सिटी एक्सप्रेस बन्यो भोईस अफ् नेपालको सह प्रायोजक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ् नेपाल-सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । सो कार्यक्रम हिमालय एच् डी टिभीबाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित र्याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोईस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रम सँग आबद्ध हुन पाउदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश विदेशमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताए । त्यसरी नै भोईस अफ नेपालले पनि देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा उनले खुशी व्यक्त गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

काभ्रेपलाञ्चोककाे भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए । “भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्”, उनले भने । उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हनेछ । इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथो प्रोटेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले बताए । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ । ‘मिनी फिल्मी सिटी’ को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने काम अघि बढाइएको हो । स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरिएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । “बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो”, उनले भने । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम शुरु गरिने जनाइएको छ । “नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ”, अध्यक्ष दाहालले भने । रासस

सरकारले चलचित्र उद्योगलाई अनुदान दिने, माघ १ गतेबाट सिनेमा घर खुल्ने

काठमाडाैं । सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुनेभएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले बीमा, भिपिसी कस्ट, इन्कोडिग कस्ट, प्रचारप्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय भएको बताए । नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर फिल्म उद्याेगका सबै गतिविधिहरु गर्न पनि अनुमति दिएको छ । आगामी माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शनसँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको अध्यक्ष अधिकारीले बताए  । चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए । उनले यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने वातावरण बनेको बताए ।