चलचित्र जात्राले बुधबारसम्ममा एक करोड ५ लाख कमायो
काठमाडौं । चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् । मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको भनाई छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपीनुका साथै दर्शकको उपस्थिति बाक्लीँदै गरेकाले फिल्म निर्माण टोली उत्सहित रहेको उनले बताएका छन् । समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म विहिबारदेखि दोश्रो सातामा प्रवेश गर्दैछ ।
दर्शक बटुल्दै ‘जात्रा’, समिक्षकबाट प्रशंसा, एक दिनमा नै लगानी उठेकाे निर्माताकाे भनाइ
काठमाडौं, २७ कात्तिक । शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘जात्रा’ हेर्ने दर्शकको संख्या आज बढ्दै गएको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्री भएको ‘जात्रा’ ले शनिबार हाउसफुल दर्शक पाएको छ । समिक्षकको प्रशंसा र माउथ पब्लीसिटीका कारण पनि र्दशकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताएका छन् । “हामीले गरेको दुखले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको महसुस भइरहेको छ, १३ वर्षदेखि मह सञ्चारसँग गरेको सहकार्यको प्रतिफललाई दर्शकले मनपराएको पाएको छु,” उनले भने । फिल्म समिक्षकबाट पनि ‘जात्रा’ ले गतिलो प्रतिक्रिया पाएको छ, फिल्म एकपटक हेरीसकेका कतिपयले दोहोर्याएर हेर्न आतुर रहेको समेत बताएका छन् त्यसले जोस जाँगर बढेको उनको भनाई छ । फिल्मको लगानी लगभग उठिसकेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँले बताएका छन् । यद्यपी, ‘जात्रा’ को दर्शक बढ्दै गएका कारण धेरथोर फाइदा हुनेमा ढुक्क रहेको उनी बताउँछन् । “फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका कारण दर्शकको सख्या पनि हलहरुमा बढीरहेका छन्, यसले अर्को फिल्म बनाउन सजिलो पर्ने देखेको छु” उनले भने । पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की (भष्मे डन) फरक भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, पशुपतिप्रसादका (हनुमान) र रविन्द्र झाको अभिनयले पनि दर्शकको मन तान्ने निश्चित छ । पछिल्लो समय क्युट नायिकाको रुपमा चर्चा बटुलेकी वर्षा राउत पनि यस फिल्ममा फरक रुपमा प्रस्तुत भएकी छिन् । वर्षाको अभिनयलाई लिएर उनको बुवाआमाले भने मन खल्लो भएको प्रतिक्रिया दिएका छन् । फिल्मले निकै हँसाउँदो रहेछ, तर आफ्नी छोरी भने धरै रुँदी रहिछ, त्यसैले मनै खल्लो भयो, वर्षाको आमाले बताइन् । हेर्नुहोस् भिडियो ।
विश्वको सबैभन्दा ठूलो थाङ्का प्रदर्शन, ७० फीट लामो थाङ्कामा गौतम बुद्धको जीवनी प्रस्तुत
काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ । मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ । सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिए । उनले भने, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।” नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताए । कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिए । उक्त थाङ्का शुक्रबार र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ । रासस