झिङ्गेदाउ’ फिल्म भदौ १७ गतेदेखि प्रदर्शनीमा आउने

काठमाडौं । चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ भने हिँउवाला गौतम, प्रतिक्षा शाह, सङ्गम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैँझगडा तथा विवादलाई चलचित्रको विषयवस्तु बनाइएको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका देख्न सकिन्छ । कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, कलाकार दिपाश्री निरौला, दीपकराज गिरी, मिथिला शर्मा, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो । चलचित्र हेरेपश्चात कलाकारले अभिनेत्री हिँउवाला गौतमको अभिनयलाई निकै तारिफ गरेका थिए । ‘ चलचित्रमा नायकको भूमिका नै नायिकाले गरेकि छिन्’, कलाकार मिथिला शर्माले भनिन्। त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक हुनुभएको थियो । ‘चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ’, कलाकार शर्माले भनिन् । त्यस्तै निर्देशक तथा कलाकार निरौलाले चलचित्रको कथावस्तु मौलिक र अग्र्यानिक रहेको बताएका छन् । निर्माताका रूपमा सुलभ प्रतीक देउजा, समीक्षा देउजा रहेका यस चलचित्रमा साहित्यकार भिमनिधि तिवारीको कथा कृतिमा आधारित कथावस्तु रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराएका थिए । रासस

अब खल्ती एपबाट क्युएफएक्स सिनेमाको टिकट काट्न सकिने

काठमाडौं । खल्ती एपबाट क्युएफएक्समा चल्ने सिनेमाको टिकट काट्न सकिने भएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएसँगै खल्ती एपबाट क्युएफएक्सको टिकट काट्न सकिने भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनय खड्काले ५० सकेण्डमा टिकट काट्न सकिने बताए । उनले चलचित्र उद्योगमा यस साझेदारले ठुलो सहयोग पुग्ने विश्वास लिएको पनि बताए । ‘खल्तीले विगत ६ वर्षदेखि देशलाई नै डिजीटलाइजेशन गर्ने लक्ष्य लिएर अगाडि बढी रहेको छ, नेपालमा पनि दिनहुँ भूमि कल्चरको विकास बढ्दो छ, त्यसलाई समर्थन गर्ने हिसाबले र हामी आफै पनि माससम्म पुग्न क्युएफएक्स सिनेमासँग साझेदारी गरेका हौं,’ उनले भने । थ्रिएटरसँग मात्र नभई चलचित्र लेबलसम्म नै साझेदारी गरेर अगाडी बढ्ने योजना रहेको पनि खड्काले बताए । यस्तै, क्युएफएक्समा सिनेमा घर देशका विभिन्न ११ ठाउँमा रहेको क्युएफएक्समा सिनेमाकी महाप्रबन्धक प्रशंसा पाण्डेले बताइन् । सो हाल काठमाडौं उपत्यका भित्र सिभिल मल, लबिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स रहेका छन् । यस्तै, भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेश्वरी नेपालगन्ज, वान स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल क्युएफएक्सका सिनेमा हलहरू छन् । ‘आफूलाई मन परेको चलचित्र हेर्नको लागि घण्टौं कुर्नु पर्छ, लाइनमा नै बसर अब टिक काट्नु पर्दैन, अब खल्ती एप बाट सजिलै मनपरको सिट सहित जुन सुकै चलत्रिको पनि टिकट काट्न सकिन्छ,’ उलने भनिन् । १२औं क्युएफएक्स हल वीरगन्जमा खुली सञ्चालनमा आउने पनि पाण्डेले जानकारी दिइन् । खल्तीको करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ५० हजार भन्दा बढी एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।

चलचित्र राधाको प्रदर्शनी रोकियो

काठमाडौं । गत शुक्रवारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ । शुक्रवार ४५ शो पाएको चलचित्रले शनिवार ५० शो र तिजको दिन ५५ शो भन्दा माथि पाउने आश गरेपनि अपेक्षाकृत रुपमा हलहरुले शो नदिएको उनीहरुको आरोप छ । नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलहरुले प्रदर्शनको समय नदिएको उनीहरुको गुनासो छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरुले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको बताए । उनले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शकहरु आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताए । आफूसँगै प्रतिस्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरु बढाएको बताए । त्यस्तै अभिनेता सौगात मल्लले हलहरुले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताए अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताए । उनले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताए । सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टी बाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्शनको एशोसिएशनमा निर्माण भएको हो । फिल्म बिरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह–निर्माता रहेका छन् । फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।