निनाम हाङ राईकाे ‘मैना मैनी’ भिडियोसहित सार्वजनिक
काठमाडाैं । निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो । दीलिप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका छन् । उदयपुरको बेलका नगरपलिकाको मैना मैनीको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको गीतको भिडियोमा नग्मा श्रेष्ठ, निनाम हाङ राई, सरिता राई, मनिषा राईलगायतलाई फिचरिङ गरिएको छ । सुरज खनालले छायाँकन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । कार्यक्रममा प्रमुख अतिथि शुभ मुकारुङले गीत राम्रो रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरिएको यो गीतको भिडियोमा प्राकृतिक सुन्दरताले भरिपूर्ण मैना मैनी घुम्नका लागि गीत मार्फत आग्रह गरिएको गायक निनामले बताए । भिडियो हेर्न क्लिक गर्नुहाेस् ।
क्याभास एट थिएटर मलमा सामूहिक चित्र प्रदर्शनी, माघ ४ गतेसम्म जारी
काठमाडौं । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् । युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् । त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरुमा प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ । कलाकारहरु उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो । सहभागी कलाकारहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरुमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरु आफै पृथक र एक अर्काका परिपूरक रहेको औंल्याउँदै प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेकी हुन् । प्रदर्शनीको उद्घाटनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरमा युवा कलाकारहरुको स्वागत गरेका थिए । साथै कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले प्रतिबद्धता जाहेर गरे । प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुको ‘हामी बोल्छौं’ शीर्षकको बिम्बात्मक प्रस्तुति पनि दिएका थिए । जसमा रंगकर्मीहरु मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शंकर भण्डारीको अभिनय तथा शक्ति पाख्रिनले निर्देशन गरेका थिए । थिएटर, कलाका विविध माध्यमहरुको संगम रहेको बताउ“दै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे । प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।
नेपाल ब्राइडल मेकअप कम्पिटिसनमा विजेता बन्न सफल मनिषा
काठमाडौं। नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा विजयी भएकी छन् । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मी र मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट विजेता बन्न सफल भएकी हुन् । उनले आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता–२०७६ को उपाधि जित्न सफल भइन् । मनिषाले उत्कृष्ट भएपबात १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जितिन् भने रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकी छन् । त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जिते । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ, लक्ष्मी महत र शर्मिला मुनिकार रहेका थिए । मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एक दिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकी संचालिका सौन्दर्यविद ज्ञानी महर्जनले बताइन् । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने उनी बताउँछिन् । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यविद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।