‘आइएमई पे’ ले फेसबुकमार्फत सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम गर्दै

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतबार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । यसपटकको नयाँ वर्ष लामो समयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवर्द्धन गर्ने ग्रुपले जनाएकाे छ । कार्यक्रम माथि उल्लेखित मिति र समयमा http://www.facebook.com/imepay/ र आइएमईको यूट्युव च्यानलमा निःशुल्क उपलब्ध हुनेछ भने कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने कम्पनीले जनाएकाे छ ।

समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव, शनिवार कर्णाली र गुरुकुलको नाटक

काठमाडौं । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ । कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो । नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम आजबाट समापन भए पनि भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सव निर्देशक केदार श्रेष्ठले जनाए । ‘नाटकको भिडियो लाइभ स्ट्रिमिङमात्रै समापन गरिएको हो । रङ्गमञ्चसँग सम्बन्धित अन्य धेरै कार्यक्रमहरू तय हुँदैछन् । जसअन्तर्गत आइतबार नाटककै समय ५ बजे रङ्गमञ्च र भर्चुल माध्यमको विषयमा प्यानल डिस्कसनको योजना बनेको छ’, उनले भने । उत्सवको नियमित समय बेलुकी ५ बजे रङ्गमञ्च, कला, साहित्यका सन्दर्भमा कार्यक्रमहरू जारी राखिने नाट्य उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलियले बताए । उनले भने, ‘अरू नयाँ र सिर्जनात्मक कार्यक्रम हुनेछ ।’ शनिबार (आज)को नाटक शनिबार दिउँसो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’को भिडियो प्रदर्शन हुँदैछ । हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारहरुको अभिनय छ । जसमा विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्कालगायतको अभिनय देख्न पाइनेछ । त्यस्तै साँझ ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’को भिडियो प्रदर्शन हुँदैछ । तत्कालिन गुरुकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पु¥याउँछ । गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा छन् । नाटक नर्वेका रङ्गकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन् । को को छन् ‘ताराबाजी लै लै’ मा ? नाटक ‘ताराबाजी लै लै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा, प्रविण खतिवडा, मणिराम पोखरेल, ओमप्रकाश कर्ण, महेश शाक्य कर्मा, समुना केसी, पशुपति राई, सरस्वती चौधरी, सुरेश चन्द, विपिन कार्की, सजन थापा मगर, रविन्द्रसिंह बानियाँलगायतले अभिनय गरेका छन् । जो सिनेमा र रङ्गमञ्चमा स्थापित भइसकेका छन् । काभिड–१९को संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो । नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल facebook.com/theatreMall  बाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।