि सुरु गरी यो स्थानमा बिस्तारै विभिन्न शपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना रहेको डा थापाले जानकारी दिए । सिनेमा हल निर्माणका टोली नेता किरण ढकालले सिने रोयल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउन्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन’मा आधारित रहेको बताए । सिनेरोयलमा तीनवटा स्क्रिन छन् । छ सय ५० दर्शक क्षमता भएको सिनेरोयलका दुईवटा प्रतिहल दुई सय ५० क्षमता तथा तेस्रो हल एक सय ५० सिट क्षमताका छन् । बेल्जियमबाट प्रोजेक्टर र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली जडान गरिएको उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्य एवम् नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा धवलशम्शेर राणाले सिने रोयललाई नेपालगञ्जको गौरवका रुपमा लिनुपर्ने बताए । यसले नेपालगञ्जको पर्यटनलाई ठूलो टेवा दिनाका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सिने रोयलजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताए । सिने रोयल सञ्चालनमा आउनु नेपालगञ्जका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै उनले नेपाललगायत भारतबाट समेत यहाँ आउने दर्शकले नेपालगञ्ज बजारलाई चलायमान गराउने विश्वास गरे । रासस