घरबाट भाग्दा ७० लाख चोरी मुद्दा, कुवेतमा काम गर्न गएकी एक महिला मुद्दा खेप्दै
काठमाडौं ११, कात्तिक । कुवेतमा करिब ७० लाख रुपैयाँ (२० हजार दिनार) चोरी अभियोगमा एक वर्ष जेलको सजाय पाएकी सिन्धुपाल्चोककी एक महिलाले कानुनी प्रतिरक्षाका लागि पुनरावेदन अदालतमा अपिल गरेकी छन् । घरेलु कामका लागि कुवेत पुगेकी ती महिलाले नेपाली समुदायका तर्फबाट कानुनी प्रतिरक्षा गर्न वकिल पाएपछि पुनरावेदनमा अपिल गरेकी हुन् । पीडितलाई प्रवासी नेपाली श्रमिक संघ (जिफन्ट सपोर्ट समूह) ले कुवेत ट्रेड युनियनको समन्वयमा कुवेती वकिल जुटाएको अध्यक्ष अर्जुनबहादुर बस्नेतले बताए । ‘६ वर्षसम्म एउटै मालिकको घरमा काम गर्दै आएकी थिएँ । मालिकले दुई—दुई वर्षमा घर पठाउने सर्त गरेका थिए । करार अवधि सके पनि घर नपठाएपछि आफ्नो राहदानी मात्रै लिएर घरबाट भागेर बाहिर निस्किएको थिएँ,’ महिलाको भनाइ उद्धृत गर्दै संघका महासचिव गणेश राउतले भने, ‘बाहिर आएपछि कसरी घर फिर्ने भनेर भौंतारिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।’ कान्तिपुर दैनिकबाट छ ।
नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक, नेपाली कामदार इमान्दार र लगनशील रहेको कोरियाली भनाई
काठमाडौं ६, कात्तिक । दक्षिणकोरियाले नेपाली कामदारको कोटा बढाउन सकारात्मक रहेको बताएको छ । काठमाडौंमा शुक्रबार भएको नेपाल दक्षिणकोरिया तेस्रो परामर्श संयन्त्र बैठक’ मा दक्षिणकोरियाली विदेश मन्त्रालयका अधिकारीले त्यस्तो बताएका हुन् । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल नेतृत्वको सरकारी टोली सहभागी थियो भने कोरियाली विदेश मन्त्रालयका दक्षिणएसिया तथा प्रशान्त मामिला महाशाखाका महानिर्देशक र्यु जियोङ हृयुनले कोरियाली पक्षको नेतृत्व गरेका थिए । कोरियाली पक्षले कामदारको कोटा बढाउन सकारात्मक रहेको सहसचिव अर्यालले बताए । बैठकमा कोरियाली अधिकारीले नेपाली कामदार इमान्दार र लगनशील रहेको भन्दै प्रशंसा गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट।
अफगानस्थानमा नेपाली जाँदा खुला गरिदै, कामदार पठाउने बारेमा सरकारी गृहकाय हुँदै
काठमाडौं ५, कात्तिक । अफगानस्थाको राजधानी काबुलामा चार महिना अगाडि १३ जना नेपाली कामदार तालिवानीको आत्मघाती बम आक्रमणमा मारिपछि बन्द भएको गन्तव्य पुनः खुला हुने भएको छ । सरकारले सोही आक्रमणपछि अफगानमा नेपाली कामदार जान रोक लगाएको भएपनि पुनः कामदार पठाउने विषयमा गृहकार्य भइरहेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले बताए । उनका अनुसार सरकारले कामदारलाई काम गर्ने अनुमति पुनः दिने तयारी गरिहेकोे छ । सरकारका अनुसार सुरक्षित हुन सक्ने ग्रीन साइटमा काम गर्न वर्क परमिट दिने विषयमा आवश्यक गृहकार्य भइरहेको छ । समाचार स्रोतः द हिमालय टाइम्स ।