मानव तस्करीमा नयाँ रुटको प्रयोग हुन थाल्यो, श्रीलंका रुटको प्रयोग बढ्यो
काठमाडौं १२, कात्तिक । घरेलु कामदार (हाउसमेड) का लागि नेपाली महिलालाई भारतको बाटो हुँदै श्रीलंका पुर्याएर ओमन, कुवेत र कुर्दिस्तान पठाउने गिरोह सक्रिय देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छापिएको छ । कात्तिक ७ गते चार र ८ गते तीनजना यसरी पठाइएका महिला श्रीलंकाबाट डिपोर्ट भएपछि गिरोहको सक्रियता प्रकाशमा आएको हो । नयाँदिल्लीबाट श्रीलंका पठाउने गरिएकोमा प्रहरीको निगरानी बढेपछि मानव तस्करहरूले दिल्लीबाट चेन्नई पुर्याएर श्रीलंका पठाउने गरेको पनि देखिएको छ । मानव तस्करीको जालोमा परेका १८ महिला र १ पुरुष गत असोजमा श्रीलंकाबाट फर्किएका थिए भने जेठमा १५ महिला फिरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार यसरी डिपोर्ट भएर फर्किनेमध्ये अधिकांश दलित र आर्थिक रूपमा विपन्न समुदायका महिलाहरू छन् । असोजमा फर्केकामध्ये अधिकांश एकल महिला थिए ।
जुवेलमा ६२ जना नेपाली कामदार अलपत्र, पीडित कामदारले ३ महिनादेखि काम र तलब दुबै पाएनन
काठमाडौं ११, कात्तिक । साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेको छ । कान्तिपुर दैनिकबाट ।
घरबाट भाग्दा ७० लाख चोरी मुद्दा, कुवेतमा काम गर्न गएकी एक महिला मुद्दा खेप्दै
काठमाडौं ११, कात्तिक । कुवेतमा करिब ७० लाख रुपैयाँ (२० हजार दिनार) चोरी अभियोगमा एक वर्ष जेलको सजाय पाएकी सिन्धुपाल्चोककी एक महिलाले कानुनी प्रतिरक्षाका लागि पुनरावेदन अदालतमा अपिल गरेकी छन् । घरेलु कामका लागि कुवेत पुगेकी ती महिलाले नेपाली समुदायका तर्फबाट कानुनी प्रतिरक्षा गर्न वकिल पाएपछि पुनरावेदनमा अपिल गरेकी हुन् । पीडितलाई प्रवासी नेपाली श्रमिक संघ (जिफन्ट सपोर्ट समूह) ले कुवेत ट्रेड युनियनको समन्वयमा कुवेती वकिल जुटाएको अध्यक्ष अर्जुनबहादुर बस्नेतले बताए । ‘६ वर्षसम्म एउटै मालिकको घरमा काम गर्दै आएकी थिएँ । मालिकले दुई—दुई वर्षमा घर पठाउने सर्त गरेका थिए । करार अवधि सके पनि घर नपठाएपछि आफ्नो राहदानी मात्रै लिएर घरबाट भागेर बाहिर निस्किएको थिएँ,’ महिलाको भनाइ उद्धृत गर्दै संघका महासचिव गणेश राउतले भने, ‘बाहिर आएपछि कसरी घर फिर्ने भनेर भौंतारिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।’ कान्तिपुर दैनिकबाट छ ।