माटो जोगाऔं भन्दै वसन्तपुरमा एकैसाथ ३०० जनाद्वारा नृत्य

काठमाडौं । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि वसन्तपुर दरबार क्षेत्रमा ३०० जनाले सांगीतिक प्रस्तुति दिएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अभियानमा वसन्तपुरमा भेला भएकाहरूले नृत्य र साङ्गीतिक प्रस्तुति दिएक हुन् । आफूलाई भू-मित्र भन्न रुचाउने समर्थकहरू, शनिबार साँझ वसन्तपुरमा नेपालको झण्डा बोकेर माटो जोगाऔँ, अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौंजस्ता नारासहितका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी थिए । साथै, उनीहरू सबैले ‘सोइल सङ’ अर्थात् माटोको लागि रचिएको गीतमा सँगै नृत्य गरेका थिए । सो गीत र नृत्य, माटो जोगाऔँ अभियानको लागि रचिएको हो । भू-मित्रका स्वयंसेवकहरू अर्जुन कार्की र पार्थ लामिछानेको साङ्गीतिक प्रस्तुति दिएका थिए । माटो जोगाऔँ अभियान सद्‌गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ । यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउनु पनि हो । यस अभियानअन्तर्गत, माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्‌गुरुले बेलायत, युरोप, एशिया र मध्यपूर्व गरी २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने कार्यक्रम छ । उक्त १०० दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट सुरु भई दक्षिणी भारतमा समापन हुनेछ । यस अभियानको मुख्य उद्देश्य ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारहरूलाई पर्यावरणको लागि दीर्घकालीन नीतिहरूमा लगानी गर्न विश्वास दिलाउनु हो ।

डिशहोमले ‘रगतका कथाहरु’ शिर्षकमा सिरिज बनाउने

काठमाडौं । डिशहोमले रगतका कथाहरु’ शिर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । आफ्ना ग्राहकहरुको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले नयाँ सिरिज निर्माण गर्ने भएको हो । यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने छन् । डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखकरनिर्देशक किरण विकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् । साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतम रहनेछन् ।

डीएभी स्कुलमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौं । डीएभी शुशील केडिया विश्व भारती विद्यालयमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व र विद्यालयका विद्यार्थी र अभिभावकको उपस्थितिबीच मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो । कार्यक्रममा गायिका मनिला सोताङ्ग र बबिता मानन्धरको उपस्थिती रहेको थियो । दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । सोही अवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । यस्तै प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रर्दशन गरेक थिए । त्यसैगरी संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करले गाएको युगल गीत प्रस्तुत गरेका थिए । विद्यालयले स्व. गायिका लत मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।