सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ हुने

काठमाडौँ । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन् । सप्तरङ्गको पहिलो शृँखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः यही २०७६ कात्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ । कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहने छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल लगायतका चर्चित कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिने जनाइएको छ । नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ ।

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार,हात पारे ५० लाख

काठमाडौं । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका हुन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पारेेेेका छन् । यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा हात पारेका छन्। विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरेेेेका हुन् । यस्तै रामकुमार नेपाली इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए। उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भए । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । ‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् । नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेेेेका थिए । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, संचालनमा दुई सिनेमा हल 

काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । सो मुभिजको उद्घाटन कलाकार नीर शाहले गरेका हुन् । उक्त मुभिज बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । जसको चार सय २६ सिट क्षमता रहेको छ । यसैगरी, बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ । यसरी, थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने र एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताएका छन् । बीएसआरले अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।