निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्ने मारमा, डेढ महिनामै २५ जनाले गरे आत्महत्या
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो । उक्त संस्थाको तथ्याङ्कानुसार निषेधाज्ञामा २५ श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तीमा पाँच जनाको परिवार चलेको हुनाले करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकले आत्महत्या गरेको बताए । गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजनाअन्तर्गत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुका साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ । कार्यक्रममा परियोजना संयोजक विवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । उनले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको बताए । त्यसैगरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भए पनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा काम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताए । रोजगारी, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा, श्रमिकको हक अधिकार तथा जिम्मेवारीपूर्ण सेवा प्रवद्र्धनका लागि सञ्चार क्षेत्र, नियम कानुनको कार्यान्वयनका लागि सहकार्य हुनुपर्ने उनको भनाइ थियो । विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिकले हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलहजस्ता समस्याले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको बताएको छ । संस्थाले श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्नलगायतका सहयोग उपब्ध गराउँदै आएको छ भने आर्थिक उपार्जनको वैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते बनाउनेलगायतका सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ । रासस
डिशहाेममा एक फरक रियालिटी शो – हिपहप ब्याटल
काठमाडाैं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रसारण गर्न भएकाे छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतबार बेलुकी ७ः३० बजे प्रसारण हुने डिशहामले जानकारी दिएकाे छ । उक्त रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलब्ध हुने एकेडेमीले जानकारी दिएकाे छ ।
बलिउड अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा
काठमाडाैं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित फिल्म ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने कम्पनीले विश्वास लिएकाे जनाएकाे छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा यस लिंक बाट फिल्म सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।