कास्कीमा ६४९ नयाँ उद्योग थपिए, ५७ जनालाई रोजगारी
फाइल फोटो कास्की । जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार रुपैयाँ पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए । उनका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् । सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ । यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । ‘नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्’, कार्यालय प्रमुख ढकालले भने । कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् । यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । रासस
सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ जना र बजार सहायक व्यवस्थापक पदका लागि १० जना कर्मचरी माग गरेको हो । यसैगरी, बजार व्यवस्थापन डिपार्टका लागि सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि पनि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । सोहि डिपार्टमा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट र सिनियर एसिस्टेन्ट आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । यसैगरी डु नट केयर डेभलपमेन्ट पदका लागि २ र कृषि प्राविधिक ३ जना कर्मचारी आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । कृषि प्राविधिक भने भोजपुर, मुगु र जाजरकोट शाखाका लागि कर्मचारी आवश्यक रहेको जनाइएको छ । जसका लागि एसईई वा सो सरहको शैक्षिक योग्यता हालिस गरेको र जेटीए पास गरेको हुनुपर्ने उल्लेख छ । अन्य पदका लागि स्थानक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुकले कुमारी जब डटकमको इमेइलमा अनलाईनबाट नै आवेदन दिन सकिने छ ।
आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रममन्त्रीले गरे विश्व बैंकसँग आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए । भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताए । निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए । सो क्रममा उनीहरूबीच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दीगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।